सबैको सामुहिक प्रयासबाट समृद्धि सम्भव छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबैको सामूहिक प्रयासबाट मात्र प्रदेशको समृद्वि सम्भव हुने बताएका छन् ।
कर्णाली प्रदेश योजना आयोगले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासबाट विकास सम्भव नहुने भएकाले सबै पक्षले आ–आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकारवालाबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताए । बजेट विनियोजन गर्दा विकास र समृद्धिका पक्षमा जनसमर्थन बढ्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै उनले प्रदेश तथा स्थानीय सरकारले आआफ्नो क्षमता र स्रोतअनुसार सरकार सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

खर्च गर्ने विषयमा बढी केन्द्रित हुनु भन्दापनि आम्दानी बढाउने विषयमा ध्यान दिन जरुरी रहेको बताउँदै उनले उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने योजनातर्फ जोड दिन आग्रह गरे । मुख्यमन्त्री कँडेलले प्रदेश र स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक पालिकामा योजना बैंक निर्माण गर्ने कार्यमा प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिए ।
उनले बजेट वितरण प्रणाली र शासन शैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै अध्ययन, अनुसन्धान र तथ्यका आधारमा योजना निर्माण गर्नुपर्ने औल्याए । समाजमा निराशा फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै विकासका सकारात्मक पक्षलाई पनि उजागर गर्नुपर्नेमा उनले जोड दिँदै सकेसम्म सबै पक्षको भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कँडेलले लोकतन्त्र, संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।

