जुम्लामा बत्ती अभावले १३ करोडको बहुउद्देश्यीय कोल्डस्टोर प्रयोग विहीन
जुम्ला । जुम्लामा करोडौँ खर्चिएर निर्माण गरिएको कोल्ड स्टोर प्रयोग विहीन भएको छ । जुम्लामा सदरमुकाममा करिब १३ करोड नीजि लगानीमा निर्माण भएको बहुउद्देश्यीय कोल्ड स्टोर बत्ती अभावले प्रयोग विहीन भएको हो ।
कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाईले आफ्नै नीजि लगानीमा कर्णाली प्रदेशकै ठुलो कोल्ड स्टोर निर्माण गरेका हुन् । १० करोड बैंकको ऋण,२ करोड २० लाख व्यक्ति र ८० लाख मात्रै सरकारी अनुदान गरि कुल १३ करोड लगानीमा बहुउद्देश्यीय लिफ्ट सहितको कोल्डस्टोर निर्माण गरेको बताए ।
किसानले काँचो स्याउ बेचिरहेका छन् । परम्परागत रुपमा भण्डारण गरिएका स्याउ मेट्रिक टनका हिसाबले कुहिइरहेका छन् । तर जिल्लामा बनेको १५ हजार किलो स्याउ अट्ने क्षमताको कोल्डस्टोर बत्ती अभावले प्रयोग विहीन भएको छ । यद्यपि राष्ट्रिय प्रसारण लाइन जुम्लामा पुगिसकेको छ । तर कोल्डस्टोर बत्ती अभावले प्रयोग विहीन बनेको छ ।
जिल्लाका किसानको राहतका लागि भनेर जोखिम मोल्दै करोडौँ लगानी गरेर कोल्डस्टोर बनाए । अहिले पश्चातपमा छु । सञ्चालक चौलागाईले भने, ‘कृषि र किसानका लागि जसले केही गर्न खोज्दै छ त्यो व्यक्तिनै राज्यको उपेक्षामा पर्ने रहेछ । निर्माण सम्पन्न भएको वर्ष दिन बित्न लागिसक्यो । तर कोल्डस्टोर बत्ती अभावले सुचारु हुन सकेको छैन । जब सम्म कोल्डस्टोर सुचारु हुन्न तबसम्म काँचो स्याउ निर्यात रोकिन्न ।’
राज्यले अनुदान भन्दा ऋणमा ब्याज अनुदान सहुलियत ऋणको व्यवस्था गर्नु पर्ने तर चर्को ब्याजले ढाड सेकिएको छ । कोल्डस्टोर सञ्चालनमा छैन । लाखौँ ब्याज तिर्नु परेको छ । लगानी गरेको ऋणले प्रतिफल नदिँदा सम्म अर्थात् कोल्डस्टोर सञ्चालन नहुँदा सम्म ब्याज नलाग्ने जस्तो नीतिमा ल्याए आफूजस्ता उद्यमीलाई राहत हुने चौलागाईले बताए ।
बत्ती अभावले प्रयोग विहीन भएको कोल्डस्टोर सञ्चालनमा कुनै सरोकारवालाको ध्यान नपुगेको उहाँको गुनासो छ । गत वर्ष केही किसानको स्याउ खरिद गरि कोल्ड स्टोरमा राख्दा बत्ती अभावले सबै कुहिएपछि करिब २०–२५ लाखको नोक्सान व्यवहोर्नु परेको चौलागाइको दुखेसो छ । यद्यपि अहिले किसानले ’ए’ ग्रेडको स्याउ ल्याएमा किन्ने उनको भनाई छ ।
‘किसानको राहतका लागि भनेर १३ करोड लगानीमा कोल्डस्टोर बनाइयो । अहिले प्रयोग विहीन छ । सरोकारवाला यस विषयमा गम्भीर छैनन् । त्यत्रो लगानी गरेर पश्चात् लागेको छ । कोल्ड स्टोर सञ्चालनमा नआउने,यता महिनामै १५–२० लाख ब्याज बुझाउनु पर्ने बाध्यताले निर्माण गरेको पश्चात्तापमा छु । किसानको हितका लागि केही गर्न खोज्ने हामीजस्तालाई ब्याजमा अनुदान,सहुलियत दिनु पर्ने हो तर राज्य यस्ता विषय अनुदार छ । नक्कली उद्यमी र बिचौलिया फस्टाएका छन् ।’ उनले भने ।
जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको वर्षौ भइसक्यो । कोल्ड स्टोरका लागि करिब ८० किलोवाट क्षमताको बत्ती आवश्यक हो । निःशुल्क बत्ती चाहियो पनि भन्दैन तर बत्तीमा केही सहुलियत हुनु पर्ने आफ्नो माग रहेको सञ्चालक चौलागाईले जानकारी दिए । कोल्डस्टोर सञ्चालनका लागि सरकारबाट सहुलियतमा बत्ती चाहिएको र त्यसका लागि सांसददेखि सबैले पहल गरिदिन उनको आग्रह छ ।
