शे-फोक्सुण्डो यात्रा संस्मरण

आज मिति  २०८१/०२/१९ गतेको दिन मनमा छुटै खुलदुली छ । भोलि बिहानै शे-फोक्सुण्डो यात्रामा निस्किने कुरा मानसपटलमा राखी सुतेकोमा विहान सखारै निन्द्रादे‌विको काखबाट उठीयो । यात्राका लागि चाहिने अति आवश्यक सर-समानको वन्दोवस्त मिलायौँ । विहानको ११:१५ बजे शे-फोक्सुण्डो लागि “यात्रा एक दृश्य अनेक” भनी म लगायत सबैजना यात्राको लागि तयार भयौ । हाम्रो यात्रा सुर्खेतको छिन्चु, वालुवा सङ्ग्रहीहुँदै सल्यानको कुपिण्डे दहको मनोरम दृश्यमा रमाउन पुग्यो । कुपिण्डे दहमा तस्बिर लिई हाम्रो यात्रासल्यान जिल्लाको सदरमुकाम तर्फ लाग्यो । बाटोमा गुँहेली, काफल, ऐसैलु चुत्रा, आलुवखडाको स्वाद लिँदै सल्लाघारीको सिरसिर हावाको समधुर आवाज र  बाटोमा देखिने टिमुर, सुन्तला बगानको दृष्यहरुलाई आँखाले नियाल्दै सल्यानको सदरमुकाम पुग्यौँ । सल्यान सदरमुकाम खलगाको रमाइ‌लो दृश्यहरुले मनलाई लोभायो । हामी सल्यान सदरमुकाम खलगाबाट तल श्रीनगर राप्ती राजमार्गको बाटो लाग्यौ । राप्ती राजमार्गको बराला भन्ने ठाउको एलिसा होटलमा दिउसोको खाजा खाइयो । एलिसा होटलका साहुजी वर्ष ६०/६५ जति भए पनि फुर्तिला र बडा चतुर देखिन्थे । उनको होटल व्यवस्थापन, होटलमा आउने ग्राहकलाई गर्ने सत्कार धेरै राम्रो रहेछ । बागचौर नगरपालिकाका सुन्तला बगैँचा हैर्दै हाम्रो यात्रा सल्यानको सिद्धकुमाख तर्फ मोडियो । कुमाख गाउँपालिका हुँदै दार्मा गाउँपालिका तर्फ लाग्यौँ । सल्यान जिल्लाका विभिन्न रमणीय स्थान अवलोकन पछि रुकुम पश्चिचको चौरजहारी नगरपालिका पुगियो । भेरी नदिको किनारमा अवस्थित तथा भौगोलिक दृष्टिकोण अति रमणीय चौरजहारी पर्यटकीय क्षेत्र हुने सम्भावना बोकेको सारै रमाइलो एवं मनोरम छ । देश संघीयतामा गएपछि गाउँघरमा भएको विकास नमूनाको रुपमा चौरजहारीलाई देख्न पाइन्छ ।तथापि पुरानो चौरजहारी विमानस्थल संचालन भएको पाईएन। चौरजहारी नगरपालिका हुँदै रुकुमपश्चिमकै आठविसकोट नगरपालिकाको रिम्ना दोभानहुँदै साँझ पखको बसाई जाजरकोटको सदरमुकामखलङ्गा (भेरी नगरपालिका) भयो । आजको यात्रामा मलाइ कहिल्यै नभएको गाडीको यात्रा लाग्यो ।सायद खानपान र रातिको निन्द्रा नपुगेर होला ।आजको यात्रा कल्पना नगरेको गाडीको यात्राभर मनलाई भारी बनाई रहयो ।बाटोमा बेलुका पख पानि परेको र हावाहुरी चलिरहेको कारण सबैलाई अलि कठिन र असहज भएको महसुस भयो ।

