विपद्पूर्व तयारीमा जुटौं !

मौसमजन्य प्राकृतिक प्रकोपका घटनाहरुबाट धेरै धनजनको क्षति हुँदै आएको छ । सुर्खेत जिल्लाको कमजोर भूबनोट, चुरे क्षेत्रको प्रचुरता, अव्यवस्थित बसोवास, तीब्र वन फडानी, अतिवृष्टि, अनावृष्टि आदिका कारणले विपद् तथा जोखिमका घटनाहरु वृद्धि भइरहको छ । भू–बनोटको आधारमा सुर्खेत जिल्लालाई अध्ययन विश्लेषण गर्ने हो भने यहाँको भौगोलिक अवस्थितिलाई गहिरा नदी र खोलाले सदिऔंदेखि चिर्दै लगेको पहाडी जिल्लाको रुपमा हेर्नुपर्ने हुन्छ । यस अवस्थालाई दृष्टिगत गरी बाढीपहिरो, आगालागी, महामारी र सडक दुर्घटना सुर्खेत जिल्लाका मुख्य विपद् पार्ने घटनाहरु हुन् । विगत केही वर्षदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना हुँदै आएका छन् । सुर्खेतमा २०७१ सालमा आएको भीषण बाढीको प्रकोपबाट यस जिल्लाले धनजनको ठूलो मात्रामा क्षति व्यहोर्नु परेको थियो । सोही वर्षको बाढी पहिरोबाट पिडित करिव २०० परिवार हालसम्म पनि विभिन्न अस्थायी शिविरमा रहेको अवस्था छ । जिल्लामा विपद् व्यवस्थापन कार्य व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुको प्रभावकारी सहयोग र समन्वय जुटाउन औपचारिक संयन्त्र मात्र होइन, अब विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा दिर्घकालिन बनाउनु पर्छ । किनभने विपद् भनेर आउने होइन । विपद् कुन ठाउँमा कसरी आउँछ, थाहा हुँदैन ।

त्यसैले निरन्तर विपद् पूर्वतयारीका लागि आवश्यक शिक्षा, सचेतना, छलफल तथा सहकार्य, विगतका भोगाई तथा सिकाई अनुभव समेतबाट यो विपद प्रतिकार्य योजना तयार पार्नु पर्छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबै निकायवीच आपसी सहयोग, सद्भाव र समन्वय बनाई राख्नु पर्छ । २०७२ को भूकम्पबाट पाठ सिकेर उद्दार, राहत र व्यवस्थापनमा एकद्वार प्रणालीबाट काम गर्ने नीति बनाईनु उपयुक्त हुन्छ । विपद् व्यवस्थापन जस्तो कार्यका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिएर आफ्ना स्वयम्सेवकहरु उद्दारमा खटिने लायकको बनाउनु पर्छ । यद्यपि ! नेपाली राजनीति दलहरुमा त्यो कार्य हुन सकेको छैन । यदी कुनैपनि प्रकारको विपद् आईलागे घाइते भएकाको उद्दार, निःशुल्क तथा प्रभावकारी उपचार र राहत एवम् खोजीमा सरकारलाई राजनीतिक दल तथा सबै संघसंस्थाहरुले क्रियाशीलता देखाउन जरुरी छ । विपद्बाट प्रभावित समुदायलाई सहयोगको आवश्यकता पर्दछ र सहयोग कार्यलाई जतिसक्दो छिटो र छरितो गराउनु पर्दछ जसले गर्दा थप क्षति हुनबाट बचाउन सकिन्छ ।

विपद् व्यवस्थापनका प्रायः दुईवटा चरण हुन्छन् । पहिलो चरण विपद् अघि गरिने व्यवस्थापन पूर्वतयारी र क्षति न्यूनीकरणका कार्यहरु पर्दछन् भने दोश्रो चरणमा विपद् पछिको उद्दार तथा राहत, पुनस्र्थापना र पुनर्निमाणका गतिविधिहरु, राहत प्रतिकार्यमा गरिने लगानी र प्रतिफलभन्दा विपद्पूर्व न्यूनीकरण र पूर्वतयारीका गतिविधिहरु संचालन गर्न सकिएमा विपद्पश्चात हुने असरलाई कम गराउनसकिन्छ भन्ने मान्यता अध्ययनहरूले देखाएको छ । साथै भूगर्वविद्हरुले यस क्षेत्रमा ठूलो पराकम्पको सम्भावना रहेको आकलन गरेकाले थप सतर्कता अपनाइनुपर्छ । सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातल भएको भू–भागले बनेको पहाडी जिल्ला हो । विपद्को घटना हुनु पूर्व नैयथोचित प्रयत्न गरियो भने मानव सिर्जित प्रकोप र प्रकृति सिर्जित प्रकोप जस्तैः बाढीपहिरो, भूकम्प, आगजनी, महामारी, सुख्खा खडेरी, चट्टयाङ, सडक दुर्घटना, तुसारो (शीत लहर) आदिको असरलाई कम गर्न र ठूलो धनजनको नोक्सानीबाट बचाउन सकिन्छ । विपद्लाई टार्न नसकिए पनि विपदको प्रभाव न्यून गर्न पूर्वतयारी गर्नु नै उत्तम विकल्प हो । जिल्लामा विभिन्न अध्ययन तथा प्रयोगबाट विपद्पूर्वतयारीका क्रियाकलापले मानवीय क्षति न्यून गर्न सकिने कुरा प्रमाणित भएको छ । त्यसैले समयमै विपद् पूर्व तयारीमा जुटौं ।

Translate »