बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्दार
बाँके । आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा संंकट परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरिएको जानकारी दिएका छन् । खड्काका अनुसार अधिकांश वन्यजन्तु जीवितै उद्दार गरिएको छ भने केही मृत अवस्थामा उद्दार गरिएको हो ।
सूचना अधिकारी खड्काले जिल्लाका विभिन्न स्थानबाट अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुन गोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघ लगायतका वन्यजन्तुको उद्दार गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार १० वटा अजिंगर, रशियल भाइपर दुई वटा, रेड स्यान्ड बो दुई वटा, मगर गोही चार वटा, गोमन सर्प १२ वटा, चितुवाको बच्चा एक वटा, रातो आसामी बाँदर एक वटा, सुन गोहोरो एक वटा, करेत सर्प एक वटा, निल गाइको बच्चा एक वटा, हुचिल (वान उल) एक वटा, धामन सर्प एक वटा, बँदेल एक वटा (मृत), चितुवा एक वटा (मृत), सालक एक वटा, बाघ एक वटा (मृत) र चित्तलको बच्चा एक वटा उद्दार गरिएको हो ।
जीवितै उद्दार गरिएका वन्यजन्तुहरूलाई बाँकेका विभिन्न सामुदायिक वनहरूमा पुनर्स्थापना गरिएको उनले बततएका छन् । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको तथा मृत उद्दार गरिएका वन्यजन्तुहरूलाई खाल्डो खनेर गाडिएको खड्काले बताए ।
घाइते वन्यजन्तुहरूलाई डिभिजन वन कार्यालयमा राखेर औषधि उपचार पश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जंगल पुनर्स्थापना गरिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७८र०७९ मा विभिन्न प्रजातिका ३१ वटा वन्यजन्तुहरूको उद्दार गरिएको डिभिजन वन कार्यालय बाँकेको अभिलेख रहेको छ ।
जंगलमा आहाराको मात्रा कम हुनु, मानिसहरूको बढी चहलपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु जस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरू आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र परेका त्यसता वन्यजन्तुहरूलाई उद्दार गरिँदै आएको खड्काको भनाइ छ । (रेडियो नेपाल)