किन बढ्दैछ सम्बन्धविच्छेद ?

विवाह एक जन्म–जन्मान्तरको संस्कारको रुपमा लिने गरिन्छ । जो एक पटक जोडिएपछि तोडिँदैन भन्ने पूर्वीय शास्त्रीय मान्यता रहेको छ । विवाह एक सम्झौता पनि हो । व्यवहारका क्रममा सम्झौताका पक्षबीच असमझदारी बढ्यो भने भंग गर्न सकिन्छ भन्ने उत्तरआधुनिक सोचको बीचबाट विवाहको अवस्थालाई वर्तमान पुस्ताले बुझ्ने र अभ्यास गर्ने गरेको छ । वास्तवमा विवाह दुई सक्षम विपरीतलिंगीका बीच (हाल समलिंगी विवाह पनि अभ्यासमा आइसकेको) दाम्पत्य सुखभोगका लागि संस्कारपूर्ण तरिकाले सम्पन्न गरिएको सम्झौतापूर्ण सौहार्द्र सम्बन्ध हो ।  विवाहेतर सम्बन्ध, बढदो महत्वाकांक्षा, अभावको सामना र परस्परको अविश्वासले त्यो असहज अवस्थालाई झन् झ्यांगिने अवस्थामा पु¥याउने गर्छ । फलतः पारिवारिक कलह र हिंसाको तह हुँदै वैवाहिक सम्बन्धविच्छेदका लागि अदालतसम्म आइपुग्ने अवस्था हुन्छ । त्यसले गर्दा पनि स–सानो घरेलु विवादको अवस्थामा पनि प्रतिष्ठा र दम्भको विषय बनाई विच्छेदका लागि अदालत आउने गरेको पाईन्छ । मिलेर बस्न सकिँदैन भने छुट्टिएर बस्नु स्वाभाविक हो । यही मनसाय र उद्देश्यले नै कानूनमा सम्बन्धविच्छेदको व्यवस्था गरिएको हो । तर सँगै मिलेर बस्न सकिने सम्भावनाको खोजी नै नगरी हतारमा छुट्टिन खोज्ने निर्णय अपरिपक्व हो । समस्यालाई समयमै सम्बोधन गरिएन भने ठूलो रूप लिन सक्दछ र बेमेल र हिंसाबाट अर्को ठूलो अपराध जन्मिन पनि सक्छ । त्यसैले समस्याको सहज र समयमै निकास दिनु पनि स्वस्थ र सकारात्मक अभ्यास मानिन्छ । विवाह दुई व्यक्तिको सम्बन्ध, व्यवहार र निर्णयको कुरा मात्र नभई उनीहरूको वैवाहिक सम्बन्धबाट जन्मिएका आश्रित सन्तानहरुको जीवन र भविष्यसँग पनि जोडिने हुँदा विच्छेद गर्दा आश्रित सन्तानहरुको अवस्थामा पर्न सक्ने प्रभावका बारेमा पनि सम्बोधन गरिनुपर्छ ।

