७० का दशकका दशैंमा आएका परिवर्तनहरु


सत्ययुगमा दुर्गा माताले दुष्ट राक्षस (असुर) लाई दशहजार वर्षसम्म समूद्रमा युद्ध गरी विजय गरेको, त्रेता युगमा यही दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा विजया दशमीलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैंका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैंलाई वडादशैं एवम् विजया दशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ ।
विजया दशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो ।
बडादशैंको समयमा टाढा टाढा वाबिदेश भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । लाहुरे दाइले पिठ्युँमा झोला बोकी चारगुणा खुसी हुँदै घर आइपुग्दा खेरि नै उत्तिनै खेर दशैं आएको भान भइहाल्छ ।प्रकृतिले निःशुल्क रुपमा वितरण गरेको कमेरो र रातो माटोले पोतिएका गाउँघरका घरहरु नवदुलही सिंगारिएझैँ सुन्दर देखिन्छन् ।दशैंको समयमा घरहरु मात्र होइनन् सबै मानिसहरुका मन पनि रङ्गीचङ्गी, फुरुङ्ग भइरहेको हुन्छ ।चाडपर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छन् ।त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।
घटस्थापनादेखि लिएर कोजाग्रत पूर्णिमासम्मका प्रत्येक दिनको छुट्टाछुट्टै महत्व छ । घटस्थापनाको दिन बिहानै नजिकैको नदीमा गई चोखो स्थानबाट बालुवा ल्याउने, अर्थात् मलखादको मलिलो माटो ल्याईगाईको गोबरमा लिपपोत गरी दशैंको शुभसाइतमा पूजा अर्चना गरिन्छ । जौ, मकै, गहुँ जस्ता अन्नबालीहरुलाई प्रतिपदाको दिन पानीमा भिजाएर दुजको बेलुकाका चन्द्रमालाई हेरेपछिमलिलो, शुद्ध माटोमा घामको किरण नपर्ने गरी जमरा राखिन्छ ।दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आश्रीवाद लिने दिने गरिन्छ।
वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि जसलाइ घटस्थापना भनिन्छ, चैत्र शुक्ल पक्षको प्रतिपदा र कार्तिक शुक्लको प्रतिपदा तिथि पर्दछन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शास्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजयादशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्ययले दसैँको उत्सव सुरु भएको हो । दसैँ पर्वले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिन्छ ।यहाँ दशैंको प्रमुख चार दिनको चर्चा गरिएको छ ।
महासप्तमी (फुलपाती)
नवरात्रीको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, अनार, अदुवाको बोट, उखु, केरा लगायतका नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ।वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिकमान्यता रहिआएको छ।यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।
महाष्टमी
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा,आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बली दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्री मानेर रातभरि गुप्तपूजा गरिन्छ।
महानवमी
नवरात्रीको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलीको अर्थ त्याग, बली दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बली चढाउँने चलन आएको मानिन्छ ।

विजया दशमी
नवरात्रीको दशौँ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो ।यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटी भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जली गर्ने गरिन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।
त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।
त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। त्यसपछि घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन् । जसको लर्को तथा भिड भाड यत्र तत्र बाटोमा या बसमा प्रशस्तै देख्न सकिन्छ ।यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ।
दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। यीनिहरुको विशिष्ट अर्थ र महत्व पनि छ ।
दशैंको आर्शिवाद:
आशिष अर्थात आर्शिवाद हो । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा हो ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफुभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो यो ।

