आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण


सुर्खेत । गृह मन्त्रालयले सुर्खेत स्थित प्रादेशिक आपतकालीन गोदमघर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका हुन् । विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ ।
पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघरलाई प्रदेश सरकारलाई हस्तान्तरण गरिको गृहमन्त्री लेखकले बताए । उनले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीनै तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको औल्याए ।


कर्णाली र सुदूरपश्चिम प्रदेशमा भूकम्पले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण गर्ने काम भइरहेको बताउँदै उनले अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रूत गतिबाट काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदाम घरको संरचना प्रदेशलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै अन्य संरचना र कानूनी अधिकार पनि हस्तान्तरण गर्न आग्रह गरे । उनले यो वर्ष विपद्का सामग्री खरिद गर्न प्रदेश सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए ।


