चिउरी प्रवर्द्धनमा नेपाली सेना

 

स्काई न्यूज/ असार २, सुर्खेत ।  नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर अहिले चिउरी प्रवर्द्धनमा  जुटेको छ । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगरी जथाभावी चिउरीका रुख काटेर मासिन थालेपछि सेना बहुउपयोगी चिउरी प्रवर्द्धनमा जुटेको हो । चिउरी बहुउपयोगी विरुवा भएपनि संरक्षणतर्फ कसैले ध्यान नदिँदा लोप हुन थालेपछि सेनाले पश्चिम नेपालका पहाडी क्षेत्रका उपयुक्त ठाउँहरुमा चिउरी प्रवर्द्धनमा गर्ने योजना अघि बढाएको छ ।

सेनाले चालु आर्थिक वर्षको अन्त्यसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लामा २ हजार ६ सय २० वटा विरुवा वृक्षारोपण गर्ने लक्ष्य लिएको नयाँ सवुज गण सुर्खेतका प्रमुख सेनानी रुपक थापाले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी दैलेखमा १ हजार ५ सय र सबै भन्दा कम १० वटा चिउरीका विरुवा बाजुरामा रोपिनेछ । ‘हाम्रा अग्रज पुर्खाहरुको कठोर मेहनतले रोपी हुर्काई संरक्षण गरेका चिउरी जस्ता बहुउपयोगी सम्पदा र वंशाणु स्रोतको दिगो संरक्षणमा जुट्नु पर्छ,’ उनले भने, ‘वर्षेनी विभिन्न विरुवाको वृक्षारोपण गरेपनि बहुउपयोगी चिउरीको वृक्षारोपण नगर्दा लोप हुँदै गएकाले प्रवर्द्धन तथा संरक्षण आवश्यक देखियो ।’

उनले जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत रोकथाम तथा नियन्त्रण गर्न चिउरीे प्रवर्द्धन तथा संरक्षण गर्न जरुरी रहेको औल्याए । उनका अनुसार हरित विकासको अवधारणा र जलवायु उत्थानशील विकासलाई टेवा पु¥याउने गरी हरित रोजगारी सिर्जना गर्ने कार्यक्रम समेत ल्याउन आवश्यक देखिन्छ । उनले चिउरीलाई लघु उद्यमको रुपमा विकास गरि खेर गइरहेको स्रोत–साधनबाट आयआर्जनको समेत सम्भावना रहेको जनाए ।

यसैवीच सेनाको नयाँ सवुज गण सुर्खेतले विहीबार वीरेन्द्रनगर स्थित कपासे व्यारेकमा ४ सय चिउरीका विरुवा वृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत मुनबहादुर रावत, नयाँ सवुज गणका प्रमुख सेनानी रुपक थापा, सशस्त्र प्रहरी वल रक्तकाली गणका गणगति विमल डाँगी, सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टलगायतको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा सुर्खेतका प्रजिअ रिजालले युगौंदेखि मानव जीवनसँग प्रत्यक्ष जोडिएको चिउरी जस्तो बहुउपयोगी विरुवा पछिल्लो समय जनचेतनाको अभावमा मासिनेक्रम बढेकाले यसको प्रवर्द्धन तथा संरक्षण अपरिहार्य रहेको औल्याए । यद्यपि ! पछिल्लो समय सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिएपनि अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ ।

चिउरी किन बहुउपयोगी ?
चिउरीबाट घ्यू, मौनवत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पाटबाट टपरी, घाँस, घीउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको छ । एक पाथी अर्थात् चार किलो बीउबाट झण्डै दुई किलो घ्यू उत्पादन हुन्छ । एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ । यो घ्यूको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने अनुसन्धानात्मक लेखहरुमा लेखिएका छन् । साबुन, शरीरमा लगाइने लोसन, कपाल मुलायम बनाउने वस्तु आदि उत्पादनमा चिउरीको घ्यू प्रयोग हुन्छ ।

चकलेट, बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ । चिउरीको बीउ पेलेर निस्कने पिना महत्वपूर्ण कम्पोष्ट मल मानिन्छ । यसैगरी पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ । चिउरीे रैथाने वनस्पति हो । चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका पहाडमा भएको देखिन्छ । चिउरीबाट अहिले वाइन, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भएपनि संरक्षण नहुँदा लोप हुने अवस्थामा छ । चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ ।

