चौरजहारीबाट डाईभिङ्ग लाईसेन्स दिने प्रक्रिया शुरु


सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय रुकुम पश्चिम चौरजहारीबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) दिने प्रक्रिया शुरु भएको छ । कार्यालयले मंगलबारदेखि मोटरसाइकल, स्कुटी, अटोरिक्सा (टेम्पु), जीप, कार, डेलिभरी भ्यानको अनलाईन आवेदन फारम खुला गरेको हो । अब चौरजहारीबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) पाउने भएपछि डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यानका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने छन् ।
गत फागुन २१ गते रुकुम पश्चिमको चौरजहारीमा शुभारम्भ गरिएको यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधन कर, ब्लुबुक नविकरण, लाईसेन्स नविकरण, रुटपरमिट, सवारी दर्ता, सवारी नामसारीसँगै कर तथा गैरकर राजश्व असुली कार्य गर्दै आईरहेको छ । कार्यालयले पछिल्लो पाँच महिनामा विभिन्न सेवा प्रवाह गरेवापत सेवाग्राहीबाट ३९ लाख ८९ हजार ६ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख आनन्द चपाईले जानकारी दिए ।


उनले न्यून जनशक्ति र स्रोतसाधनका वावजुद स्थानीय र प्रदेश सरकारको सहयोगले छोटो समयमै कार्यालयले उल्लेखनिय कार्य गर्न सफल भएको बताए । ‘कार्यालयका लागि जग्गा प्राप्ति गरी भवन निर्माण प्रक्रिया अघि बढाएर बजेट विनियोजन प्रदेश सरकारले गरिदिएको छ,’ उनले भने, ‘आफ्नै सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रयाल सेन्टर निर्माणका लागि समेत जग्गा प्राप्ति गरी अहिले ठेक्का प्रक्रिया अघि बढाएका छौं ।’
उनले हालको दरबन्दीले मात्र यातायातका सबै सेवाहरु प्रवाह गर्न असहज हुने हुँदा थप दरबन्दी सृजनाका लागि पहल भईरहेको जनाए । उनका अनुसार अहिले कार्यालय नगरपालिकाको सामुदायिक भवनबाट सञ्चालन हुँदै आएको छ । आफ्नो ट्रायल सेन्टर नहुँदा भाडाको निजी ट्रायल सेन्टरबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को प्रयोगात्मक परीक्षा लिने तयारी भईरहेको उनको भनाइ छ । यसक्षेत्रका नागरिकलाई यो भन्दा अगाडि सुर्खेत, दाङ, नेपालगञ्ज गएर सवारीसाधन दर्ता, नामसारी, लाइसेन्स नवीकरणका काम हुने गरेका थिए । अहिले चौरजहारीबाटै सबै काम हुने गरेका छन ।