बत्तीमा सहुलियत ब्याजमा अनुदान जस्ता कार्यक्रम ल्याएर हामी जस्ता उद्यमीलाई प्रोत्साहन गर्न सरकारले ठोस नीति ल्याउनु पर्नेमा उनको जोड छ । अनुदानमा सरकारी बजेट दुरुपयोग भइरहेको छ । नेताका नजिकका टाठा बाठाले मात्रै लाभ लिएका छन् । उनले भने, ‘कुनै सहुलियत छ । अनुदान छ । जुम्लामै गरेको लगानी बाहिर गरेको भए करोडौँ कमाई हुन्थ्यो । तर विपन्न किसानको हितका लागि काम गर्न खोज्दा आफै घाटामा गए । राज्य संयन्त्र यस्तै रहेछ भनी चित्त बुझाएको छु ।’
कोल्ड स्टोर नहुँदा काँचो स्याउ विक्री
जुम्लाबाट वर्षेनिक नपाक्दै काँचो स्याउ टिप्ने र बिक्री गर्ने समस्या छ । जिल्लाको पहिचानमै खतरा आउने भन्दै प्रहरी प्रशासन र कृषि कार्यालयले काँचो स्याउ निर्यात रोक्न खोजेपनि असम्भव छ ।
जुम्लाका २० हजार घरधुरीमध्ये १६ हजारबढि घरधुरी स्याउ खेतीमै निर्भर छन् । जिल्लाको आर्थिक समृद्धि र अधिकांश किसानको रोजीरोटी,छोराछोरी पढाउने माध्यम नै स्याउ खेती हो । जुम्लाको ४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ ।
पालिका स्तर संकलन केन्द्र नहुनु, जिल्लामा भएको कोल्डस्टोर प्रयोगमा नआउनु पछि राम्रो मूल्य नपाइनु लगायतका कारणले काँचो स्याउ निर्यात गर्न किसान बाध्य छन् । २०६४ सालमा १४ जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्ग्यानिक जिल्ला घोषणापछि यहाँका हरेक उत्पादनको बजारमा माग बढेको हो ।
उत्पादन बढेपनि किसानले अपेक्षित लाभ लिन सकेका छैनन् । स्याउ उत्पादनको अनुपातमा जिल्लामा आर्थिक भित्रिन सकेको छैन । जिल्लामै व्यवस्थित भण्डारण गरेर कार्तिक पछि मात्रै स्याउ निर्यात गर्न सके चिन भारतको स्याउ आयातलाई पनि रोक्न सक्ने मूल्य पनि राम्रै पाईने सम्भावना छ ।
वर्षेनिक काँचो स्याउ बिक्री हुनु,ठुलो मात्रामा जिल्लामै स्याउ थन्किने र कुहिएर खेर जानू,ढिलो गएको स्याउले मूल्य नपाउनु मुख्य कारण नै पालिकामा नहुनु र जिल्लामा भएको कोल्डस्टोर प्रयोगमा नआउनु हो ।
स्याउ उत्पादनको राजधानी मानिने जुम्लाका आठै पालिकामा मध्यम खालका कोल्ड स्टोर बन्नु पर्ने हो । सङ्घीय तथा प्रदेश सरकारले कृषि अन्तर्गत स्याउको उत्पादन वृद्धि,भण्डारण तथा बजारीकरणका लागि ठोस नीति र लगानी गर्नु पर्ने हो । तर अहिले सम्म जुम्लाको स्याउको उत्पादन वृद्धि र उचित भण्डार (कोल्ड स्टोर) निर्माणका लागि तीनै तहका सरकारले सुक्को लगानी गरेका छैनन् ।
आफ्नै लगानीको कोल्डस्टोर निर्माण नगरेपनि जुम्लामा करोडौँ खर्चेर नीजि लगानीमा निर्माण भएको कोल्डस्टोर किन सञ्चालनमा आएन ? के समस्या छन् ? कसरी सुचारु गर्ने ? काँचो स्याउको निर्यात कसरी रोक्ने ठोस नीति र योजना नै छैन । जसका कारण जुम्लामा करोडौँ खर्चिएर निर्माण भएको बहुउद्देश्यीय कोल्डस्टोर प्रयोग हुँदै जाँदा काँचो स्याउको निर्यात गर्न किसान बाध्य छन् । कोल्डस्टोर नभएकै कारण जुम्लामा ६ वर्षको अवधिमा मात्रै ७८ मेट्रिकटन स्याउन घरमै कुहिएर खेर गएको सरकारी तथ्यांक छ । रेडियो नेपाल