यात्राको दोश्रो दिन विहानपख जाजरकोट जिल्लाको सदरमुकाम हाल जिल्ला प्रशासन कार्यालय रहेको स्थानमा पुग्यौँ । वि.सं. १८५२ मा निर्माण गरिएको जाजरकोटदरबार वि.सं. १९९० बाट यता ३ पटक भुकम्पले क्षेति भईसकेको रहेछ । योआफ्नैमौलिकता, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको पुर्खाको नासोको रुपमा रहेको पाइयो । वि.सं. २०८०/०७/१७ गते जाजरकोट र रुकुम पशिचममा गएकोभुकम्पले चिराचिरा पारेकोले पुनर्निर्माणको पर्खाइमा यो दरबार रहेको छ । जाजरकोटको सदरमुकामका सुन्दर दृष्यहरु नियाल्दै हाम्रो यात्रा अब गन्तव्य डोल्पाको लागि अघि बढ्यो । ठूलीभेरी र सानीभेरीको सङ्गमस्थल रिम्ना दोभान बिहान ८.३० बजे पुगियो । विहानपखको हल्का खाजानास्ता रिम्नामा भयो र हाम्रो यात्रा डोल्पातर्फ ठूलीभेरी नदिको छेवैछेउ मानसपटलमा प्रकृतिका सुन्दर दृष्यहरुको मानचित्र कोर्दै  बनाउँदै अगाडी बढ्दै गयो।

वरिपरी ठुला-ठुला पहाड भेरी नदिको किनारै किनारबाटो छिचोल्दै पश्चिम रुकुमका केही भु-भाग छिचोल्दै डोल्पा जिल्लातर्फ लाग्यौँ । यात्रामा विभिन्न थरिथरिका रङ्गीविरङ्ग‌ी चिजहरु देख्न पाइयो । बिहानको ११.३० बजे जाजरकोटको तल्लुबगर पुगियो र आज बिहानको खाना हामीले तल्लुबगरमा खायौ ।सायद सबैलाई भोक लागेर होला खानाको बारेमा कसैले गुनासो गरेको सुनिएन तर हिजो बेलुकाको जाजरकोट सदरमुकामको बसाइ र खानाको बारेमा सबैको मनमा केहि खिन्नता भएको आभास थियो । यो यात्रा मेरा लागि दोस्रो पटक भएपनि आदरणीय रोयल सर र खनाल दाजु लगायत अरु यात्रीको लागि भने पहिलो पटक थियो ।उहाहरुको लागि बुच्काबुच्की भीर, डाँडा, पाखा नदिनालाका दृश्य र परिदृश्यहरु सबै नयाँ थिए । त्यो बारे उहाँहरुका अनुहारै भरी फैलिएका तरङ्ग र उत्साह बाट प्रष्ट हुन्थ्यो । त्यसैले जति सक्दो त्यहाँको हावा पानी, मन र माटोलाई खोतल्दै यात्रालाई जीवन्त परिपक्क वनाउन खनाल दाजुले टिमुरको सुगन्ध लिँदै देउडा गीतको लयमा रमाइला टुक्का र  रोयल सरको मिठो मुस्कान सहित आनन्द बनाउने कुराले यात्रा अझ अविस्मरणीय बन्यो । सडकको छेउछाउमा पाइएको कलिलो सिस्नोले सबैको मन लोभ्भायो र कलिलो सिस्नोको टुप्पा टिपी हरियो सागसब्जीको रहर आज बेलुका डोल्पा सदरमुकाम पुगेर मेटाउने कुरामा सबैको सहमति भयो र हामी एकैछिन गाडी रोकेर टिप्न थालयौ । कलिलो सिस्नोको टुप्पा टिप्न रोयल सरको सारै मन लगाउनु भयो र भेरी नदि वरीपरिका परिदृश्यहरु‌लाई नियाल्दै, पहाडको फेदीमा रहेका सडक सन्जाल जोडिएपछि बनेका स-साना पसलमा स्थानीय खानाकोस्वाद लिँदै रमाइ‌लो गफगाफ्मा हाम्रो यात्रा झुमियो । यसरी रमाइलो दृश्य परिदृश्यसँग रमाउदै, ठाउँ ठाउमा यात्रालाई अविस्मरणीय बनाउन तस्विरहरु लिदै हामी डोल्पा सद‌रमुकाम दुनै बेलुका ६.३० बजे पुग्यौ र हाम्रो आजको बास सद‌रमुकाम दुनैमा भयो।

