विश्व संकटमा युवा एकजुट बनौं
खगेन्द्र बहादुर खनाल
चीनबाट शुरू भएको कोरोना महामारीको डढेलो अहिले संसारभर फैलिसकेको छ । संसारको शक्ति नायक अमेरिका र यूरोपियन शक्तिकेन्द्रलाई झन केन्द्र बनाएर यसले महासंकटको बिगुल बजाई रहेको छ । आजको दिनसम्म पच्पन्न हजारले ज्यान गुमाईसकेका छन् साथै लाखौ जनामा कोरोना पुष्टि भैसकेको छ । विश्वको असी प्रतिशत भु–भाग अहिले बन्दाबन्दीको अवस्थामा रहेको छ । उपचारमा संलग्न सयौं डाक्टर लगायतका स्वास्थ्यका कर्मचारीहरुले ज्यान गुमाईसकेको अवस्था छ । जस्तोसुकै मिसाईल बनाएर एकैछिनमा विश्व ध्वस्त पार्नसक्ने क्षमतावान राष्टले आज कोरोना भाईरस मार्ने औषधि बनाउन सकिराखेका छैनन् । विश्वको अर्थतन्त्र त निकै नै कमजोर बनिरहेको छ नै साथै मानव अस्तित्व समेत खतरामा छ । नेपाली उखान, ‘हुलफालमा जीऊ जोगाऊनु, अनिकालमा बीऊ जोगाउनु’ भनेजस्तै मानवजातिको रक्षा गर्ने दायित्व अब मानिसमा निहित रहेको छ । संसारमा जस्तै हाम्रो देशपनि अहिले लकडाउनको अवस्थामा छ । विद्यालयहरू, कलेज, परीक्षाहरू लगायतका गतिविधिहरू पूर्णरूपमा ठप्प बनेका छन् । साधारण झाडापखालाले उग्ररूप लिएपछि नियन्त्रणमा महिनौदिन लागेपछि ज्यान गुमाउने र मुस्किलले ज्यान बचेपछि खुशी हुनुपर्ने हामी नेपालीहरूको बाध्यता रहेको सर्वविदितै छ ।
भाग्यवश हाम्रो देशमा अहिलेसम्म एकजना मानिस पनी कोरोनाले मर्नु नपरेको र केही केशहरू मात्रमा सीमित रहनुलाई नेपालीको भाग्य भन्नुपर्दछ । हाल अमेरिकाको मृत्यु छ हजार भैरहँदा संक्रमितको संख्या दुईलाख पुग्दैछ । राष्ट्रपति ट्रम्पले मृत्युलाई एकलाखमा सिमित गर्न सकेमा अमेरिकाको ठूलो बहादुरी हुने कुरा व्यक्त गरेका छन् । विश्व यति आक्रान्त बनिरहँदा हाम्रो देशमा औषधि उपकरण खरिदको चटारो चलिरहेको छ । उर्जावान जनशक्ति कोठामा थुनिएर बस्नुपरेको अवस्था छ । लकडाउनलाई सफल पार्न घरभित्रै रहनुपर्दा पनी विविध खाले मनोविज्ञानले त्रसित भने गरिरहेकै छ ।
समाजले आशा गरेको तातो जोशजागर भएको वर्गले यस विषम परिस्थितीमा आफ्नो तर्फबाट गर्न सकिने योगदानलाई रोक्न मिल्दैन् । सर्वप्रथम कोरोनाका बारेमा समाजमा व्याप्त मनोविज्ञानलाई चिरफार गर्नु पर्दछ ।
घरको दलिनको माटो खनेर कालो तिलक लगाउँदा कोरोना भाग्छ, देवतालाई पशुबली चढाऊँदा कोरोना लाग्दैन आदिजस्ता सामाजिक भ्रमलाई हटाउन आफ्ना–आफ्ना ठाऊँबाट अभियान शुरू गर्नुपर्छ । सरकारले घोषणा गरेको अवधिभर आफु र आफ्ना परिवारका सदस्यहरूलाई बाहिर जानबाट रोक्ने, अत्यावश्यक काममा जानुपर्दा केटाकेटी र बुढापाकालाई नपठाऊने आफु जाने, घरभित्र र बाहिर सरसफाईमा ध्यान दिने, परिवारका सदस्यहरूमा रहेको डर भगाउन सकारात्मक कुराहरू गर्ने, सामाजिक सञ्जालहरुमा आफ्ना पुराना फोटोहरू खोजेर राख्नुको