भारत–नेपाल–चीन जोड्ने त्रि–देशीय सडक : तीनमुखे झोलुङ्गे पुल निर्माण गरिँदै


सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक सञ्जाल निर्माण बारेमा फेरी चर्चा शुरु हुन थालेको छ । पश्चिम नेपालको समृद्धिसँग जोडिएको महत्वपूर्ण भारतको तेकुनिया–कतरनिया घाट हुँदै बर्दियाको राजापुर– कैलालीको चिसापानी– सुर्खेतको गुटु– अछामको मंगलसेन– बाजुरा– हुम्लाको हिल्साहुँदै तिब्बत जोड्ने त्रि–देशीय सडक सञ्जाल निर्माणमा सरकारले ध्यान नदिएपछि स्थानीय स्तरबाट दवाव स्वरुप फेरी चर्चा हुन थालेको हो ।
‘सुर्खेत खण्डको चौकुने गाउँपालिकाको गुटुमा अब ४ किलोमिटर सडक निर्माण भए अछामको मंगलसेन जोडिन्छ,’ पञ्चपुरीका नगरपालिकाका समाजसेवी तिलकराम अधिकारीले भने, ‘मंगलसेन–बाजुरा–हुम्लाको हिल्सा हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रि–देशीय सडक सञ्जाल मध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उनले बताए । स्थानीय जनताले दशकौंदेखि कैलालीको चिसापानी– सुर्खेतको गुटुु– अछामको मंगलसेन– बाजुराहुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको भएपनि सुर्खेत तर्फको ४ किलोमिटर ट्¥याक नखुलेकै कारणले अगाडीको काम रोकिएको हो ।
‘अछाम सडक सञ्जालले बाजुरासँग अहिले पनि जोडिएको छ,’ उनले भने, ‘सुर्खेतबाट अछाम हुँदै बाजुरा र हुम्ला हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।’ उक्त सडकलाई स्थानीय जनताले मात्रै नभई केन्द्रले पनि महत्वका साथ हेर्नुपर्ने उनको माग छ । ‘कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँ–गुटुमा सडक विस्तार भएको छ,’ उनले भने, ‘सडकलाई त्रि–देशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग पनि यो सडक जोडिन्छ ।’ उनले हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले सुर्खेतलाई नछुने भएकाले त्रि–देशीय सडक सञ्जाल विस्तारले तराईका जिल्लालाई समेत जोड्न सकिने बताए ।

‘कैलाली–सुर्खेत–अछाम–बाजुरा–हुम्ला सडकले तीन देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ महायोगी सिद्धबाबाले भने, ‘मानसरोवर आएका पर्यटकलाई भेरी–कर्णालीको ¥याफटिङ्गसँगै दैलेख, प्यूठानको स्वर्गद्वारी–गौमुखी हुँदै मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।’ उनले त्रि–देशीय सडक निर्माणका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग सहयोग माग्न सुझाव दिए । उनले समारिक तथा व्यापारीक दृष्टिले अति महत्वपूर्ण मानिएको त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई कर्णाली प्रदेश सरकारले महत्वका साथ अघि बढाउँदा सुदूरपश्चिम भन्दा बढी कर्णालीलाई नै फाइदा पुग्ने जिकिर गरे ।
संघीयता अघि केन्द्र सरकारले केही वर्ष सम्म प्राथमिकतामा राखेपनि फास्ट ट्र¥याक निर्माणका लागि यस क्षेत्रको बलियो जनप्रतिनिधि नहुँदा ओझेलमा पर्दै गईरहेको स्थानीय बताउँछन् । सरकारबाट तीन वर्षदेखि सडक निर्माणमा वेवास्ता गरिँदा सुर्खेतखण्डमा अझै ट¥याक खोल्न बाँकी छ । अब चौकुनेको गुटुदेखि जंगलाघाटसम्मको ट¥याक खोल्न मुख्य चुनौती मानिएको छ । त्यससँगै जंगलाघाटको कणाली नदी माथि मोटरेवल पुल बनाएर सिधा अछामको मंगलसेनसम्म सडक सञ्जाल जोडिन मात्र बाँकी छ ।
कर्णाली कोरिडोरलाई समेत समेट्न गरी उक्त फास्ट ट्र¥याक निर्माण गर्दा त्रि–देशीय सडक सञ्जालको सपना छिट्टै साकार हुने चौकुनेका समाजसेवी लक्ष्मीबहादुर बयकले बताए । घुमाउरो, जोखिमपूर्ण र बढी समयबाट बच्नका लागि सुरुङ मार्गलाई प्राथमिता दिँदा राम्रो हुने उनको भनाइ छ । तराईदेखि हिमाल उत्तर–दक्षिण सीमा सडक जोड्न र व्यापारीक, सामाजिक र राजनीतिकरुपले समावेशी विकासको अवधारणा अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र¥याक निर्माण कार्यलाई गतिदिनु पर्ने स्थानीयको माग छ । उक्त फास्ट ट्र¥याक निर्माण भएपछि अछाम, कैलाली बाजुरा, डोटी र कर्णालीका पाँच जिल्लाका ३० लाख बढी जनता लाभान्वित हुनेछन् ।


