सुगरका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

आँप कसले कति खाने?

आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ । अहिले आँपको मौसम छ । आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ ।

आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुपर्छ । स्वस्थ र स्वादिलो भन्दैमा जथाभावी केही पनि खान हुँदैन ।

कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खानै हुँदैन पनि भन्छन् । स्याउ खान हुन्छ, आँप खान हुँदैन भन्ने होइन । वा स्याउ खान हुँदैन सुन्तला खान हुन्छ भन्ने पनि होइन । जे पनि धेरै खाएमा सुगर बढ्छ । आँप खाएर सुगर बिग्रिने भन्ने होइन ।

आँपमा शरीरलाई चाहिने धेरै कुरा पाइने भएकाले यसको फाइदा मात्रै छ । बेफाइदा छैन । कुनै पनि फलफूल मात्रा मिलाएर खानुपर्छ । त्यो भनेको बढीमा दुई सय ग्राम (एक पाउ) सम्म खाने हो ।

सुगरका बिरामीले गुलियो मात्रै खान हुँदैन भन्ने होइन । हामीले खाएको सबै खाना भित्र गएर सुगर नै बन्छ

त्यसैले सुगरको बिरामीले खान हुँदैन भन्दा पनि कति खाने भन्ने हो । सुगरका बिरामीले एक दिनमा बढीमा एक सय पचास ग्राम आँप खान मिल्छ । स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ । वा कुनै एकथरी मात्रै खान पनि हुन्छ। तर बढीमा एक सय ५० ग्राम मात्रै खानु राम्रो हो ।


खाने कुरा खानका लागि मोटो वा दुब्लो भन्ने पनि हुँदैन। दुवैले आफूलाई चाहिने मात्रामा खाने हो । हामी सामान्यतया चाहिनेभन्दा अत्यधिक खाना खान्छौं । हाम्रो खुवाइ ठीक छैन । भात धेरै खान्छौं । व्यायाम गर्ने फुर्सद हुँदैन । आफ्नो तौलको ख्याल हुँदैन । यसले गर्दा सुगर मात्रै होइन अन्य रोग समेत लागेको छ  ।

धेरै खानु भनेको रोग बढाउनु हो । धेरै खाएमा मोटोपन बढ्छ । मोटोपन बढेपछि विभिन्न रोग लाग्छ । सन्तुलित आहार खाएमा केही हुँदैन ।

हामी धेरै हल्लाको पछि लागेका हुन्छौं। आफ्नो विज्ञता नभएको विषयमा पनि बोल्नै पर्ने हाम्रो बानी छ । यसबारेमा सोचेर बोल्दा राम्रो हुन्छ । जसले सल्लाह दिएको छ, उसलाई यो कुराको ज्ञान छ कि छैन भनेर हेक्का राख्नुपर्छ ।

सुगर भएका बिरामीले जे खानु हुँदैन, त्यो सुगर नभएकाले पनि खानु हुँदैन। रक्सी, चुरोट, धेरै चिल्लोले कसैलाई पनि राम्रो गर्दैन । स्वस्थ खानेकुरा रोग नभएका र भएका दुवैले खान हुन्छ । दाल, भात, माछा, मासु र सागसब्जी मात्रा मिलाएर सन्तुलित रूपमा खान हुन्छ ।

तपाईं स्वस्थ रहन चाहनु हुन्छ भने आधा पेट खान सुझाव दिन्छु । म अझै यति खान सक्छु भन्ने हुँदैमा उठ्नुपर्छ । बरू दिनमा पाँच-छ पटक खानुहोस्, थोरै खानुहोस् । हरेक दिन आधा घन्टा व्यायाम गर्नुहोस् ।

यत्ति कुरामा ध्यान दियौं भने हामी धेरै रोगबाट बच्न सक्छौं । (सेतो पाटी)

Translate »