डिभिजन वन कार्यालय सुर्खेतले अब सुविधायुक्त नयाँ भवनबाट सेवा दिने

सुर्खेत ।  डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतले अब नयाँ सुविधायुक्त भवन बाट सेवा प्रवाह गर्ने भएको छ । वषौंपछि वन कार्यालयले विधिवत् पूजापाठ गरी निर्माण सम्पन्न सुविधायुक्त भवनमा आज एक विशेष कार्यक्रमका वीच सरेको हो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले डिभिजन वन कार्यालय सुर्खेतको सुविधायुक्त भवनको उद्घाटन गरेका हुन् । उनले नयाँ सुविधासँग भवनबाट सेवाग्राहीलाई छिटो, छरितो तरिकाले सेवा प्रवाह गर्न सहज हुने अपेक्षा राखें । उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव आन्नद सारु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

करिब ४५ वर्ष पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गरिरहेको वन कार्यालयले विहीबारदेखि विधिवत् रुपमा सरे पनि नयाँ भवनबाट शुक्रबारदेखि औपचारिक सेवा प्रवाह गर्ने जनाएको छ । दशकौंदेखि साँघुरो भवनबाट बढी भिड हुने वन कार्यालयले अब नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरेको छ ।

नयाँ भवनमा विभिन्न फाँटका अभिलेखहरु सुरक्षित व्यवस्थित ढङ्गले राख्न सहयोग पुग्नुकासाथ नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने वन कार्यालयका प्रमुख (डिभिजन वन अधिकृत) बसन्तबाबु श्रेष्ठले बताए । नयाँ भवनमा फराकिलो फाँटका कोठादेखि सभा हल समेत रहेको छ । सबै तलमा मैत्रीपूर्ण शौचालय छन् ।

प्रदेश राजधानी सुर्खेतको वन्यजन्तु तथा वन क्षेत्रको सुरक्षा जिम्मा पाएको वन कार्यालय नयाँ सुविधायुक्त भवनमा सरेसँगै छिटो, छरितो र सहज रुपमा सेवा पाउनेमा राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयक आशावादी छन् । करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको परिसर भित्र निर्माण गरिएको भवनमा अत्याधुनिक सेवा सुविधा रहेको छ ।

२ करोड १७ लाखको लागतमा बनेको भवन अढाई तलाको रहेको छ । निर्माण ठेकेदार कम्पनी सर्मिला निर्माण सेवाले दुई वर्ष लगाएर बनाएको भवनमा १७ वटा कोठाहरु रहेकोे डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राममनोहर साहले जानकारी दिए । उनले पार्किङका लागि हालको खाली रहेको ठाउँ छुट्याइएको जनाए ।

उनका अनुसार कार्यालय परिसरभित्र कम्तीमा ५० बढी गाडी र मोटरसाइकल अटाउँने व्यवस्था गरिएको छ । उनले भने, ‘भवन अत्याधुनिक शैलीमा बनेको छ । उपलब्ध भएसम्मका सबै सुविधा जडान गरिएको छ । सम्पूर्ण भाग समेट्ने गरी सिसीटिभी जडान गरिएको भवनमा अभियुक्तसँग बयान लिन छुटै इजलासको समेत व्यवस्था गरिएको छ ।’

उनले विशेषगरी कार्यालय प्रमुख, सहायक कर्मचारी र सुरक्षाकर्मीका लागि विशेष ध्यान ध्यान दिएर भवन निर्माण गरिएको जनाए । आवश्यकता अनुसार भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको डिजाइनसमेत गरिएको उनको भनाइ छ ।

‘वन कार्यालय अर्धन्यायिक निकाय भएकाले चौविसै घण्टा सेवामा खटिनु पर्ने अवस्थालाई ध्यानमा राखेर भवनको सबै भन्दा माथिल्लो तल्लामा कार्यालय प्रमुख, सहयोगी र सुरक्षाकर्मीका लागि आवासको व्यवस्था गरिएको छ,’ उनले भने, ‘भवनको प्रत्यक कक्षमा प्रकाशको राम्रो पहुँच छ । जसमा वास्तु विज्ञानलाई समेत ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।’

उनले प्रविधिको उच्चतम् प्रयोग गरेर भवनभित्र एकैपटक ५० जना अटाउने बैठक कक्ष पनि रहेको जनाए । अब भवन परिसर भित्र सुविधा सम्पन्न मेस, नास्ता कक्ष पनि रहने उनको भनाइ छ ।

 

Translate »