नक्कली संसार


यो मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जमाना पो हो त । यहाँ त फर्जी आईडी नै फौज बनेको छ । फोटो अरूको, नाम अर्कैको, विचार कसैको पनि होइन । साइबर सेना खडा गरेर विपक्षीहरुलाई आक्रमण गर्ने काम शुरु गरेको दल नै आज साइबर आक्रमणमा धेरै पछाडि परिसकेको छ । किनकि, प्रेम, युद्ध र चुनावमा सबै कुरा जायज हुन्छ ।
प्राविधिक रूपमा समाज जति–जति प्रगति पथमा अघि बढ्दै छ, उति–उति सत्य पछाडि सर्दै छ, अर्थात् नक्कली सूचनाको बजार तातिँदै गएको छ । किनकि यो मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जमाना पो हो त । चुनाव आयो, झुट र झमेला छायो । सूचना छिटो दौडने भयो, विवेक ढिलो चल्न थाल्यो । तर्क र तथ्यांक अँध्यारामा हराए, उन्माद र आवेग उज्यालिए । चुनावको यस्तो माहोलमा अनेकौं नक्कली चुनाव–विशेषज्ञहरू मिडियाको कपमा झिँगाजस्तै तैरिरहेका छन् । आँखा खुला भए झिंगा देखिन्थ्यो । यहाँ त आँखा बन्द, स्क्रिन खुला छन् । औंला चल्छ, दिमाग सुत्छ । लाइक बढ्छ, सोच घट्छ । शेयर बढ्छ, शंका घट्छ ।
पुराना दलहरूले ठानिरहेका छन् कि जनताको दिमागमा अझै पनि उनीहरूप्रति कुनै न कुनै भरोसा छँदै छ । त्यो भरोसा साँचो हो वा नक्कली, चुनावसम्म टिक्नुपर्छ । त्यसपछि कसैका आँखा खुले पनि, वा बन्द रहे पनि त्यसले केही फरक पर्नेवाला छैन । यही कारण सूचनाको नक्कली कारोबार गर्नेहरू आफ्नो पसल चलाउन सफल देखिन्छन् । अब भरोसा कमाइँदैन, बनाइन्छ । विचार पढिँदैन, फरवार्ड हुन्छ । सत्य खोजिँदैन, ट्याग हुन्छ । अब विचार वा कामको प्रमाण होइन, प्रोफाइल बोल्छ ।
समाचारअनुसार टिकटक र फेसबुकले केही समय अघिमात्रै कति सय हो नक्कली सामग्री भएका पेजहरू बन्द गरेको थियो, जसमा धेरै पेज नयाँ फेसबुक र टिकटकबाटै उदाएका दलहरूसँग सम्बन्धित थिए । अहिले फेरि हटाउने कुरा भैराछ रे १ तर केही छैन । पुराना बन्द भए पनि हजारौं नयाँ पेज जन्मिन्छन् । यसरी यस्ता नक्कली पसल चलाउन नक्कली अकाउन्ट चाहिन्छ । एक मान्छे, दस प्रोफाइल । एक फोटो, दस नाम । कसले भन्छ कि नक्कली अकाउन्ट बनाउनु र नक्कली सामग्री फैलाउनु गैरकानूनी हो रु यहाँ त फर्जी आईडी नै फौज बनेको छ । फोटो अरूको, नाम अर्कैको, विचार कसैको पनि होइन । साइबर सेना खडा गरेर विपक्षीहरूलाई आक्रमण गर्ने काम शुरू गरेको दल नै आज साइबर आक्रमणमा धेरै पछाडि परिसकेको छ ।
जिम्मेवार अधिकारीहरूले जे भने पनि व्यवहारतः यो मान्छन् कि चुनाव कानूनभन्दा माथि हुन्छ । प्रेम, युद्ध र चुनावमा सबै कुरा जायज हुन्छ । यदि यस्तो हुँदैनथ्यो भने ट्रम्प आज अमेरिकाको राष्ट्रपति बन्ने थिएनन् । अमेरिकामा जे जायज छ, यहाँ पनि त्यही जायज मानिन्छ । जहाँसम्म अरू दलहरूको कुरा छ, उनीहरूलाई पनि यो कुरामा आपत्ति छैन । फलामलाई फलामले काट्छ । नक्कली सामग्रीहरू काट्ने त नक्कली सामग्रीले नै हो । यता नक्कली, उता पनि नक्कली । मतदाताले कुरा बुझ्न थाल्दासम्म त चरा खेतबाट उडेर टाढै पुगिसकेको हुन्छ ।
