सुर्खेतमा आपतकालिन प्रतिकार्य तालिम शुरु

सुर्खेत । कर्णालीका विपद् स्वयंसेवी युवाहरुका लागि आपतकालिन प्रतिकार्य व्यवस्थापन सम्बन्धि तालिम शुरु भएको छ ।  प्राकृतिक प्रकोप, आपतविपद्, खोजउद्दार कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले चार दिवसीय तालिम मंगलबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु गरिएको हो ।

सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम (ईच परियोजना) अन्तर्गत आयोजना गरिएको तालिममा प्रदेशका दश जिल्लाका २४ जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका उप–निर्देशक संदीप मगरले जानकारी दिए ।  उनले विपद् जोखिम न्यूनिकरणका लागि समुदायस्तरीय आपतकालिन प्रतिकार्य तालिम मार्फत स्थानीय स्वयंसेवी उद्दारकर्ता तयार गर्नु अर्को उद्देश्य रहेको जनाए ।

उनका अनुसार तालिममा सहभागिहरुलाई आधारभूत खोज तथा उद्दार, प्राथमिक उपचार, सूचना संयन्त्र, मौसम पूर्वानुमान सम्बन्धी सूचना सम्प्रेषण लगायतका बारेमा प्रशिक्षित गरिने छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका उप–निर्देशक जर्नादन पोखरेल र वरिष्ठ अधिकृत सन्तोष न्यौपानेले तालिमका सहभागिहरुलाई प्रशिक्षण तथा सहजीकरण गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य रामलाल आचार्य, कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदी, कर्णाली उपाध्यक्ष सुमन बस्नेत, कर्णाली सदस्य अमृता सापकोटालगायतले आपतकालिन प्रतिकार्य व्यवस्थापन सम्बन्धि तालिमले आपतकालिन कार्यसञ्चालन, मौसम पूर्वकार्य ढाँचा, सूचना संयन्त्र र मौसम पूर्वानुमान सम्बन्धी जानकारी समुदायसम्म पु¥याउन तालिम प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरे ।

रेडक्रस सोसाइटी सुर्खेत जिल्ला सभापती समेत रहेका आचार्यले यस्तो खालको तालिम प्राप्त जनशक्तिको प्रयोगले विपद्को समयमा कम क्षति हुने गरी सुरक्षित रुपमा अस्पतालसम्म पु¥याउन मदत पुग्ने बताए । रेडक्रस कर्णालीका अध्यक्ष सुवेदीले तालिममा भूकम्प, आगलागी लगायत विपद्मा गरिने खोज तथा उद्दार सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणले सहभागिलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेश सदस्य सापकोटाले तालिममा आफूले सिकेको ज्ञान सिपलाई व्यवहारमा उपयोग गर्न सहभागिलाई सुझाव दिईन् । तालिमको शुक्रबार समापन हुनेछ ।

 

Translate »