‘करारका अनुभवी कर्मचारीलाई नहटाऔं’

स्काई न्यूज /साउन ५, सुर्खेत । पेसागत महासंघ नेपाल सुर्खेतले चालु आर्थिक वर्ष शुरु भएदेखि नै कतिपय स्थानीय तहले अस्थायी, करार, ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई विनाकारण सेवाबाट हटाईरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतका अध्यक्ष रिता पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा अस्थायी, करार, ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई एकमुष्ठ नै म्याद थप नगर्ने भनि प्रकासित सूचना तथा समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । स्वीकृत दरबन्दी भित्र कानून बमोजिम नियुक्त भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीको कार्य सम्पादन मूल्याकनका आधारमा म्याद थप गरी सेवा लिन स्थानीय सरकारका लागि समेत अवसर भएको महासंघको बुझाई छ ।

हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरुको कार्यक्षमताको मूल्याकन नै नगरी एकमुष्टरुपमा हटाउने र पुनः सोही पदमा करार नियुक्ती गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत गलत भएकाले यस्तो निर्णय तत्काल फिर्ता लिन महासंघले प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ,’ ‘करार कर्मचारीको अनुभव र क्षमता अभिबृद्धिका लागि राज्यको लगानी परिसकेकाले स्थायी नियुक्तीका लागि सम्बन्धित प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियम अनुसार स्वीकृत दरबन्दीमा कार्यरतलाई व्यवस्थापन गर्न आग्रह गर्दछौं ।’

करार नियुक्ती पाएका अनुभवी कर्मचारीबाट सेवा लिँदा स्वयम् पालिकाको समेत कार्यसम्पादनमा प्रभावकारिता आउने विश्वास लिएको विज्ञप्तिमा भनिएको छ । चौकुने गाउँपालिका लगायतका स्थानीय तहमा कार्यरत करार, अस्थायी र ज्यालादारी कर्मचारीहरु माथि भएका अव्यवहारिक कार्य तत्काल बन्द गराउन तर्फ निर्वाचित जनप्रतिनिधिहरुलाई समेत विशेष ध्यान दिन सुझाव दिईएको छ ।

‘करार कर्मचारीलाई कामकाजमा नआउनु भनी पत्र, फोन, म्यासेज लगायतका माध्यमबाट जानकारी गराउने र हाजिर नगराउने लगायतका कार्यको भत्र्सना गर्दै यस प्रकारका पूर्वाग्रही कामहरु तत्कालन बन्द गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको ध्यानाकर्षण गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पेशाकर्मीको आवाजलाई कमजोर ठानि यस्ता कार्यहरु नरोकिएमा पेशागत महासंघ मुकदर्शक भएर नबस्ने र आन्दोलनका थप कार्यक्रमहरु तय गरि अगाडि बढ्नेछ ।’

Translate »