बेरोजगारीको कुरा गर्नेहरूलाई थाहा छैन, नक्कली सूचनाको बजारमा कति ठूलो रोजगारी छ । यहाँ कन्टेन्ट क्रिएटर चाहिन्छ, भिडियो एडिटर चाहिन्छ, सोसल मिडिया अपलोडर र मिडिया मेनेजर चाहिन्छ । तर क्यारेक्टर क्रिएटर होइन ।

केही स्वच्छतावादीहरूले नक्कली सामग्री बनाउने कलाकारहरूलाई असामाजिक तत्त्व भनेका छन् । तर त्यसमा ध्यान दिनु जरुरी छैन । साँचो कलाकार उही हो, जसले समाज नसुनी ट्रेन्ड सुन्छ । भ्यू गन्छ, मूल्य होइन, रील बनाउँछ, रियल होइन ।
सन्त महात्माहरूले धेरै सोचविचार गरेर नै संसारलाई ‘मिथ्या’ भनेका थिए । अब ईश्वर र धर्म पनि त्यही प्रचार मोहमा बगेपछि ब्रह्म र संसार दुवै मिथ्या भए, स्क्रिनमात्रै सत्य भयो । अहिले त्यसको डिजिटल प्रमाण भेटिएको छ । त्यसैले मनमा कुनै अपराधबोध राख्नुपर्ने आवश्यकता छैन । घरमै बसेर नक्कलीको कर्तव्य पूरा गर्नुहोस्, हातहाती मजासँग नाम कमाउनुहोस्, दाम कमाउनुहोस् । जनताको चिन्ता नगर्नुहोस् । जनताको ट्र्याक रेकर्ड बलियो छ । उनीहरू हजारौं वर्षदेखि झुट सुन्दै आएका छन्, पत्याएकै पनि छन्, अब हेरेर पनि पत्याउनेछन् । पहिले अफवाह हिँड्थ्यो, अहिले दौडिन्छ । पहिले कानले सुन्थे, अहिले स्क्रिनले देखाउँछ ।
चुनावको बेला लोकतन्त्रको अर्थ पनि अलिक फरक हुन्छ । टाइमलाइनमा युद्ध हुन्छ, टेबलमा याराना । कमेन्टमा गाली हुन्छ, भेटघाटमा थाली आउँछ । जो एकअर्काको बेइज्जत गर्छन्, चुनावपछि उनीहरू नै सँगै चियापान र मदिरापान गर्छन् । आज ‘देशद्रोही’, भोलि ‘माननीय स्नेही’ । हिजो ‘भ्रष्ट, भोलि त ‘गठबन्धन साझेदार प्रष्ट’ ।
हाम्रो यहाँ नक्कली सामग्री बनाएको भरमा कसैलाई अपराधी ठहर गर्ने कडा कानून पनि छैन । कसैको मानहानि भए अवश्य कानूनी झन्झट आउन सक्छ । तर लोकतन्त्रमा चुनाव भनेको एक अर्कामाथि हिलो, फोहोर छ्याप्ने मौसम नै हो । जसले बढी हिलो छ्याप्छ, उही बढी चर्चित हुन्छ । जसले बढी चिच्याउँछ, उही बढी देशभक्त देखिन्छ । जसले बढी पोस्ट गर्छ, उही बढी सचेत नागरिक ठहरिन्छ ।
लोकतन्त्र मतपेटिकामा छिर्नुअघि मोबाइलभरि आउँछ । सोसल मिडियाको वालमा, स्टाटसमा छाउँछ । र, सबैभन्दा बढी नक्कली आईडीको आडमा छ । जहाँ जिम्मेवारी हुँदैन, त्यहाँ बहादुरी बढ्छ । जहाँ नाम हुँदैन, त्यहाँ गाली बढ्छ । जहाँ अनुहार हुँदैन, त्यहाँ चर्को विचार चर्किन्छ ।
अन्त्यमा कथा उही हुन्छ । चुनाव सकिन्छ । पोस्ट मेटिन्छन् । आईडी हराउँछन् । नारा सुत्छ । नेता अँगालो हाल्छन् । जनता स्क्रोल गर्दै बस्छन् । कानून मुस्कुराउँछ । निर्वाचन आयोग र सरकारले धन्यवाद भन्छ । र नक्कली संसार अर्को चुनावसम्मका लागि सुरक्षित राखिन्छ । लेखक: आर्थिक अभियान दैनिकका प्रधान सम्पादक हुन् ।