दोभानमा तीनमुखे पुल
भेरी–कर्णाली नदी दोभानमा तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अघि बढाईएको छ । महायोगी सिद्धबाबाले पञ्चपुरीको पलाईटेमा आध्यात्मिक तथा धार्मिक पर्यटनलाई प्रोत्साहन दिन शिवशक्ति धामको रुपमा विकास गर्न शुरु गरेपछि पवित्र स्थल भेरी–कर्णाली दोभान सुर्खेतको घाटगाउँ–कुइने–कैलालीको मोहन्याल स्थित सुगरखाल जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अघि बढाईएको हो ।
कुनैबेला पश्चिम नेपालको चर्चित हटारु मार्ग ‘सुर्खेतको जंगलाघाट, गुटु, जामु, तातापानी, कैलालीको कुईने, चिसापानी, कटासे, र बर्दियाको राजापुर ‘डेस्टीनेशन’ गन्तव्यलाई अब धार्मिक पर्यटनको रुपमा समेत विकास गर्न पूर्वाधारमा जनप्रतिनिधिहरुले जोड दिएका छन् । तराईलाई पहाडसँग जोड्न सबै भन्दा छोटो दुरी बनाउनका लागि नदी माथि पुल निर्माण अपरिहार्य बनेपछि पूर्वाधार निर्माणदेखि पर्यटनका विविध आयामसँग जोड्न महायोगी सिद्धबाबाले स्थानीयलाई प्रोत्साहन गरेका हुन् ।
शताब्दीऔंदेखि धार्मिक तथा व्यापारिक पैदल मार्गको रुपमा रहेको जंगलघाट–गुटु–तातापानी–कुइने, चिसापानी र राजापुर मार्गलाई पक्की सडकमा स्तरोन्नती गरि मानसरोवर जाने भारतीय पैदल तिर्थयात्रीलाई आकर्षित गर्न भेरी–कर्णाली दोभानमा तिनमुखे झोलुङ्गे पुल बनाउन लागिएको हो । तीनमुखे झोलुङ्गे पुलले पश्चिम सुर्खेतको पैदल आवागमन सहज र सुलभ हुनुुका साथै पर्यटकीय गतिविधि बढाउन कोसेढुङ्गा सावित हुने स्थानीयको विश्वास छ ।

धार्मिक तथा पर्यटकीय रुपमा प्रख्यात पश्चिम क्षेत्रलाई थप प्रचारप्रसार गर्न भेरी र कर्णाली नदीको दोभानमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि पञ्चपुरी नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । तीनमुखे पुल निर्माणका लागि झोलुङ्गे पुल महाशाखामा गरिएको प्रस्ताव स्वीकृत भएकाले चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न लागिएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए । उनका अनुसार दोभानमा बन्ने पुलले कैलालीको महोन्याल गाउँपालिकाको सुगरखाल, पञ्चपुरीको कुइने र चौकुनेको घाटगाउँ जोड्ने छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र माटो परीक्षणको काम यसै वर्ष सकेर निर्माणको लागि शुरु गरिने योजना रहेको नगर प्रमुख भण्डारीले बताए । उनका अनुसार पुल निर्माणपछि हेर्न आउने पर्यटकहरुलाई भेरी–कर्णाली दोभानको पुलसँगै जुम्लाको चन्दननाथ मन्दिरसम्म पुग्ने धार्मिक करिडोरका रुपमा स्थापित गरिनेछ ।
भेरी–कर्णाली दोभानमा स्नान गरेपछि चौकुने र पञ्चपुरी क्षेत्रका धार्मिक क्षेत्रको अवलोकनसँगै दैलेखको पञ्चकोशी क्षेत्रहुँदै जुम्लासम्म पुग्न सहजताका लागि स्थानीय सडकहरुको पूर्वाधार निर्माणमा अहिले जनप्रतिनिधिहरुले जोड दिईरहेको उनको भनाइ छ । पञ्चपुरीमा जाजुरा दह, गुप्तिताल, चमेरे गुफा, शिवधाम लगायतका एक दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

