जंगली च्याउ खाँदा ५ जना बिरामी

असार २९, रुकुम पश्चिम । जंगली च्याउको तरकारी खाएका एकै घरका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना एकैपटक बिरामी भएका हुन् । मंगलबार बेलुका च्याउ खाएका उनीहरू बुधबार बिहान बिरामी भएपछि उनीहरूलाई बिहानै जिल्ला अस्पताल ल्याइएको छ । बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र १४ वर्षका भान्जा निमबहादुर खत्री छन् ।


उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार उनीहरू बिहान बेहोस अवस्थामा थिए । तर उपचार सुरु भएपछि सबैको होस् खुलेको उनले जानकारी दिए । जंगलबाट ल्याएको च्याउ नचिनेर खाँदा समस्या भएको उनको भनाइ छ । सुरुमा आशिराम र छोरी धनमायामा बढी समस्या देखिएको प्रहरीले जनाएको छ ।

 

Translate »