आज हाम्रो यात्राको तेस्रो दिन बिहानपखको सुर्यको लालीकिरण सहित दुनै बजार वरिपरी घुम्यौँ । भेरी नदिको किनारमा अवस्थित दुनै बजार शान्त, सुन्दर र सफा थियो । दुनै सदरयुकाम पछिको हाम्रो यात्रा विस्तारै शे-फोक्सुण्डो तिर पैदल मार्गमा लाग्यौँ । शे-फोक्सुण्डो तालबाट उद्गम भएको सुलिगाड खोलाको अन्तिम बिन्दु तल भेरी नदीको र सुलिगाड खोलाको संगम स्थान नेपाली सेनाको ब्यारेकबाट हामी अब शे-फोक्सुण्डो तिर आगाडी बढयौ र यात्राको शुरुवात नैसिमसिम पानी परेकोले केहीबेर हामी त्यतै प्रतिक्षालयम ओत लाग्नुपर्ने भयो । जेठ महिनाको समय भएकोले हामी कसैले आकासको पानीले सताउने कुराको विचार गरेको पाइएन र छाता, ओढने प्लास्टिकको जोहो गर्न हाम्रो ब्यस्थापक सरलाई केहि गारो भएको महसुस भयो । यात्रामा सहभागी सबै कोशे-फोक्सुण्डो पुग्ने एकमात्र लक्ष्य भएकोले पानी केही हल्का भएपछि ओढने प्लास्टिक हात हातमा लिई शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयहुँदै तेर्सो तेर्सो बाटो, सुलिगाड खोलाको पानीको छयांगछयांग आवाजले मनलाई हलुका बनाउदै हाम्रो यात्रा कागेनी तिर लाग्यो । कागेनिमा दिउसोको चिया खाजा गरि साँझपख सालटाङबस्न पुग्नु पर्ने भएकोले हामी यात्रालाई वारिपरिका प्राकृतिक दृष्यहरु, कतिपय ठाउँमा हरियाली विहिन भएतापनी शब्दले बयान गर्नै नसकिने अति नै सुन्दर बादल माथि देखिनेडाँडा चुचुरोको रमाइलो बाताबरण नियाल्दै अगाडी बढियो । कागेनि रसाल दाङको बीचमा कतै पनि बासस्थान नभएकोले यात्रालाई की कागेनि बस्ने गरि की सालटाङ पुग्ने गरि समय मिलाउदा सजिलो हुने देखियो । हाम्रो यात्रामा ४५/५० वर्ष काटेका जोडीहरु पनि हुनुहुन्थ्यो । उहाँहरूको माया, प्रेम देख्दा र हिँडाई देख्दा २०/२५ वर्षे युवायुवती भन्दा कम देखिनु भएको थिएन । हातमा घडि थियो तर समय बहुतै कम थियो । रात परिसकेकोले मोबाइलको साहारा लिँदै “यात्रा रहेछ जिन्दगी” भन्दै गुनगुनाउँदै अघिबढि रह्यौँ । दिउसो सिमसिम पानी परेको र अन्य कुराको जोहो गर्नुपर्ने भएकोले हाम्रो यात्रा डोल्पा सद‌मुकाम दुनैबाट दिउसो अलि अबेर ३ बजेतिर सुरु भएको हुनाले सालटाङ पुग्न हामीलाई रात परिसकेको थियो र मोबाइलको उज्यालोमा हामी बेलुका ८.३० बजे सालदाङमा बास बस्न पुगियो ।


