भूकम्पबाट पाठ सिखौं !

नेपाल भूकम्पीय जोखिममा रहेका मुलुकहरुमध्ये प्रमुखमै पर्छ । त्यसैले यहाँ भूकम्पका झट्का प्रायः गइरहेका हुन्छन् । तर, भूकम्पबाट हुने क्षतिबारे सरकार सचेत भएको देखिदैन् । २०७२ सालमा गएको गोर्खा भूकम्पले जनधनको ठूलो क्षति भएपनि त्यसबाट पाठ सिकेर यसबाट हुने जोखिम कम गर्न कतैपनि प्रभावकारी काम गरेको देखिँदैन । पश्चिम नेपालमा विगत ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले यसक्षेत्रमा ठूलो भूकम्प आउन सक्ने चेतावनी भूगर्भविद्हरुले ५ वर्ष पहिलेदेखि नै दिँदै आएका थिए । नभन्दै शुक्रवार राति जाजरकोटमा ठूलो भूकम्प गयो जसबाट डेढ सयभन्दा बढीको ज्यान गएको छ भने माटाले बनेका प्रायः सबै घर ध्वस्त भएका छन् । त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न मापदण्ड तयार गर्नुका साथै पूर्वतयारीलाई पनि प्रभावकारी बनाउनु आवश्यक देखिएको छ । भूकम्पीय जोखिम उच्च भएपनि कहिले कुन ठाउँमा कति रेक्टर स्केलको भूकम्प जाने हो ठेगाना हुँदैन । भूकम्प जाने कुरालाई कसैले पनि रोक्न सक्दैन । तर, अलिकति होसविचार गर्ने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ ।

वास्तवमा भूकम्प आफैले न मानवीय क्षति पु¥याउने हो न त भौतिक क्षति नै पु¥याउने हो । यस्तो क्षति पुग्नुको कारण मानिस नै हो । कमजोर पूर्वाधार बनाउने तथा भूकम्प आउँदा र आएपछि गर्नुपर्ने कामबारे नजानेर पनि धेरैको धनमाल र जिउज्यानको नोक्सान भएको पाइन्छ । त्यसैले यस्तो क्षतिमा प्रकृतिलाई दोष दिनु हुँदैन । नेपालमा बारम्बार प्राकृतिक प्रकोपका घटना भइरहेका हुन्छन् । यस्ता घटना न्यूनीकरणका उपाय बनाउन एकातिर आवश्यक देखिन्छ भने अर्कातिर क्षति भइसकेपछि प्रभावितको उद्दार, सहयोग र पुनःस्थापना निकै जटिल देखिएको छ । भूकम्पबाट हुने सबै क्षति भनेको कमजोर घर निर्माण नै हो । पश्चिम क्षेत्रमा माटाले बनेका घरहरु बढी भएकाले नै जाजरकोट र रुकुममा बढी क्षति भएको देखिन्छ । भूकम्प फेरि–फेरि पनि आइरहन सक्छ । भूकम्पबाट हुने क्षति कम गर्न सरकारले भवन निर्माण आचारसंहिता पनि तयार गरेर लागू गरेपनि कडाईले कार्यान्वयन भएको छैन् ।

कस्ता घर निर्माण गर्ने, कति ठूला निर्माण गर्ने ? कति पुराना भएपछि पुनः नयाँ बनाउने, घर बनाउने ठाउँ कस्तो हुनुपर्ने ? जस्ता कुरालाई अब बेवास्ता गर्नु हुँदैन । नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी बनाउन सकिएला, तर पुराना घरका बारेमा के गर्ने भन्ने कुरामा सरकारले कुनै नीति लिएको छैन । भूकम्पबाट पाठ सिकेर यी क्षेत्रमा पनि पुराना घरको सट्टा नयाँ भूकम्प प्रतिरोधी घर बनाउन प्रोत्साहित गरेको भए अहिले क्षति कम हुन्थ्यो । अझै पनि ग्रामीण भेगमा त्यस्ता घरहरु प्रशस्त छन् । नयाँ घर पनि बनिरहेका छन् । माटोले बनाए पनि सिमेन्टले बनाए पनि भूकम्पप्रतिरोधी घर बनाउन अनिवार्य गर्ने र पुराना घरलाई सबलीकरण गर्ने वा आवश्यक परे नयाँ बनाउन सरकारले सहयोग गर्ने नीति लिनु आवश्यक देखिन्छ । भूकम्पबाट नेपालले ठूलै क्षति ब्यहोरिसकेको छ । तर, अझै पनि शहरी क्षेत्रमा समेत भवन निर्माणको आचारसंहिता पालना नगरेको पाइन्छ । सरकारले लागू गरेको भवन निर्माण संहिता हरेक पालिका र वडाले कडाइका साथ लागू गर्नुपर्छ । घर ठूला होइन सुरक्षित बनाउनुपर्छ भन्ने सोचको विकास हुनुपर्छ ।

Translate »