दशैमा टिका लगाउँदा पुरुषलाई दिने आशिष यस्तो छ-
“आयू द्रोणसुतेश्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥”
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिदैन । गार्हो॥ छ।तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।
यसको अर्थ यसप्रकार छ-
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीति वा प्रशिद्धि होस् । भन्दै मान्यजनवाट आशिर्वाद लिइन्छ।
दशैमा टिका लगाउादा महिलालाई दिने आशिष यस्तो छ:-
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।”
यसको अर्थ यसप्रकार छ-
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु।
कोजाग्रत पूर्णिमा दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ रु भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्दछन् । यसरी पन्ध्र दिनसम्म मनाइदैं दशैंको समापन गरिन्छ ।
दशैंलाई विश्लेषण
महासप्तमी देखि दशमी तिथिसम्मका शास्त्रीय विधिहरु बाहेक अन्य विभिन्न किसिमका स्थान विशेषसँग जोडिएका परम्पराहरु रहँदै आएका छन् । नेपालमा दशैंलाई ठूलो पर्वका रुपमा हेरिएकोमा यसका मुख्य शास्त्रीय विधिहरु बाहेक अन्य देखासिकी र भड्किला किसिमका अभ्यासहरु हुँदै आइरहेका छन् । विगतलाई वर्तमानसँग तुलना गरेर हेर्दा दशैंलाई खर्चिलो, महङ्गो पर्वको रुपमा मनाइँदै आइरहेको पाइन्छ । अहिलेका युवायुवतीहरुदशैंको महिमा नबुझी जाँड, रक्सी, जुवातास र सट्टेबाजी जस्ताकानूनी रुपमा बन्देज लागेका कार्यहरु गर्दै आइरहेका छन् ।
दशैंका नराम्रा पक्ष
- काटमार, बली प्रथा
- जुवातास खेल्ने, लडाइँझगडा गर्ने
- तोडफोड गर्ने
- देखासिकी, महङ्गो उत्सवका रुपमा यसलाई गलत रुपमा परिभाषित गरेको पाइन्छ । अरुले घोडा चढे भनेर आफू धुरी चढेजस्तै आफ्नो गक्ष भन्दा पनि माथिको खर्च गरेर ऋणमा डुबेर विदेशिने प्रवृत्ति पनि बढिरहेको छ।
पहिलेको समयमा घरमा कमेरो, रातो माटो, गेरु जस्ता प्राकृतिक माटोले पोत्ने चलन थियो भने विस्तारै बजारीकरणको प्रभावले माटोलाई विस्थापन गरीइनामेल, चुना, केमिकल मिसिएको रङ्गले पोत्ने चलनउत्कर्षमा पुगेको छ ।कपडाहरु पनि वर्षमा एक दुईपटक मात्र किन्ने किफायती गरेर लगाउने चलन थियो ।आफन्त, ईष्टमित्रहरुमा सद्भाव, मायाँ, प्रेम, सामिप्यता, स्वागत, सत्कार, ढोग्ने चलनलाई विस्तारै परिवर्तन गरी फेसबुकको ईमोजीमा भएको नमस्कार लेखेको चित्रमा सिमित गरिएको छ । घरका मूलीहरुले भनेको मान्ने, आफन्त नातागोता भेट गर्ने, सँगै बसेर कुराकानी गर्ने, कहानी सुन्ने, लिङ्गे पिङ हाल्ने, जस्ता दशैंलाई झल्काउने खालका परम्पराहरु त अब ईतिहासका पानाहरुमा सिमित हुन थालिसकेका छन् ।
वर्षमा चाडपर्वहरु आएको बेलामा मात्र थोरैपटक माछामासु खाने प्रचलन थियो । अहिले छाकैपिच्छे मासु खाएर सुगर, प्रेसर, युरिक एसिड बढाएर, पेटमा पनि अनावश्यक बोसो लगाएर शरीरलाई रोगैरोगको घर बनाएका छन् । आफ्नो गाउँघरमा खेतीपाती छोडी आजकल बजारको पालिस लगाएको चामल अनिबजारिया केमिकल मिसाएको नक्कली तेल खान थालेका छन् । पहिलेको समयमा साँचिकैको मुस्कान अहिले नक्कली हाँसोमा परिवर्तन भएको छ ।
- माइँलाबाको त्यो काँधको रेडियो पनि भुइँचालो आएको बेलामा घुड्किलाबाट खसेछ । माइँलाबाको कान्छा छोराले राजधानीबाट स्क्रिन टच मोबाइल ल्याइदिएपछिबाट त आजकल माइँलाबाचौतारीमा चिया खान पनि जान छोडेछन् । नातिले फेसबुक बनाइदिएछ, छोराछोरीको मायाँ र चिन्ताले भिडियो कल गर्दै उनी काल्पनिक दुनियाँमा विदेशै पुग्छन् र डराउँछन् अनि फर्किएर आफ्नै पुरानो घरको पेटीमा बसेका भेटिन्छन् ।इष्टकोटकोगोजीमा मोबाइल राखी भजन सुन्दै गाइलाई चराउन घमाइलो दिनमा गोठाला निस्कन्छन् ।
- पोहोर साल दशैंमा गाउँजाँदा खाना पकाउँदा धुवाँले निसास्सिएर आँखाबाट आँशुका धारा निकालेर मतिर हेर्दै हाँस्दै निस्किएकी माइँलीआमा आजकल राइसकुकरमा ग्यास चुलोमा भात पकाउँदै देखिइन् ।
अतः बडादशैंले आपसी सद्भाव, सहयोग र भाइचाराको सम्बन्धमा बनाइरहोस् । धेरै समय टाढा रहेका आफन्त साथीभाइहरुसँग मिलनको सुखद क्षण बन्न पुगोस् । आत्मियता र सकारात्मक सोचको बढावा दिओस् ।पर्व मनाउँदा अनावश्यक होडबाजी नबढोस् । धनीवर्गहरुको लागिखर्च गर्ने पर्व र गरिबको लागि दशा नबनी सबै मानिसहरुका लागि शुभदशैं, विजया दशमी नै बनोस् ।आउँदै गरेको विजया दशमी २०८१ को सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरुमा हार्दिक मङ्गमय शुभकामना ।
-लेखक:- डुङ्गेश्वर गाउँपालिका, वडा नं. ५,दैलेख निवासी दिपेन्द्रकेशर खनाल हुनुहुन्छ ।

