बाँकेको राँझा चोक नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख–२१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित भएर दुर्घटना दुर्घटना हुँदा दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सह–चालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको बताए ।

उनका अनुसार बस अनियन्त्रित भएको बारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चालकले बसको पट्टा भाँचिएर दुर्घटना भएको बताएका छन् ।

Translate »