नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ पञ्चपुरीको अध्यक्षमा रोकाय


बाबियाचौर । नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ पञ्चपुरीको अध्यक्षमा तेजबहादुर रोकाय निर्वाचित भएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ पञ्चपुरीको आज बाबियाचौरमा सम्पन्न तेस्रो नगरअधिवेशनबाट रोकाय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले नगरमहासंघको वरिष्ठ उपाध्यक्षमा घनश्याम शाही, उपाध्यक्षमा होमबहादुर नेपाली, महासचिवमा रमेश ढुङगाना, कोषाध्यक्षमा रत्ना कठायत रावत तथा सदस्यहरुमा छविलाल नेपाली, मिना सार्की, विसे दमाई र प्रशान्त सापकोटा निर्वाचित भएका छन् ।
अधिवेशनले जिल्ला प्रतिनिधिमा रमेश बौडेल, दुर्गा पुलामी र निर्मला सिंहलाई चयन गरेको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा महासंघका कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपाली, महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेलले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै लघु घरेलु तथा साना उद्योगको विकासबाटै ठूला उद्योगको विकास हुने बताए ।

उनीहरुले घरेलु उद्योगहरु ठूला उद्योगका लागि प्रतिस्पर्धी नभई सहयोगी भएकाले समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औल्याए । कार्यक्रममा महासंघ सुर्खेतका अध्यक्ष योगीले उद्योगीका नाममा ठगिखाने नक्कली उद्यमीहरुलाई निस्तेज गरेर वास्तविक उद्यमीहरुलाई सरकारले पहिचान गरी प्रोत्सााहन गर्न आवश्यक रहेको बताए ।
उनले कर्णालीमा नक्कली उद्यमीहरुको विगविगीले वास्तविक उद्यमीहरु ओझेलमा परेका कारण राज्यबाट पाउनु पर्ने लाभ वास्तविकउद्यमीले नपाएको गुनासो गरे । उनका अनुसार सरकारी अनुदान र प्रोत्साहन लिनका लागि मात्रे कतिपय फर्म र उद्योगहरु दर्ता भएको पाईएको छ । त्यस्ता नक्कली फर्म तथा उद्यमहरु माथि सरकारी निकायको कडा निगरानी हुन आवश्यक रहेको उनको भनाइ थियो ।

