

सुर्खेत । कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत निकालेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णालीलाई ४९ रनले हराउँदै कोशीले पहिलो जीत निकालेको हो ।
उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दवावमा रहेको कोशीले कर्णालीमाथि सहज जीत निकालेको छ । टस जितेर पहिले व्याटिङ रोजेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा १२५ रन बनाएको थियो । रुविनाले आउट हुनुअघि एक छक्का र ९ चौकाको मद्दतमा ५७ बल खेलेर ६२ रन बनाइन् ।
कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजबंशीले १० र लकिता राजबंशीले ९ रन बनाए । विमला महला ७ र फुलकुमारी राजबंशी ६ रनमा नटआउट रहे । कर्णालीकी रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिए । जवाफी ब्याटिङ थालेको कर्णाली ७६ रनमा अलआउट भयो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् ।
यस्तै सोविका शाही १२, रमा बुढाथोकी १०, किरणकुमारी कुँवर ९, गंगा खड्का सात, अञ्जु गुरुङ चार, सोना चन्द ७, रविना बुढामगर तीन, जयन्ती चन्द र ओपनर रेखा सोनीले एक एक रन बनाए । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजबंशीले तीन विकेट हात पारिन् ।
चार ओभर बलिङ गरेकी लकिताले एक ओभर मेडर्न राख्दै मात्रै पाँच रन दिइन् । कर्णालीको ब्याटिङ लाइन ध्वस्त बनाएकी लकिता खेलको प्लेयर अफ द म्याच बनिन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई–दुई विकेट लिए भने कप्तान रुविना क्षेत्री र निरु राजबंशीले एक–एक विकेट लिए ।

यसअघि सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी भएको छ । बागमतीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन् । खेलको अन्तिमतिर व्याटिङ गर्न आएकी अनु कडायतले महत्वपूर्ण २३ रनको नटआउट पारी खेलिन् ।
१५ बलको सामना गरेकी अनुले एक चौका र एक छक्काको मद्दतमा २३ रनको योगदान दिइन् । यस्तै कप्तान ऋतु कनौजियाले १४ बलम नटआउट १५ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महराले २२ रनको योगदान दिइन् । सुदूरपश्चिमका ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाए ।
सुदूरपश्चिमका मनिषा बोहरा र स्नेहा महरा रन आउट भएका थिए । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक एक विकेट लिए । ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पुरा गर्यो ।
बागमतीका लागि ओपनर हेलिषा गुरुङले नटआउट ५५ रनको महत्वपूर्ण पाली खेलिन् । ५१ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन् । यस्तै लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० रन बनाइन् । बागमतीकी सेविका कुमारी यादवले तीन रनको योगदान दिइन् ।
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महताराले एक एक विकेट लिए । बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन् ।