मान्छेदेखि मौरीसम्मलाई मख्ख पार्ने चिउरी
चिउरीको फूल, फल र पातसम्म हाम्रो जीवनचर्यामा दैनिक खानपानदेखि व्यवसायसम्मका लागि उपयोगी छ । गाउँघरमा सुत्केरीको मृत्यु भए चिउरी फलको रस खुवाएर शिशु बचाइन्थ्यो भन्ने किंवदन्ती अहिले पनि सुन्न पाइन्छ । पाकेको चिउरीको रसमा दूधमा हुने पौष्टिक पदार्थ हुन्छ । यसको फल चुसेर नै अनिकाल टरेको किस्सा पनि सुनिन्छ । चिउरीकै फलबाट रक्सी समेत बनाउँने चलन छ । चिउरीको बीउबाट घ्यू बनाएर त्यसैको भुटुनमा तरकारी पकाउँछन् । टुकी बाल्नुपर्ने कतिपय ठाउँमा यसकै घ्यूबाट बत्ती बालिन्छ । फिरन्ते भएर हिंड्ने राउटेहरुको जीवनचर्या चिउरीसँग अझ गजबले गाँसिएको देख्न सकिन्छ ।

चिउरीको फल बर्खामा पाक्छ । यसलाई असारे, साउने र भदौरे चिउरी भन्ने गरेको पाइन्छ । देशका अन्य स्थानको तुलनामा पश्चिम नेपालमा चिउरी बढी मात्रामा पाइन्छ । चिउरी २०–२५ मिटरसम्म अग्लो हुने रुख वर्गको वनस्पति हो । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो । चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन । यसको फूलमा मौरी असाध्यै झुम्मिन्छ । तथ्यांक अनुसार चिउरीको फूलको रसमा चिनीको मात्रा ४२ प्रतिशत हुन्छ । यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिन्छ । चुरे क्षेत्रमा पाइने स–साना चराका लागि पनि चिउरीको फूल आकर्षणको केन्द्र हुन्छ । यसको फल पाक्दा चमेराहरु झुण्डमै आउँछन् ।

सडक क्षेत्रमा चिउरी रोपौं
सडक विस्तारका कारण पहाडी क्षेत्रमा भू–क्षय भएर पहिरोको समस्या बढ्दो छ । पहिरो नियन्त्रण गर्न विशेषतः चुरे क्षेत्रमा चिउरी रोप्नु उपयुक्त हुन्छ । किनभने चिउरीलाई मलिलो माटो र हेरचाह चाहिन्न । ढुंगा भएको रुखो तथा भिरालो जमीनमा यो बढी सप्रन्छ । यसको अर्को विशेषता, चैत–वैशाखमा अन्य बोटबिरुवाको पात झर्ने मौसममा यसको बोट हरियो हुन्छ । यसको पात ३५ सेन्टिमिटर लामो र १७ सेन्टिमिटरसम्म चौडा हुन्छ ।

यसको पात गाईबस्तुले मीठो मानेर खान्छन् । हिजोआज खासगरी बाख्रा पालनका लागि चिउरी उपयोगी मानिएको छ । हाम्रा शहरी क्षेत्रका सडकहरुमा प्रायः मसला, धुपी, कपुर आदि विदेशी रुख रोपिन्छ । सडक खण्डमा विदेशी मूलका रुख रोप्ने प्रचलन घटाई आफ्नै ठाउँका चिउरी जस्ता वनस्पति रोप्नु राम्रो हो । विकास–निर्माणका काम थाल्नुअघि वातावरणीय प्रभाव न्यूनीकरण गर्न अध्ययन प्रतिवेदन बुझाउने प्रचलन छ । विकास आयोजनाहरुले रुख काटिएबापत नयाँ बिरुवा रोप्नुपर्ने हुन्छ । हिजोआज विकास–निर्माणमा एउटा रुख वा मुठीभर काण्ड भएको बिरुवा विनाश भए यसको साटो २५ वटा बिरुवा रोप्नुपर्ने र तिनलाई हुर्काउन पहल गर्नुपर्ने प्रावधान छ ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनमा यति संख्यामा रुख काटिन्छन् र यति संख्यामा रुख रोप्नुपर्छ भन्ने लेखिएको हुनुपर्छ । तर, त्यो उल्लिखित प्रावधान विकास–निर्माण गर्ने प्रायः कम्पनी वा निकायले कार्यान्वयन गर्दैनन् । अनुगमन गर्ने व्यक्तिहरुलाई खुशी बनाएर प्रतिवेदन अनुरुप बिरुवा रोपिएको र हुर्काइएको भनी कागजी प्रगति विवरण पेश गर्ने चलन छ । यसबारे स्थानीय क्षेत्रका जनता सचेत हुनुपर्ने हो । तर, उनीहरुलाई यो प्रावधानबारे कमै जानकारी भएकोले विकासे कम्पनीहरुले उन्मुक्ति पाएका छन् । अब खासगरी चुरे तथा मध्य पहाडी क्षेत्रमा बनिरहेका सडक खण्डहरुमा केही वर्ष चिउरी रोप्नुपर्ने प्रावधान बनाउँदा फलदायी हुन्छ । तीनै तहका सरकारले सडक र खोला छेउछाउ, भिराला ढुंगे जमीनमा चिउरी रोप्ने दीर्घकालीन कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ ।

 

Translate »