प्रधानमन्त्रीकाे गुनासाे: ‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियाे भने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल ‘कनेक्टिभिटी’ मार्फत मुलुकलाई दुवै छिमेकी मुलुकसँग जोड्ने आफ्नो योजना सार्थक बन्ने बताएका छन् ।

सोमबार बिहान सरकारी निवास बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् ।

उनले रेल र पानी जहाजको विषयमा केहीले आफ्नो मजाक उडाएको प्रति गुनासो गरे। उनले भने ‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो पनि भने । तर रक्सोल (काठमाडौं रेल भनेको काठमाडौं दिल्ली वा काठमाडौं मुम्बई, अनि केरुङ( काठमाडौं रेल भनेको काठमाडौं ल्हासा हो भन्ने कुरा उडाउनेहरुले बुझ्न सकेनन, अब बिस्तारै बुझ्नेछन् ।’

उनले आफू हचुवाका भरमा बोल्ने र हचुवाकै भरमा काम गर्ने प्रधानमन्त्री नरहेको समेत बताए । आगामी दिनमा ठुला आयोजनाहरू अनावश्यक ढिलाइ र लापरबाही गर्ने परिपाटी रोक्न सरकारले विशेष ध्यान दिने उल्लेख गरे । ओलीले सडक विकास पछि मुलुक अब टनेल युगमा प्रवेश गरेको समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले चौपट अवस्थामा पुर्‍याइएका अर्थतन्त्रलाई लयमा फर्काउने गरि काम गर्ने प्रतिबद्धता जनाए । यस्तै डलरको मूल्य बढ्दा बाह्य ऋणको अवस्था समेत उकालो लागेको उनले सुनाए ।

‘डलरको भाउ ३० रुपैयाँ हुँदा लिएको ऋण आज बढेर १३२ पुगेको छु’ उनले भने , ‘ निर्ब्याजी नै भएपनि डलरको भाउ ४ गुणा बढेकै कारण बाह्य ऋण १२ खर्ब पुगेको छ ।’

प्रधानमन्त्री ओलीले उत्पादन र प्रतिफल नदिने क्षेत्रमा विदेशी ऋण नलिने समेत बताए । ‘विदेशी अनुदान नलिने हैन, लिन्छौँ’ उनले भने, ‘तर त्यसलाई ठुला विकास र पूर्वाधार भन्दा पनि उत्पादन र प्रतिफल दिने क्षेत्रमा मात्रै लगाउँछौँ ।’  (नागरिक न्यूज)

Translate »