सट्टामा सकारात्मक सन्देशहरू प्रबाह गर्नेजस्ता क्रियाकलापहरू गर्न सकिन्छ । समुदाय स्तरमा नेपाल सरकारले आह्वान गरेका कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने, क्वारेन्टाईनको व्यवस्थापनमा वडातहमा सहकार्य र सहयोग गर्नु पर्दछ । संसारका मानिसहरूमा संकट आएको अवस्थामा वर्तमानका साझेदार वर्गले समाज र राष्ट्रप्रतिको दायित्व भुल्नु हुदैन् । कोठा भित्र बसेर पनि विभिन्न पुस्तकहरू पढ्ने, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम हेर्ने, परिवारमा सदस्यहरूसँग भलाकुसारी गर्ने र समयको भरपुर सदुपयोग गर्न सकिन्छ । गाउँ–गाउँमा विदेशबाट आएर परिवारमा अहिले पनि प्रशस्त व्यक्तिहरू बसिरहेका छन् । उनीहरूलाई क्वारेन्टाईनमा बस्नका लागि सल्लाह दिने र स्थानीय तहमा खबर गरि त्यस्ता व्यक्तिहरूको जानकारी गराऊनु पर्दछ ।
आफ्ना परिवार अथवा छिमेकमा कसैलाई शंकास्पद लक्षण देखापरेमा तुरून्तै स्वास्थ्य संस्थामा पठाऊन पनि युवा वर्गले भूमिका निभाऊनु पर्दछ । सबै मानिसहरूले एकजुट भै महामारीसँग लडाई गर्नुपर्ने बेलामा समाजमा गलत कुराको पछि लागेर समय बर्बाद गर्न हुदैन् । अहिलेको अवस्थामा हाम्रा कतिपय युवाहरू भारत लगायतका अन्य देशहरूमा लकडाऊनमा रहनु परेको छ ।
अस्तिमात्रै मेरो एकजना गाउँको भाईले भारतको महाराष्टबाट फोन गरेर भन्दै थिए, दाजु हामी गाऊँका चालिस जना एकैठाऊँमा बसेका छौं, होटल पुरै बन्दले जागिर पनि ग¥यो, हामीलाई नेपाल झिकाऊने व्यवस्था गर्नुहोस्, भन्दै थिएू ।
यसरी हाम्रा दाजूभाईहरू प्रताडित हुनु परेको छ । सरकारले समेत शुरुमा चिनबाट उद्दार गरेर केही विद्यार्थीलाई ल्याएपनी अहिले हजारौं जना सिमानामा अलपत्र परिरहेका छन् । आफ्ना नागरिकलाई उद्दार गरी क्वारेन्टाईमा राख्नमा सरकारले प्रयास गर्नुपर्ने हो । यस्तो अवस्थामा राष्ट्रको आशाका रूपमा परिभाषित गरिएका युवा विद्यार्थीहरूले आ–आफ्ना ठाऊँबाट हातेमालो गरेर महामारीको सामना गर्नुपर्ने अवस्था रहेको छ । सचेत वर्गका हैसियतले सरकारका नकारात्मक कामहरूको टिप्पणी मात्र नगरिकन सकारात्मक कामहरूको प्रशंसा गर्ने संस्कारको विकस समेत गर्नुपर्दछ । यस्तो बेलामा विभिन्न विद्यार्थी संघसंगठनहरू, युवाहरूका संघ संगठनहरू, पार्टी, दल तथा स्वतन्त्र संस्थाहरूमा आवद्द भएका युवाहरूले राष्ट्रलाई कांध थाप्ने बेला भएको छ । तीन तहको सरकारबीच रहेको समन्वयको अभावले गर्दा नागरिकहरू बन्चित हुनु परेको सेवा प्रवाह तथा राहत प्राप्तिमा ढिलाई, अधिकाश युवाहरूले नेतृत्व गरेको ठाऊँहरूमा पनि परिणाममुखी काम नभएको आलोचना बढिरहेको अवस्थामा विभिन्न जटिलताहरूलाई ध्यान दिँदै होत्सेमा हैसे गर्दै कोरोनाको विरुद्दमा लड्न सकियो भने यो युद्द केही हदसम्म जित्न सकिने अवस्था छ ।