सुर्खेतको प्रदेश र बाँकेको भेरी अस्पतालमा गरी १६ जना भूकम्पका घाइतेको शल्यक्रिया

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते १६ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरुको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम) का घाइतेलाई शनिवारबाट प्रदेश अस्पताल सुर्खेत र नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको थियो ।

घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अहिलेसम्म घाइते १६ जनाको शल्यक्रिया गरिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए । प्रदेश अस्पताल विकास समितिका अध्यक्ष पे्रमबहादुर घलेले भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिएको बताए ।

शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा छन् । प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पतालमा अहिलेसम्म १०२ जना घाइते उपचारका लागि आइसकेका छन् । तीमध्ये एक जना घाइतेको भेरी अस्पताल पु¥याउने क्रममा बाटोमै मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएकामध्ये सुर्खेतबाट १ जना र भेरीबाट ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

अहिले प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगञ्जमा गरी कुल ४ जना घाइतेको स्वास्थ्य अवस्था जटिल छ । २८ जना निको भएर डिष्चार्ज भएका छन् । भेरी अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रुपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीको अहिलेसम्म गरिसकेको अस्पतालले जनाएको छ । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ ।

Translate »