आज हाम्रो यात्राको चौथो दिन बिहान ७ बजे तिर निस्कियौ ।यो यात्रामा सहभागी ५२/५३ वर्षकी आमा अघि अघि हिँड्दा हामीहरूमा पनि हिँड्न जोस जाँगर उत्तिकै थियो । खनाल दाजुले गुनगुन गरी गितगुनगुनाउदा मैले पनि अचम्मै रमाइलो मान्थेँ । यात्रा रोचक रमणीय रुप‌मा अगाडी बढ्यो । विहान सालटाङ देखि भिडियो, फोटो खिच्दै कताकति डाँडाहरुका हरियाली क्यामेरामा कैद गर्दै हामी छेप्का भन्ने ठाउमा पुगियो र चिया खाजा खायौँ । कतिपय बाटामा उवा, फापर लगायतका खेती गरिँदो रहेछ । स्याउ, ओखर, आलुवखडा, लगायतका वोटविरुवाहरु देख्न पाइयो । आजको विहानपखको खाना पाहुना घर रेयाचीमा १ बजेतिर  भयो । खानामा सिमिको दाल, आलुको तरकारी,रायोको साग थियो र सबैलाई भोक लागेकोले राम्रै संग खाना खाइयो । अबको यात्रा शे-फोक्सुण्डो तालमा आज पुग्ने लक्ष्य साथ् अघि बढ्यो । रेयाचीमा हाम्रो यात्रामा सहभागी  बुढीआमाको खुट्टा दुखेको कुरा सुनाउनु भयो र यो कुराले मनमा बाटोमा समस्या झन् भयो भने के गर्ने होला भन्ने कुराले चिन्तित बनायो ।फोन सम्पर्क हुन् नसक्ने ठाउँ र तीन चार घन्टाको यात्रा नगरी बाटोमा कहिँ कतै बासस्थान नपाउने, मानिसहरुको आवतजावत एकदम कम हुने भएकोले शे-फोक्सुण्डो यात्रामा आफुलाई चाहिने औषधि, हल्का खानेकुरा, न्यानो कपडा, लठ्ठी अनिवार्य लिनुपर्ने हुन्छ । बाटोमा शे-फोक्सुण्डो ताल पुगेर फर्केका मानिसहरु भेटिन्थे र आमाको खुट्टाको समस्याले पुग्न सक्नु हुन्न, बाटो सारै अप्ठ्यारो छ भएको सुन्दा त आमा एकपल्ट निराश देखिनु भएको थियो तर रोयल सरको जसरी भएपनि पुगाउने कुराले आमाको मनमा साहस बढेको पाईन्थ्यो । शे-फोक्सुण्डो ताल पुग्न लगभग डेढ घन्टा जति नजिक थियौ, हावा सहित आकासबाट पानी पर्यो । हावा पनि आफ्नै गतिमा लागेको थियो । उकालो बाटो र आकाशबाट पानी परिरहेको अवस्था भएकोले सुस्त गतिमा हाम्रो यात्रा अघि बढ्‌यो । उकालो बाटोमा पानी , हावा लागिरहेको, सबैको अनुहारमा थकान महसुस, असजिलो भीरको बाटो  र आमाको खुट्टा दुखाईले यो २ घन्टाको यात्रा अलि लामो र असहज भयो । तथापि शे-फोक्सुण्डो ताल आउनु भन्दा अगाडि त्यो सुन्दर शे-फोक्सुण्डो झरना, बेलाबेलामा देखिने आकासमा इन्द्रेणी, चिसो बाताबरण, रमाइलो गफगाफको अगाडी सबै अरु कुरा गौण नैभए । पहिलो पटक अग्लो ठाउमा आएको आभास, स्वर्गको नजिकै पुगे जस्तो अनुभवले सबैपींडा भुलाइदिने दृश्य देख्न आतुर मनले शे-फोक्सुण्डो तालको मुहार बेलुका ७.३० बजे मात्र देख्न पाइयो । आजको बास हिमालयन होटल शे-फोक्सुण्डो ताल नजिकै हुने भयो । एकछिन भान्सामा आगोको न्यानो लिई खनाल दाजु र रोयल सरसँग मेरो सुताई पनि सगैँभयो । बेला बेलाका जोक, सामाजिक सञ्जालमा भेटिएका मिम तथा रमाइलाकुराहरूले दिनभरीको थकाई रोयल सरलेमेटाइ दिनु हुन्थ्यो । रोयल सरलाई अक्सिजनको कमीले गर्दास्वास प्रस्वासमा केही असहज मान्नुभयो तररमाइलो गफगाफ गर्दागर्दै भोलिशे-फोक्सुण्डो तालको सुन्दरतालाई आखाभरी र मनभरी लुकाउनेकल्पनागर्दैकतिबजे पो हो निन्द्रादे‌विको शरणमा पुगियो पत्तो भएन ।

