

सुर्खेत । १२ औं राष्ट्रिय उद्योग दिवस कर्णाली प्रदेशका दश वटै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
आज उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले वीरेन्द्रनगर स्थित लघुग्राममा सरोकारवाला निकाय र निजी क्षेत्रको सहभागितामा अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना गरी उद्योग दिवस मनाएको हो । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मनाईएको दिवसको अवसरमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि नीतिगत तथा प्रशासनिक झन्झट अन्त्य गर्न उद्योगीहरुले सरकारसँग माग गरेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले औद्योगिक वातावरण सुधार गर्दै उत्पादन र उद्यमशीलताको विकासमार्फत दिगो अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश तथा स्थानीय सरकारलाई छुट्टाछुट्टै कर तिर्नुपर्ने झंझटिलो बाध्यताले कर्णालीका उद्यमी तथा व्यापारीलाई सकस बनाईरहेको बताए ।


लघु औद्योगिक ग्राम सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले उद्योग क्षेत्रको विकास, लगानीमैत्री वातावरण निर्माणका लागि उद्योगी व्यवसायीले भोग्दै आएका नीतिगत, प्रशासनिक तथा पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरे । कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्थानीय वस्तुहरुको उचित बजारीकरण र प्रवद्र्धनमा जोड दिइने बताईन् ।
उनले आर्थिक समृद्धिका लागि उद्योग तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार नीतिगतरुपमै अघि बढेको जानकारी दिईन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले उद्योग क्षेत्रको विकाससँगै रोजगारी सिर्जना, आयात प्रतिस्थापन, स्थानीय स्रोतसाधनको उपयोग तथा आर्थिक गतिविधिको वृद्धिका लागि कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताए ।
उनले उद्यमशीलता प्रवद्र्धन, स्थानीय उत्पादनको विकास तथा उद्योग व्यवसायमा योगदान पु¥याउने उद्यमीहरुलाई समेत कार्यालयले विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्दै आईरहेको जानकारी दिए ।












