२०८३ मंसिर ८ , सोमबार
Sky News Nepal
November 23, 2026

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित होटल तथा रेष्टुरेन्टले मूल्यसूची अनिवार्य राख्नुपर्ने



सुर्खेत । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने व्यवस्था गरिएको छ ।

आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ को अवसरमा सुर्खेत जिल्लामा आउने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, अतिथि एवं खेलप्रेमीहरुलाई गुणस्तरीय, स्वच्छ, सुरक्षित र सहज सेवा उपलब्ध गराउने उद्देश्यले होटल व्यवसायी संघ तथा सम्बन्धित सरोकारवालाहरुसँग होटल व्यवस्थापन सम्बन्धी बैठकले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको हो ।

बैठकमा प्रतियोगितालाई लक्षित गरी होटल व्यवसायीले उपलब्ध गराउने कोठा, खाना तथा अन्य सेवाको खिलायती, न्यूनतम र पारदर्शी दररेट/मूल्यसूची तयार गरी सेवाग्राहीले सहजै देख सक्ने स्थानमा अनिवार्य रूपमा टाँस्ने र सोहीबमोजिम सेवा तथा सुविधा उपलब्ध गराउने सहमति भएको छ ।

त्यस्तै होटलमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीप्रति शिष्ट, सभ्य, मर्यादित र सहयोगी व्यवहार गर्ने तथा खेलाडी, प्रशिक्षक, अतिथि एवं अन्य सेवाग्राहीलाई कुनै पनि प्रकारको विभेद नगरी छिटो, छरितो र गुनासोरहित सेवा प्रवाह गर्ने होटल व्यवसायीहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै होटल तथा रेस्टुरेन्टमा बिक्री वितरण गरिने खाद्यवस्तुको गुणस्तर, खाद्य स्वच्छता र खाद्य सुरक्षामा विशेष ध्यान दिई ताजा, स्वच्छ, पोषणयुक्त तथा हाइजेनिक खाना मात्र तयार गरी बिक्री वितरण गर्ने सहमति भएको छ । बासी, सडेगलेका, म्याद गुज्रिएका तथा अखाद्य वस्तु प्रयोग गरेको पाईएमा कानून अनुसार हदैसम्मको कारवाही हुने बताईएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर होटल तथा रेस्टुरेन्टहरुको सेवा, मूल्यसूची, खाद्य स्वच्छता, सरसफाइ तथा समग्र व्यवस्थापनको सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा निरीक्षण नियमित गरिने भएको छ । बैठकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सापकोटाले बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘महाकुम्भ’ को संदेश राष्ट्रिय भएपनि यसलाई सुर्खेतबाटै अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरे ।

उनले भने, ‘प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई कुनै अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले पारदर्शी दररेटमा गुणस्तरीय, स्वच्छ, सुरक्षित र सहज सेवा उपलब्ध गराएर अन्तर्राष्ट्रिय संदेश दिन सक्नु पर्छ । यो अवसरलाई प्रतिष्ठा र सामाथ्र्यको विषय मात्र नबनाई सेवाग्राहीप्रति शिष्ट, सभ्य, मर्यादित र सहयोगी व्यवहार समेत देखाउने अवसर हो ।’

प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार
Translate »