कर्णालीमा सम्बन्धविच्छेदका मुद्दामध्ये झण्डै १५ प्रतिशत मुद्दा उमेर नपुगी विवाह गरेका रहेको उच्च अदालत सुर्खेतको तथ्यांक छ । सम्बन्धविच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३० वर्ष भित्रका उमेर समूहको उमेर समूह छ । २०७५ सालयता सुर्खेत जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि २ हजार ६ सय २० मुद्दा परेका छन् । जसमा १ हजार ९ सय ४० जनाको सम्बन्धविच्छेद भइसकेको छ ।  ५ वर्षको अवधिमा डोल्पामा ५२, सल्यानमा ४ सय ८४, हुम्लामा विगत ६२, जाजरकोटमा ५ सय ८५ र जुम्लामा १ सय ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । विवाह विच्छेदका लागि सम्वन्धित विवाहित जोडीमात्र जिम्मेवार हुँदैनन् । उनीहरुका घर परिवार र आफन्तहरुको सोच, व्यवहार, कार्यशैली, पारिवारिक मान्यता र अभ्यासले पनि विच्छेदको मनोविज्ञानलाई मलजल गरिरहेको हुन्छ । युवा पुस्ताको मनोभावलाई नबुझ्नु, संस्कारका नाममा पारिवारिक बन्धनमा राख्न खोज्नु, उ हुर्केको परिवार, सँस्कार र वातावरणको ख्याल नगरेर आफूअनुकूल मात्रै बनाउन खोज्नु र आफूमै आश्रित बनाई राख्न खोज्ने प्रवृत्तिले आफ्नो भविष्यको स्वतन्त्र सम्भावना बोकेको दम्पतीमध्येको एउटालाई त्यो अवस्था असहज लाग्नु र आनन्दित महसुस गर्नुपर्ने वैवाहिक सम्बन्धलाई बोझ महसुस गर्दै जाने अवस्थाले पनि विच्छेदको सम्भावनालाई बल पु¥याइरहेको रहेको हुन्छ । यौनको मामिलामा युवापुस्ता दिन प्रतिदिन उदारीकरणतर्फ उन्मुख हुँदैछ । प्रविधिको सहज पहुँचले त्यो वर्ग पाश्चात्य सभ्यताप्रति आकर्षित हुँदै नजिकिँदै छ । वैदेशिक रोजगार र बढ्दो अन्तर्देशीय आवतजावतका कारण पनि लामो समयसम्म एक अर्कासँग अलग बस्नु पर्ने बाध्यात्मक अवस्थाका दम्पतीहरुमा देखिने यौनसम्बन्धी असमझदारी र आर्थिक व्यवस्थापनका कुराहरुले पनि पछिल्लो समय पारिवारिक विवाद बढ्ने गरेको र परिवार विखन्डनको तहसम्म पुग्ने गरेको देखिन्छ । यो अवस्थालाई पनि समाज मनोविज्ञानको कोणबाट बुझ्नु र विश्लेषण गरिनु जरुरी हुन्छ ।

सजिलै विवाह गर्ने र सजिलै छुट्टिने प्रवृत्तिले विवाहलाई पछिल्लो समय ज्यादै हलुको सम्बन्धको रुपमा लिने प्रचलन बढेको पाईन्छ । क्षणिक भावावेशमा आएर व्यक्तिले लिने अप्रिय निर्णयले पारिवारिक विखण्डन नहोस् भन्ने अभिप्रायले नै सम्बन्धविच्छेद हुने गरी निर्णय गर्नुपर्दा मुद्दा दर्ता भएको एक वर्षपछि मात्र निर्णय गर्नुपर्ने भन्ने कानूनको प्रावधानले पनि अपेक्षित परिणाम दिन सकेको देखिँदैन । अवस्था, परिणाम र प्रभाव सबै विचार गरेर घरमा गरिएका सबै प्रयास सफल नभएपछि विच्छेद भएको न्यायिक घोषणाका लागि मात्र अदालत आइपुगेको जोडीलाई मिलाउने, सम्झाउने नाममा अदालतमा गरिने एक वर्षको समय व्यतित सम्बन्धित पक्षका लागि निरर्थक लाग्ने र त्यो अवधिको मानसिक पीडा र थप हिंसाको जोखिमलाई अदालतले पनि सावधानीका साथ हेरिनु आवस्यक देखिन्छ । विवाहलाई संस्कार मानौं या सम्झौता, यो लौकिक दाम्पत्य सुखभोगका लागि अपरिहार्य छ । यसको स्वर्णीम सुखका लागि सम्बन्धमा आबद्ध दुवैले गहनतम जिम्मेवारीका साथ वैवाहिक सम्बन्धको महत्तालाई महत्व दिँदै सौहार्द्र बनाउनु पर्दछ । त्याग्नु, समर्पण गर्नु, अपनाउनु या अपनत्व बोध गर्नु र समान मर्यादाका साथ सहास्तित्वको जीवनयापन गर्नु दाम्पत्य जीवन जिउने विशेष कला हो । यसलाई अनुपालन गर्न सकियो भयो विवादको समाधान आफैं गर्न सकिन्छ । अदालतबाट त्यस्ता मुद्दाहरुको छिनोफानो गरिनुमात्र समस्याको समाधान होईन । समाजभित्रका सोच र मान्यताहरुमा समयानुकूल सुधार गरौं । शिक्षा र व्यवहारमा बदलाव ल्याऔं । पारिवारिक सदभाव र विश्वासमा जिम्मेवार बनौं । तर यसका बाबजूद पनि समस्याहरु रहन्छन् र देखिन्छन् भने समस्याको समयमै शीघ्र सम्बोधन गरौं ।

Translate »