स्पष्ट नीति नहुँदा मानसिक रोगी उपेक्षित


घरेलु हिंसा, लैंगिक हिंसा तथा यौनजन्य हिंसाले मनोसामाजिक र मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको छ । आर्थिक अवस्था कमजोर, पारिवारिक झमेला, सन्तानप्रतिको असन्तुष्टि, यौन मामिलामा असन्तुष्टि, बेरोजगारी तथा इन्टरनेट र अन्य आधुनिक प्रविधिका सामग्रीले गर्दा विभिन्न प्रकारका मानसिक समस्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालमा नसर्ने रोगहरु मध्येमा १८ प्रतिशत मानसिक रोग छ । त्यस्तै मनोसामाजिक अपाङ्गता गराउने प्रमुख १० समस्यामध्ये चारवटा मानसिक समस्या नै छन् । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस÷एमडी (साइक्याट्री) अध्ययन गरेका डाक्टर सुशील समदर्शी यतिबेला कर्णालीमा मनोरोगको पहिचान, उपचार परामर्शका लागि विभिन्न शिविरसँगै आम जनचेतना जगाउने अभियानमा जुटेका छन् । यसै सन्दर्भमा मानसिक रोगको कारण, बच्ने उपाय लगायतका विषयमा प्रदेश अस्ताल सुर्खेतमा मनोचिकित्सकका रुपमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डा.समदर्शीसँग स्काई न्यूज दैनिकले गरेको कुराकानीको सार :

