कर्णालीमा दश प्रतिशत युवा सहभागिता सुनिश्चित गरिनेछ : सचिव लेखराज भट्ट

सुर्खेत । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको कर्णाली प्रदेश समितिमा दश प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आगामी असोज १० र ११ गते हुने प्रथम अधिबेशनको लोगो सार्वजनिक गर्दै उनले अधिवेशनका लागि छनौट भएका प्रतिनिधि मध्ये एक तिहाई महिलाको संख्या अनिवार्य गरिएको समेत जानकारी दिए ।
प्रदेश इन्चार्ज भट्टले प्रथम कर्णाली प्रदेश अधिवेशनका लागि ६ सय ५० जना प्रतिनिधि तोकिएका मध्ये दलित, आदीबासी जनजाती, अल्पसंख्यकलाई प्रमुख प्राथमिकता राखिएको बताए ।
लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रुपमा चर्चा गर्न नमिल्ने भन्दै उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले कर्णाली प्रदेशमा समेत प्रतिस्पर्धाको आधारमा कमिटी निर्वाचित हुने जानकारी दिए ।

उनले लोकतान्त्रिक परिपाटीमा पतिस्पर्धा गर्ने अधिकार सबैलाई भएकाले कर्णालीमा नेतृत्वका आकांक्षी धेरै हुनु स्वाभाविक भएको बताए ।
कार्यक्रममा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट हुने जानकारी दिए ।
उनले उद्घाटन सत्रमा कर्णाली प्रदेश कमिटीको मुखपत्र ‘कर्णाली’ समेत सार्वजनिक गरिने बताए ।