प्रचार प्रसारको अभावले मुगुको दूध ताल ओझेलमा

मुगु । प्राकृतिक साधन श्रोतले भरिपूर्ण कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु विभिन्न खोला नाला, चंखेली हिमा लगायत विभिन्न ताल तलैयाहरू रहेको सुन्दर जिल्लाको रूपमामा चिनिँदै आएको भए पनि त्यसको उचित प्रचार प्रसारका साथै यातायातको भरपर्दो बिकास नहुँदा सुन्दर प्राकृतिक अनुपम उपहारहरू ओझेलमा पर्दै आएका छन् । त्यस मध्येको अति सुन्दर दुधताल पनि एक हो । जुन ताल मुगु जिल्ला छायाँनाथरारा नगरपालिका वडा नं १४ बाममा पर्दछ । मुगुको सदरमुकाम गमगढी बजार बाट २ घण्टाको पैदल दुरीमा पुगिने बाम गाउँबाट उत्तर दिशामा करिब १ दिनको पैदल यात्रामा दूध ताल पुग्न सकिन्छ । सेतो रङ्गको स्वरूपमा देखिने विशेषता भएको दुधताल अति सुन्दर रमणीय रहेको छ ।

यस दुधताल रहेको स्थानमा भालुदह, जिगुल्या दह राक्षस ताललगायत अन्य धेरै ताल तलैयाहरू पनि रहेको बाम गाउँका स्थानीय बासिन्दाले बताएका छन् । अत्यन्तै रमणीय दुधताल लगायत यहाँ रहेका करिब १ दर्जन तालहरू हिउँद रितुमा ताल भरि बरफ जम्ने र वर्षाको समयमा तालको पुरै भाग दूध जस्तै सेतो देखिने गरेको पाइन्छ । तालको चारैतिर वर्षा रितुमा हरियाली बुकी लगायत सयौँ किसिमका रङ्गी विरङ्गी फुलहरू फुलेको पाइन्छ । सुनसान र अनकन्टारका पखेरामा रहेका ती सुन्दर तालहरू हेर्न जाने जोसुकै पनि मोहित हुने गरेको र ताल वरिपरिको वातावरणको सुन्दरतामा रमाउने गरेकोले त्यसको सुन्दरताको बयान गर्न नसकिले छायानाथ रारा नगरपालिका वडा नं ७ का गजेन्द्र बहादुर शाहीले बताए । बाटोमा जति दुख भएपनि ताल भएको स्थानमा पुग्दा तालको सुन्दरताले बाटोको सबै दुख भुलिने पनि स्थानीय युवा गजेन्द्र बहादुर शाहीले बताए । यस स्थानमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू सुन्दर रमणीय नेपाली एक रुपैयाँको नोटमा समेत छापिएको चंखेली हिमाल पनि घुम्न सकिन्छ । उक्त हिमाल यसै क्षेत्रमा अवस्थित रहेको छ ।

समुन्द्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको चंखेली हिमाल चढ्न आन्तरिक पर्यटकहरू बिस्तारै बढ्न थालेको बाम गाउँका स्थानीय बासिन्दा बताउँछन् । उक्त हिमालबाट मुगु जिल्लाका धेरै बस्तीहरूलगायत सुन्दर रारा तालको पनि दृश्यावलोकन गर्न पाइनछ । चंखेली हिमालका साथै दुधताल घुम्न आउने पर्यटकको लागि गाउँमा ठुला होटेल नभए पनि १० वटा होम स्ट सञ्चालनको क्रममा रहको र उक्त होम स्टेबाट स्थानीय उत्पादनका परिकारहरू मौरीको महसहित फापरको लगड, चिनो, कागुनो र रातो चामलको भात, लोकल खसीको र कुखुराको मास , बाँको र ढोकायाको तरकारी दूध, दहीलगायत जिल्लाकै गुणस्तरयुक्त स्याउ, दाँते ओखर र अन्य अर्गानिक परिकारले स्वागत गर्न सकिने छायाँनाथरारा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष जुनबहादुर बुढाको भनाई छ । उनका अनुसार बाम गाउँमा ३ सय ३३ घरधुरी रहेकोमा यहाँ आउने जोसुकै पर्यटक पाहुनाहरूलाई खानपान र उचित बास स्थानको पनि केही समस्या हुँदैन । बाम गाउँमा भएका १० वटा होम स्टेको लागि कर्णाली प्रदेश सरकारले रु १० लाख बजेट सहयोग गरेको पनि वडा अध्यक्ष खड्काको भनाई छ ।

मुगु घुम्न आउने जोसुकै नागरिकले नेपालगञ्जबाट सतही मार्गबाट गाडीमा मुगु आउनका लागि नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोटदेखि नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजा हुँदै करिब डेढ दिनमा मुगु पुग्न सकिन्छ । भने हवाई मार्गबाट ३५ देखि ४५ मिनेटमा नेपालगञ्जबाट तारा एयर, गोमा एयर, समिट एयर, सिता एयर र नेपाल एयरलाइन्सका जहाजको फ्लाइटबाट मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ । गमगढीबाट बाम गाउँ जीपमा बढीमा १ घण्टाको समयमा पुगिन्छ । बाम गाउँबाट दुधताल पुग्न करिब १ दिनकोको समय लाग्ने र चंखेली हिमाल चढ्नको लागि करिब करिब १ दिनको समयमा लाग्ने गरेको स्थानीयहरूको भनाई छ । मुगु जिल्ला सडक सञ्जालमा जोडिएको करिब १ दशकको समय भइसक्दा पनि नाक्म गमगढी सडकको स्तरोन्नति हुन नसक्दा कच्ची र भिरको बाटोमा यात्रा गर्दा एक चोटि मुगु आएका पर्यटक फेरी नआउने बताउँछन् ।

नाग्म गमगढी सडकको स्तर उन्नतिलगायत मुगुका पर्यटकीय सम्भावना रहेका स्थलहरूको आसपासका गाउँहरूमा होमस्टेको व्यवस्थापन गर्न सकेको खण्डमा समग्र मुगु जिल्लामा पर्यटकको आवागमनमा वृद्धि भई आर्थिक विकासमा टेवा पुग्ने पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताए । मुगु जिल्लाका कैयौँ धार्मिक तथा पर्यटकीय स्थलहरू ओझेल पर्दै आएका छन् । धार्मिक हिसाबले विश्वका चार वटा धामहरू मध्ये मुगु जिल्लाको उत्तरी भेग दोल्फुमा अवस्थित छायानाथ ठाकुरको मन्दिर जुन स्कान्द पुराणमा उल्लेख भए अनुसार सतिदेबिका सबै अङ्ग पतन भएको स्थानको रुपमा लिइन्छ । यस क्षेत्रमा श्रावण महिनाको शुक्ल पक्षदेखि जनैपुर्णिमा सम्म भव्य धार्मिक मेला समेत लाग्ने गर्दछ । (रेडियो नेपाल)

Translate »