मानसिक (मनोरोग) के हो ?
मानसिक स्वास्थ्य भनेको मन र मष्तिष्कको अवस्था हो जहाँ व्यक्तिले आफ्नो क्षमताको बारेमा एकीन गर्न सक्दछ । दैनिक सामान्य तनावको अवस्थालाई झेल्न सक्दछ तथा उत्पादशील भई समाजका लागि केही योगदान दिन सक्छ । जब मन र मष्तिष्कमा गडबड हुन्छ, मनोविकार उत्पन्न हुन्छ । मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । मनोरोग लागेपछि व्यक्तिको सोच, मन, बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । कतिपय अवस्थामा यही गडबड भएको ज्ञान मान्छेमा हुँदैन । आजकल मनोरोगको वैज्ञानिक तवरले सटिक उपचार हुन्छ । मनोरोग जोकोहीलाई पनि लाग्न सक्छ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन । मानसिक रोगको उपचार सम्भव छ ।
मनोरोग र डिप्रेसनमा के फरक छ ?
मनोरोग भन्नेवित्तिकै डिप्रेसन (उदासिनता) हो भन्ने आम बुझाइ छ । तर, सबै मानसिक रोग डिप्रेसन हुँदैनन् । डिप्रेसनले धेरै मान्छेलाई सताउने भएकाले मात्र यस्तो बुझाइ भएको हो । डिप्रेसन भनेको उदासिपन वा निराशापन हो । जसमा व्यक्तिको जागर र रुची घट्दछ । व्यक्तिको खानपान र निन्द्रामा यसले असर पु¥याउँछ । डिप्रेसनकै कारण धेरैले आत्महत्या पनि गरेका छन् । तर मानसिक रोग सामान्य, मध्यम र कडा अनि जटिलखाले हुन्छन् । रोगबारे बुझेर समयमै उपचार गराउन सके सबै मानसिक रोग निको हुन्छ । समान्य डिप्रेसनलाई अस्पताल भर्ना गरिरहनु पर्दैन । तर, कडाखाले रोग लागेमा भर्ना आवश्यक छ ।
मनोरोगका लक्षण के हुन् ?
मानसिक रोगी चिन्न व्यक्तिको बोलीचाली, व्यवहार र कार्यतालिकामा परिवर्तन भएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । सधैं चिन्ताग्रस्त हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुश हुनु, नियन्त्रण गर्न नसक्नु, निन्द्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, बिना कारण डरलाग्नु, आफुमात्र ठीक अरु सबै बेठीक भन्ने लाग्नु आदि भएमा मानसिक समस्याका खतरा सूचक लक्षण हुन् । त्यस्तै पहिलेको भन्दा चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्छन । यसबाहेक आत्तिनु र व्यवहारमा परिवर्तन हुनु पनि मानसिक रोगका लक्षण हुन् । विना कारण स्मरण शक्तिमा ह्रास आउनु, खानामा रुची गडबढी हुनु, शंका, भ्रमलगायतका लक्षणहरु देखा पर्न सक्छन् ।
मनोरोगका कारणहरु के के हुन ?
मानसिक रोगका मुख्य तीन कारण रहेका छन् । वंशानुगत, जैविक र अर्को मनोसामाजिक हुन् । जैविक कारण भनेकै हाम्रो शरीरको रसायनिक प्रकृया हो । रसायनले गर्दा मष्तिष्क र मनमा गडबड भएमा यो रोग लाग्छ । वंशाणुगत कारणले पनि मानसिक रोग लाग्न सक्छ । अर्को मनोसमाजिक भनेको वरिपरि समाजमा भएका तनावका स्रोत हुन सक्छन् । त्यस्तै अनुकुलन क्षमतामा कमी हुनु पनि मानसिक रोगका कारण हुन सक्छन् । मानसिक तनाब, द्वन्द्व, वैदेशिक रोजगारी, सांस्कृतिक परिवर्तन, दूव्र्यसनी, व्यक्तित्वको गडबडी आदि अनेक समस्याले गर्दा यस्ता रोग देखा पर्छन् ।
मनोरोगीसँग कस्तो व्यवहार गर्ने ?
हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण नै संकुचित भएकाले मनोरोग लागेपछि परिबार आत्तिने गरेको पाइन्छ । मनोरोगलाई समाजले पनि गलत तरिकाले व्याख्या गरिदिने हुनाले परिवारलाई अझै दवाव पर्छ । त्यसैले किशोरी उमेरमा मनोरोग लागेमा उपचार गराउनुको साटो बिहे गरिदिए ठीक हुन्छ भन्ने ठानेको पाइन्छ । तर यो गलत हो, हामीकहाँ आउने धेरै बिरामीहरु यस्तै पीडित भएको पाएका छौं । मनोरोग लाग्दैमा आत्तिनु पर्दैन । संसारमा रोग नभएको मान्छे शायदै होलान् । मानसिक रोगको सही उपचारमा औषधि तथा मनोपरामर्श नै मुख्य कुरा हुन । मनोरागीलाई उसको हरेक क्रियाकलापमा सहयोग समर्थनसँगै विशेषज्ञ डाक्टरसँग सल्लाह, सुझाव लिनु पर्छ । मानसिक रोगलाई पनि अन्य रोग सरह हेर्ने दृष्टिकोण बनाउनु पर्दछ ।
मानिसमा रहेका गलत धारण कसरी हटाउने ?
मनोरोग केहीलाई मात्र लाग्छ, यो एकैथरिको मात्र हुन्छ, बालबालिकालाई यो रोग लाग्दैन, मानसिक रोग चारित्रिक कमजोरी र इच्छाशक्तिको अभावमा मात्र लाग्छ, मनोरोग भुतप्रेत, पिशाच, दैवी श्राप, बोक्सीको बिगार वा जंगङ्गली लागेर मात्रै हुन्छ भन्ने धारणा गलत हो । डाक्टरी दबाइले यो रोग निको हुँदैन र झन नराम्रो हुन्छ भन्ने धारणा पनि गलत हो । जादु, टुना, धामीझाँक्रीबाट उपचार गराउनुपर्छ भन्ने सोचाइ सही होइन । त्यस्तै मनोरोगीहरु हिंसात्मक हुन्छन् र एकपल्ट मनोरोग लागेपछि ठीक हुनै सक्दैन भन्ने सामाजिक धारणा पनि गलत हो । मनोरोगीलाई पागल (म्याड) भनेर होच्याउने, हीन भावनाले हेर्ने, कमजोर बनाइदिने गरिन्छ । मनोरोगीहरुको व्यवहार असाधारण हुने भएकाले उनीहरुको व्यवहारलाई अतीतको रुपमा लिएर उनीहरुलाई गाली गर्ने कुुटपिट गर्ने गरिएको छ । मनोरोग लागेकाहरुलाई असल व्यवहार गर्नुपर्छ भन्ने आम बुझाइ विकास भएकै छैन । मनोरोगबारे नेपाली समाजमा नपढेका, कम पढेकाहरु मात्र हैन, पढेलेखेका शिक्षितहरुमा पनि गलत धारण व्याप्त छ । मनोरोग पनि अन्य रोगहरु जस्तै हो । जसरी रुघाखोकी लागेको व्यक्ति समयमै उपचार गर्दा ठीक हुन्छ, उसैगरी मनोरोग लागेको व्यक्ति पनि समयमै उचित उपचार गरे ठीक हुन्छ ।
मनोरोगबाट जोगिने उपाय के हो ?
सरकारले मानसिक स्वास्थ्य र मनोरोगबारे पर्याप्त चेतना जगाउनुपर्छ । अन्य रोगहरुमा नीति बनाएर सचेतना बढाएजस्तै मानसिक रोगबारे पनि प्रस्ट नीति बनाएर लागू गराउनुपर्छ । सरकारले स्वास्थ्य नीति बनाउँदा तथ्यपूर्ण अध्ययन अनुसन्धानको आधारमा बनाउनुपर्छ । मानसिक स्वास्थयबारे राज्यले धेरै जनचेतना जगाउनुपर्ने खाँचो छ । अझै पनि धेरै रोगीहरु गाउँघरमा उपचार नपाएर बस्न बाध्य छन् । सबै ठाउँमा तत्कालै विज्ञ नियुक्त गरेर पठाउन नसकिएला, तर त्यस्ता ठाउँमा मानसिक स्वास्थ्य र मनोरोगबारे उचित तामिलप्राप्त स्वास्थयकर्मीहरु खटाउन सकिन्छ । यसो भएमा रोगको तत्काल पहिचान गरेर विज्ञ भएको अस्पतालमा रिफर गर्न सकिन्छ ।

Translate »