आज हाम्रो यात्राको पाचौ दिन बिहान ७ बजेतिर शे-फोक्सुण्डो तालको दृश्यावलोकन सुर्यको विहानी लालीकिरण सहित सबेरै भयो । हिमाली काखमा कर्णाली प्रदेशकै उच्च स्थानमा रहेको तालको रोचक दृश्य अनौठो लागिरहयो । हिमालको काखमा सिरसिर हावा वहने काञ्जिरोवा हिमालको काखबाट बहने त्यो तालको पानीको कन्चन दृष्य हेरेर न मेरा आँखा, न मेरो मन अघाएको थियो, साथै मनमा केही समय मौनता छायो, खुसी थाम्न सकिन, त्यो दृष्य हेरी शरीरभरी उर्जाको प्रवाह हुँदा हातका केहि भागहरुमा काँडा नै फुलेर आयो । वरिपरी पहाड, बीचमा ताल सङ्ग्लो पानी उहीँ ग्रीष्म ऋतुको शिताम्मे विहानी, चिसो-चिसो हावाले छुँदा, निहुरिएर मुस्कुराउँदै गरेका सुन्दर फुलबारीका थरिथरिका रङ्गाकृतिका फूलहरु लजाए झैँ हावाको झोँकामा लहराउँदा संसारको स्वर्गीय आनन्द र सुन्दरता यहाँभन्दा आनन्द‌मय आभाष अन्यत्र कहाँ होलार ? शे फोक्सुण्डोको रमाइलो सुलिगार्ड झरना अत्यन्त मनमोहक देखिने सायद नेपालमा अन्य झरना नहोलान । तर यो झरनाको अवलोकन र द्रश्यालोकन गर्न अप्ठ्यारो र कठिन, भीरको बाटो, छेउमा फलामे बारलगाएको, माथि बाट फुस फुस ढुंगा र माटो खसिरहने, त्यो बाटो काट्न अलि साहस र मुटु बलियो नै हुनु पर्छ । रिग्मोगाउँ, कान्जिरोवा हिमाल मात्र होइन हिमशृङ‌खलाको काखमा अवस्थित बस्ती, संस्कार संस्कृति फापर, कोदो, जौ, स्याउ लगायतले जो कसैलाई मोहित तुल्याउनेमा म पनि मानव प्राणी नै थिएँ मोहित भईरहेको नै थिएँ । तालको किनारमा बसी सबैले पछिल्तिर शे-फोक्सुण्डो सुन्दरआकृतिलाईआपनो तस्बिरमा कैद गरयौ। शे-फोक्सुण्डो सुन्दरतालाई नजिकबाट नियाल्न एक दिन तालको वरिपरी घुम्ने गरि समय मिलाउन सकेमा अझ प्रकृतिको रमाइलो र आनन्द लिन सकिन्छ । हाम्रो समुहमा त्यो किसिमको समय थिएन र करिब  दुई घण्टा शे-फोक्सुण्डोको सुन्दरतामा बिताएर हामि फर्कने यात्राको तयारीमा लाग्यौ । हामीले अझै दुई दिनको यात्रा गर्नुपर्ने थियो । आमाको लागि घोडाको व्यवस्था गरियो । हाम्रो यात्रामा स्थानीयसंग पुरानो चिनजान र सम्बन्ध भएका जुम्लाका बिन्दास सरपनि भएकोले सबै कुरा छिटो मिलाउन रसमन्वय गर्न अलि सजिलो भयो । सधैभरी हँसिलो र खुशी मुहारमा देखिने बिन्दाससर आज अलि भावुक र फरक देखिनु भएको थियो सायद अझै दुई दिनको यात्रामा सहभागी सबैलाई सकुशल पुर्याउने कामको जिम्मा उहामा थियो । ओरालो भीरको बाटो जस्तोसुकै आट भएको मान्छेले घोडा चढ्न सक्दैन, हामीलाईपनि त्यो समस्या भयो र आमाको लागि तल  समथर ठाउँ सम्म पुरयाउन भरियाको सहयोग लिनुपर्यो । त्यसपछि हाम्रो यात्रा सहज भयो र हामी सजिलै उकाली, ओरालीमा रमाइला गफगाफ गर्दै, प्रकृतिको सुन्दरताको बर्णन गर्दै, जटिल भूगोल, यहाको रहनसहन आदिमा रमाउदै सातौ दिनको बेलुका डोल्पाको त्रिपुरा सुन्दरीको दर्शन गर्न पुगियो ।

