ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने

नागरिक ‘एप’बाटै देखाउन सकिने

काठमाडौं । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको छ ।

सरकारले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरेसँगै अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी गराए।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराए । उनले डिजिटल पेमेन्ट गर्ने व्यवस्थाले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको भन्नुहुँदै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताए ।

प्रधानमन्त्री ओलीले भोलि आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा डिजिटल पेमेन्टको व्यवस्था सुरु हुने बताए ।

उनले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको भन्नुहुँदै कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको बताए । ‘नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौं ।’  रेडियो नेपाल

Translate »