कर्णाली प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित


सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्वसहमतिले पारित भएको छ । कर्णाली प्रदेश सभाको शुक्रबार बसेको आठौं अधिवेशनको २० औं बैठकले बजेट सर्वसहमतिले पारित गरेको हो ।
बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमवालीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित आगामी आव २०८३/०८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिइन् ।

मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गरे ।
सभामुखले सभाका सदस्यहरुको ध्वनि मतका आधारमा आर्थिक वर्ष २०८३/०८४ बजेट सर्वसहमतिले पारित भएको घोषणा गरिन् । अब सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो ३ः०० बजे बस्नेछ ।

