सीमा आरपार व्यापार भुक्तानीमा भारु प्रयोग गर्न आरबीआईले दियो अनुमति

असार २८, नयाँदिल्ली (भारत) । भारतको केन्द्रीय बैंकले अन्तरराष्ट्रिय व्यापारमा भुक्तानीको माध्यमको रुपमा रुपया चलाउने अनुमति दिएको छ ।

सोमवार ‘रिजर्भ बैंक अफ इन्डिया’ RBI ले भारतको निर्यातलाई टेवा दिन र भारतीय रुपयामा कारोबार गर्न चाहनेहरुलाई सजिलो होस् भनेर  सो अनुमति दिएको हो ।

युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्धको घोषणा गरेका छन् । प्रतिबन्धबीच अहिले रुसले एशियाली बजार विशेषगरी भारत र चीनलाई भारी छूूटमा ठूलो परिमाणमा कच्चा तेल बेचिरहेको छ । तर रुसलाई सीमा आरपार भुक्तानी मञ्चहरुबाट बहिष्कार गरिएको छ । यस्तोमा व्यापार सहजीकरण गर्न र भारुमै व्यापार गर्न चाहने विश्व व्यापार समुदायलाई लक्षित गरेर आरबीआईले यस्तो कदम चालेको  हो ।

बाँकी विश्वसँग भारतको फरािकलो व्यापार अन्तरले हालैका दिनमा अमेरिकी डलरको तुलनामा भारु यसअघि कहिले नदेखिएको न्यून स्तरमा झरेको छ । यसले भारतमा आयातित महँगी बढ्ने खतरा बढेको छ । रुपयामा गरिने व्यापार भुक्तानीले आरबीआईलाई विदेशी विनिमय सञ्चिति बचतमा पनि मद्दत गर्ने व्यापारीहरु बताउँछन् ।

भारुमा आयात निर्यात गर्न थप व्यवस्था मिलाउन पनि आरबीआईले बैंकहरुलाई निर्देशन पनि दिएको छ । यो संयन्त्र आउनु अघि अनुमति प्राप्त बैंकहरुले केन्द्र बैंकबाट पहिला नै अनुमति लिएर मात्रै रुपयामा भुक्तानी गर्न पाउँथे । रुपयामा भुक्तानी गर्ने प्रणालीले स्विफ्ट प्रणालीबाट बहिष्कृत रुसलगायत देशहरुसँगको व्यापार कारोबारमा राहत र समाधान दिने अपेक्षा गरिएको छ । यसले व्यापार विशेषगरी भारतबाट ती देशले गर्ने आयातलाई प्रवर्द्धन पनि गर्ने बताइएको छ । यसको महत्वपूर्ण पक्ष भने विनिमय दर निर्धारण हुनेछ ।

यो दरको निर्धारण बजारले गर्नेछ । यस्तो खालको भुक्तानीका लागि भारतका बैंकहरुले भुक्तानी पाउने देशका सम्बन्धित बैंकमा विशेष खालको रुपया भोस्त्रो खाता खोल्नु पर्नेछ । आरबीआईले रुपयाँमा सीमा आरपार व्यापार भुक्तानी सहज बनाउन सर्कुलर जारी गर्ने भन्दै जुन १९ मा इकोनोमिक्स टाइम्सले समाचार छापेको थियो ।

विशेष भोस्त्रो खातामा भएकोे बासलातलाई परियोजना र लगानी एवम् आयात वा निर्यातलगायत प्रयोजनमा पनि प्रयोग गर्न सकिनेछ । यस्तो खालको व्यापारमा विदेशी विनिमय सञ्चिति चलाउन नपर्ने भएकोले फरेक्स सञ्चितिमाथि पनि दबाब सृजना हुने छैन ।

भारतले भारी छूटमा रुससँग कच्चा तेल किनिरहेको अवस्थामा रुपयाँमा भुक्तानीको बाटो खुल्दा बाँकी विश्वसँगको व्यापारमा भारतको घाटा पनि साँघुरो बनाउने अपेक्षा विश्लेषकहरुको छ । आर्थिक अभियान/एजेन्सी 

Translate »