चाडपर्वका बेला हुम्लीलाई जहाज टिकटको लागि रातको २ बजेबाट लाइन बस्नु पर्ने बाध्यता


हुम्ला । राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाका नागरिकहरु जहाज टिकटको लागि रातको २ बजेबाट लाइन बस्नु पर्ने बाध्यता रहेको छ ।
चाडपर्वका बेला निजी एयरलायन्स तारा,सीताका जहाजहरु पूर्व तर्फ केन्द्रित भएपछि पश्चिम नेपालको हुम्लामा यात्रुलाई सास्ती भएको हो । दशैं तिहार जस्ता चाडपर्व नजिकिएसँँगै जिल्ला बाहिर जान जहाजको टिकट पाउँनका आम नागरिकलाई रातको २ बजेबाट लाइन बस्नु पर्ने बाध्यताले धेरै समस्या उत्पन्न गरेको छ ।

सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा निगमको जहाज टिकटको लागि अहिले हुम्लीलाई रातको २ बजेदेखि लाइन बस्न बाध्य पारिएको छ । नेपाल वायु सेवा जहाज निगमको जहाजले उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सास्ती भएको हो ।
निजी एयरलाइन्स समिट दैनिक एक दुई उडान भरेपनि यात्रुको चाप थेग्न गाह्रो देखिएको छ। निजी एयरलाइन्स सीता,ताराले नियमित उडान नभरेपछि थप समस्या भएको हो । रातको २ बजे लाइन बसेर मात्रै जहाजको टिकट पाएको सिमकोट गाउँपालिका–५, का भीमबहादुर रोकायाले जानकारी दिए ।
उनले नेपाल एयरलाइन्सको हुम्ला कार्यालयमा रातीको २ बजेबाट लाईनमा बस्दा धेरै समस्या भोग्नु परेको बताए । जहाजको टिकट कुदौकुदै दशैं मनाउन नेपालगञ्ज झर्न नपाएको चंखेली गाउँपालिका–४ का अर्जुन रावलले दुःखेसो पोखे । बर्सेनि चाडपर्वका बेला हुम्लि नागरिकलाई नेपालगञ्ज र सुर्खेत झर्न समस्या हुँदै आएको छ ।