शे-फोक्सुण्डो पुग्न सहज भने त्यति छैन सुलिगाड खोलाको तिरैतिर, एकातिर तल सुलिगाड खोला र माथितिर भिरालो पहाडको सानो कच्ची वाटो हिड्नु पर्ने हुन्छ । दुनै डोल्पाबाट करिब दुई दिन जान, दुई दिन आउन, एक दिन शे-फोक्सुण्डो तालमा रमाउन गरिपाच दिनको समय चाहिन्छ । दुनै डोल्पाबाट सुर्खेत, नेपालगंज दुई दिनको गाडीको यात्रा गर्नुपर्ने हुन्छ । डोल्पाको माथिल्लो भागमा खाधान्न, निर्माण सामग्री र अन्य मालसामानको ढुवानीको मुख्य साधन खच्चड, चौरी याक रहेछन । खच्चड, चौरी. याक र मानिस हिँड्ने बाटो एउटै भएकोले कतिपय ठाउँमा पैदल यात्रा गर्न समेत असहजता आउँदछ । भौगोलिक कठिनाई र बाटो घाटोको असहजता हेर्दा सरकारले सडक निर्माण गरिदिए हुने भन्ने पनि लाग्यो तर शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको क्षेत्र भएकोले प्राकृतिक सम्पदाको नोक्सान हुन्छ कि भन्ने कुरा मनमा खेलिरह्यो । हिमालको काखमा बसी यी रमाइला दृष्यहरु अवलोकन गरी आफ्नै आँखाले कैद गर्ने सपना सबैको हुन्छ । देश तथा विदेशमा रहने पर्यटकहरुलाई आउँने इच्छा चाहना धेरै हुने हुनाले पर्यटकीय पदमार्गलाई सुधार गरी शे-फोक्सुण्डो तालको यात्रालाई सहज बनाउन सकिन्छ । प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न यात्रामा ज्यान जोखिममा समेत पर्न सक्ने देखिएकोले पद‌मार्गको सुधारका प्रयासहरु हुनु जरुरी छ । वातावरणीय स्वच्छततालाई ख्यालमा राख्दै पर्यटकहरुले प्रदु‌षणवाट प्रभावित नहोस भन्ने हेतुले बाटो सरसफाई देखि पर्यटकह‌रु‌ले फालेका पानीका बोतल, चाउचाउका खोस्टालाई फाल्न निरुत्साहित गर्नुपर्दछ । यसरी स्वच्छ‌ वातावरण राख्नलाई उत्प्रेरणा जगाउनु पर्दछ । ठाउँ ठाउमा प्रतिक्षालय, बस्ने ठाउको ब्यस्व्था भएमा यो पद‌मार्गमा पर्यटकलाईसहज र सजिलो हुने देखिन्छ ।  शे-फोक्सुण्डो यात्राले नेपालको हिमाली भेगको रहनसहन, भाषा, सास्कृतिक परम्परा, जीवन शैली आदिको बारेमा जान्न र सिक्न समेत पाइन्छ । शे-फोक्सुण्डो यात्रा निलो आकाश पृष्ठभुमीमा राखेर हिमचुलिका सुमधुर मुस्कानले रोमाञ्चक बनेको कान्जीरोवा हिमाल अगाडी आफुलाई उभ्याउन मात्र होइन, प्रकृतिको मनोरम सुन्दरताको आभास गर्नु पनि हो, जीवन प्रकृतिसग घुलमिल गर्नु हो  ।

लेखक:- डुङ्गेश्वर गाउँपालिका, वडा नं. ५,दैलेख निवासी दिपेन्द्रकेशर खनाल हुनुहुन्छ ।

Translate »