जीर्ण भवनबाट प्रशासन चलाउँदै औद्योगिक क्षेत्र


प्रकाश अधिकारी/ साउन ४, सुर्खेत । ४१ वर्षअघि नेदरल्याण्ड सरकारको सहयोगमा निर्माण भएको वीरेन्दनगर औद्योगिक क्षेत्रको प्रशासकीय भवन लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जीर्ण भवनको छतमा बर्षा छल्नलाई पलाष्टिकले ढाकेर उद्योग प्रशासन सञ्चालन गर्दै आएको छ । कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले नयाँ प्रशासकीय भवन निर्माण तथा ममर्तका लागि केन्द्रमा अनुरोध गरिएको बताए । ‘भवनको छतभरी पलाष्टिकले ढाकेका छौं, हावाहुरी लाग्दा पलाष्टिक उडाएर लैजान्छ, कोठाभित्र पानी चुहिन नदिन पलाष्टिकसंगै त्रिपालले ढाकिएको छ,’ उनले भने, अन्य भवनको मर्मत कार्य पुरा भएको छ, प्रशासनिक भवनको हकमा जीर्ण भएकाले निर्माणका लागि बजेट माग गरिएको छ ।’
आफू कार्यालय प्रमुख भएर यहाँ आएको चार वर्ष बित्नै लाग्दा हरेक वर्षातमा पलाष्टिक र त्रिपालले ढाकेर काम चलाउँदै आएको उनको गुनासो छ । आठ कोठे प्रशासकीय भवन कर्मचारी आवासगृह समेत हो । सुर्खेत विमानस्थलको उत्तरतर्फ ९० रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा प्रशासकीय भवनबाहेक अन्य भवन पाँच वटा छन् । कार्यालयले ती भवन भने औद्योगिक प्रयोजनका लागि भाडामा दिएको छ । कार्यालय प्रमुख बञ्जाडेले भने, ‘औद्योगिक क्षेत्रमा उद्योग त चल्न दिनुप¥यो, त्यही भएर ती भवन प्रयोग गरेका छैनौं, बरु त्रिपालले ढाकेरै भएपनि जेनतेन काम चलाउँछु ।’

औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयमा कर्मचारीको संख्या पनि कमी छ । तीन सुरक्षा गार्डसहित हाल आठ जना कर्मचारी कार्यरत छन् । औद्योगिक क्षेत्रका लागि पानीको ओभरहेड ट्यांकी तथा नयाँ पाइप लाइन विस्तार कार्य हुन बाँकी रहेको र बजेट अभावका कारण चमेना गृह, सेन्टी पोष्ट, बैंक एक्सटेन्सन काउन्टर, बारुण यन्त्रको व्यवस्थापन हुन नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । प्रदेश सरकारको लगानीमा ५०० मिटर सडक कालोपत्रे र ७०० मिटर सिमाना पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । कार्यालय प्रमुख बञ्जाडेले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल विद्युत प्राधिरकणसंगको समन्वयमा सुर्खेतको सबस्टेशनदेखि वीरेन्द्रनगर औद्योगिक क्षेत्रसम्म छुट्टै डेडिकेटेड फिडर निर्माण कार्य भइरहेको जानकारी दिए ।


२२ उद्योग चालू अवस्थामा
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा २७ मध्ये हाल २२ उद्योग चालू अवस्थामा छन् । तीन उद्योग निर्माणाधिन र दुई उद्योगमा कब्जामा छन् । लामो समयदेखि सञ्चालन नगरी जग्गामात्रै ओगटेका उद्योगको सम्झौता रद्द गरी मूल्याङ्कन फाइल स्वीकृतिका लागि बोर्डसमक्ष पठाइएको छ । चालू अवस्थामा रहेका २२ उद्योगबाट गरी ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यहाँ सबैभन्दा ठूलो लगानी रु.१५ करोड लागतमा सुर्खेत डेरी उद्योग सञ्चालनमा छ । यसले चार वर्षदेखि ‘रारा ब्राण्ड’ मा दुग्धजन्य पदार्थको उत्पादन गर्दै आएको छ । सुरक्षा ग्याबिन वायर इण्ड्रष्टिज, पिए फुड इण्ड्रष्टिज, भवानी छापाखाना ठूला उद्योगहरुमा पर्दछन् । यस क्षेत्रमा पाँच–पाँच वटा औद्योगिक भवन र व्यवसायिक सटर छन् ।
बक्यौताविहिन औद्योगिक क्षेत्र
नेपाल सरकारको स्वामित्वमा रहेका १० वटा औद्योगिक क्षेत्रमध्ये यस क्षेत्रले आव २०७७÷७८ को सम्पूर्ण बक्यौता असुली गरेको, आव २०७८/७९ को समेत करिब ९८ प्रतिशत बक्यौता रकम असुल गरी बक्यौताविहिन औद्योगिक क्षेत्र बनेको छ । साथै नेपालकै नमूना वातावरणमैत्री औद्योगिक क्षेत्रका रुपमा पहिचान बनाएको छ । कोभिडको कारण लकडाउन भई सम्पूर्ण औद्योगिक प्रतिष्ठानहरु बन्द भइरहेको अवस्थामा २०७७ बैशाख १ गतेदेखि पुँजी, मेसिनरी, कच्चा पदार्थ, आधुनिक प्रविधिको समेतको व्यवस्थापन गरी सुर्खेत डेरी उद्योग, सुरक्षा ग्याबिन वायर एण्ड इण्ड्रष्टिज प्रालि प्रदेशकै नमूनाका रुपमा स्थापित भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । आव २०७७/७८ मा जग्गा बहालबाट रु. पाँच लाख २० हजार ५००, भवन बहालबाट रु. तीन लाख ७६ हजार ३८९ पानी महसुलबाट ११ लाख ५८२ र विद्यतु महसुलबाट ३८ लाख ७५ हजार ४४४ र विविध गरी रु. चार लाख ४३ लाख ५९८ रकम औद्योगिक क्षेत्रले आम्दानी गर्दै आएको छ । रासस


