कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन


सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामरा र चुम्बक (म्याग्नेट) लगायत उपकरणको सहयोग लिनेछ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी यही असार १८ गते सडकबाट अन्दाजी छ–सात सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनालगत्तै सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा वेस तथा सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट छ जना गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो ।
सोही दिन दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो । गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ । यद्यपि ! दैलेख प्रहरीले उक्त गाडीमा सवार पाँच जनाको सनाखत गरेको छ ।

सनाखत भएका मध्ये चालक तुलाराम सुवेदी र सह–चालक रामप्रसाद सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँका हुन् । त्यसैगरी सिर्जना खड्का कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँका हुन् भने मेखे तिरुवा र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायले बताए ।
कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मकरुपमा खोजी कार्य तीव्र पारिएको छ ।

