खाद्य व्यापारद्वारा बर्दियाको राजापुरबाट २० प्रतिशत मात्र धान खरिद


बर्दिया । खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरमा गत असोज २९ गतेदेखि हालसम्म २० प्रतिशत मात्र धान खरिद भएको छ । यस वर्ष धान खरिद ९५ हजार क्विन्टलको लक्ष्य छ ।
व्यापार केन्द्र,राजापुरका मुख्य शाखा प्रमुख रामसागर मेहेताका अनुसार मङ्सिर २० गते सम्म धान खरिद १८ हजार ८ सय ५७ क्विन्टल खरिद भएको छ । यसवर्ष बर्दियामा धानको उत्पादन बढेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय,बर्दियाले जनाएको छ ।
जिल्लामा ५१ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । यस वर्ष २ लाख २५ हजार ४ सय ५० क्विन्टल धान उत्पादन भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय,बर्दियाका प्रमुख सागर ढकालले जानकारी गराउनु भयो।

धानको उत्पादन बढेपनि व्यापारीले मनपरी खरिद गर्दा घटेको खाद्य तथा व्यापार केन्द्रको खरिद कम भएको कर्मचारीहरूको अनुमान छ । गतवर्ष पनि लक्ष्य ५० हजार भएपनि २३ हजार मात्र धान खरिद भएको खाद्यले जनाएको छ ।
कतिपय किसानले धानको मूल्य बढ्ने भन्दै घरमै राखेको हुन सक्ने अनुमान गरिएको राजापुर–३, का किसान जयराम थारुले बताए । कतिपय किसानले व्यापारीलाई बेचेकाले पनि खाद्यमा खरिद कम भएको हुन सक्ने स्थानीय बताउँछन् ।

