कर्णालीमा ५ महिना पुग्ने खाद्यान्न मौज्दात

अनावश्यक भण्डारण नगर्न आग्रह

स्काई न्यूज /चैत २२, सुर्खेत ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ मा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेश सरकारले बताएको छ । सरकारी एवं नीजि खाद्य भण्डारमा ७७ हजार क्विन्टल मौज्दात रहेकाले लकडाउन अवधिमा खाद्यान्न अभाव नहुने भएको हो । प्रदेशका दश वटै जिल्लामा आवश्यकता अनुसार स्थल तथा हवाई मार्गबाट ढुवानी गर्न सकिने हुँदा लकडाउनमा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेशका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । उनले लकडाउनको अवधि भर बन्द भएपनि दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै समस्या नरहेको जनाए । खाद्यान्न अभाव हुने हल्लाको पछाडी लागेर दैनिक उपभोग्य वस्तुको अनावश्यक भण्डारण नगर्न समेत उपभोक्तालाई उनको सुझाब छ ।

‘दैनिक उपभोग्य वस्तुको आयात–निर्यातमा कुनै समस्या छैन । तर, सर्वसाधारणको आवताजावत ठप्प भएकाले उपभोक्ता अनावश्यक खाद्यान्न भण्डारण गर्न ब्यस्त देखिन्न्,’ उनले भने, ‘प्रदेशमा सरकारी तथा नीजि खाद्य भण्डारमा पाँच महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ । लकडाउनमा खाद्यान्नको अभाव नहुने हुँदा उपभोक्ता हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।’ उनले कोरोना भाइरसकै कारण आयातमा कुनै समस्या नभएकाले त्रसित नहुन प्रदेशवासीलाई आग्रह गरे । उनका अनुसार प्रदेश सरकारले खाद्यान्न भण्डारण, वितरण एवं ढुवानी प्रक्रियालाई सहज बनाई रहेको छ । ‘आपूर्ति व्यवस्थापन समितिका संयोजक समेत रहेका मन्त्री बुढाले भने, ‘कर्णाली प्रदेशका दश वटै जिल्लामा तत्काल उपभोग्य वस्तुको अभाव छैन् । लकडाउन लम्बिने स्थिती रह्यो भने हुम्लामा खाद्यान्न अभाव हन्छ की भन्ने आशंकाले संघीय सरकारसँगको समन्वयमा अहिले वितरणसँगै भण्डार कार्य भईरहेको छ ।’ उनले लक डाउन अवधि बढेमा पेट्रोलियम, तेल, चिनी जस्ता वस्तुमा देखिने समस्यालाई पनि संघ एवं प्रदेश सरकारको समन्वयमा समाधान गरिने बताए ।


हुम्लामा खाद्यान्न ढुवानी जारी
अहिले ‘लकडाउन’ का कारण खाद्यान्न अभाव हुन सक्ने आशंकामा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा हवाई मार्गबाट ढुवानी जारी रहेको छ । हुम्लामा खाद्यान्न, औषधि र अन्य उपभोग्य सामग्री जहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । देशभर लकडाउन शुरु भएपछि हुम्ला जिल्लामा खाद्यन्न आपूर्ति हुन सकेको थिएन । गत बुधबारदेखि हुम्लामा नियमितरुपमा खाद्यान्न ढुवानी भईरहेको छ । अहिले सिमकोटस्थित संस्थानको गोदाममा दुई हजार नौ सय क्विन्टल चामल मौज्दात छ ।

त्यस्तै, सर्केगाडस्थित डिपोमा दुई सय १० क्विन्टल, श्रीनगरस्थित गोदाममा तीन सय २० क्विन्टल चामल मौज्दात राखिएको छ । चंखेलीको देउलीस्थित डिपोको लागि तीन सय ५० क्विन्टल चामल केही दिनमा खच्चडबाट पु¥याइने तयारी छ । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोटको लागि हेलिकोप्टर प्रयोग गरेर खाद्यान्न ढुवानी गर्ने तयारी भइरहेको छ । अहिले सुर्खेत र नेपालगञ्जबाट खाद्यान्न ढुवानी भईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय सुर्खेतले बताएको छ । प्रदेशमा खाद्य अभाव एवं संकट हुनेमा तत्काल कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेत कार्यालयका प्रमुख भीमबहादुर थापाले बताए ।

उनले कम्पनीसँग अहिले अढाई महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेकाले अभाव नहुनेमा ढुक्क रहन नागरिकलाई आग्रह गरे । थापाले भने, ‘हामीसँग हाल ४४ हजार ७८३ क्विन्टल खाद्यान्न सञ्चित छ । यसले कर्णालीको करीब १८ लाख जनसंख्यालाई दुई महिना १५ दिन पुग्छ । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।’ उनले सुर्खेतबाट सिमी, फापर, जिरा मसिनो, सोना मंसुली र मोटा चामलसँगै जापानीचामल सहजै उपलब्ध रहेको जनाए । उनका अनुसार कम्पनी र निजी क्षेत्रसँग भएको चामलको हिसाब गर्दा कर्णालीमा छ महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ । उता नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपकप्रसाद घिमिरेले कर्णाली प्रदेशमा हवाई इन्धन र मट्टितेले बाहेकका पेट्रोलियम पदार्थको भण्डारण नभएपनि आपूर्तिमा कुनै समस्या रहेको बताए । उनले प्रदेशमा एलपीजी ग्यासको आपूर्ति तथा वितरणमा समेत कठिनाई नरहेको जनाए । त्यस्तै साल्ट टे«डिङ्ग कर्पोरेशन अञ्चल कार्यालय नेपालगञ्जले कर्णालीका १० वटै जिल्लामा आवश्यकता भन्दा बढी नून मौज्दात रहेको बताएको छ । साल्टका नेपालगञ्ज प्रमुख मनोजकुमार चौधारीका अहिले प्रदेशभरी २१ हजार क्विन्टल नून मौज्दात रहेको छ ।

Translate »