डेंगु र स्क्रब टाइफसको जोखिममा बालबालिका

नेपालगञ्ज । बालबालिकाहरूमा डेंगु र स्क्रब टाइफसको जोखिम देखिएको छ । बाँकेका अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रब टाइफस देखिने गरेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा चिनिने भेरी अस्पताल नेपालगञ्ज, नेपालगन्ज मेडिकल कलेज, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा दैनिकरुपमा डेंगु र स्क्रब टाइफसका बिरामीहरू आइरहेको चिकित्सकहरू बताउँछन् ।

केयर सिटी अस्पतालका बालरोग विशेषज्ञ डा. विष्णु थापाले दुई तीन महिनाका शिशुहरूमा पनि डेंगु र स्क्रब टाइफस देखिएको जानकारी दिए । ‘वर्षायाम सुरु भएसँगै स्वभाविकरुपमा सबै उमेर समूहका मानिसहरूमा डेंगु र स्क्रब टाइफसको जोखिम बढी हुन्छु,’ डाक्टर थापाले भने, ‘बालबालिकाहरु पनि त्योबाट अछुतो छैनन् ।’ उनले अघिल्लो महिनादेखि अहिलेसम्म १५–१६ जना डेंगुका र ८–१० जना स्क्रब टाइफस भएका बालबालिकाहरू उपचारका लागि आइसकेको बताए ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डा. पियुस कनोडियाले पनि डेंगु र स्क्रब टाइफसका बालबालिकाहरू बढेको बताए । उनले पछिल्लो एक महिनामा अस्पतालमा आफूले १५÷२० जना डेंगु र स्क्रब टाइफसका बिरामी बालबालिकाको उपचार गरेको बताए । ‘टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने लक्षण चिन्ह भएका बालबालिकाहरू अस्पतालमा आउने क्रम बढेको छ,’ डाक्टर कनोडियाले भने, ‘परीक्षण गर्दा डेंगु र स्कब टाइफस देखिने गरेको छ ।’ यस्ता बिरामीहरू जिल्ला भन्दा पनि अन्य जिल्लाबाट बढी आइरहेको पनि डा. कनोडियाको भनाई छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा. नीरज आचार्यले पनि अस्पतालमा बिरामी बालबालिकाहरू बढेको बताए । उनले ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताए । पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको पनि उनले बताए । ‘‘भदौको पहिलो सातादेखि ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला लगायतका समस्या लिएर आउने बालबालिकाहरू अस्वभाविक ढंगले बढेका छन्, उनले भने, ‘‘उपचारका लागि आउने बालबालिकाहरूमा डेंगु र स्क्रब टाइफस पनि देखिएको छ ।’ उनले अझै पनि ४–५ जना डेंगु र स्क्रब टाइफसका बिरामीहरू उपचारार्थ रहेको पनि बताए ।


अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने जस्ता लक्षण देखिएपछि डेंगु भएको हुन सक्ने डा. विष्णु थापाले बताए । डेंगुबाट जोगिन डेंगुका लामखुट्टे सफा पानीमा बस्ने हुँदा घर वरपर पानी जम्ने खाडल, पुराना टायर, पुराना सिसा बोत्तल जस्ता पानी जम्ने चिजहरू राख्न नहुने अर्का वालरोग विशेषज्ञ डा. कनोडिया बताउँछन् ।

‘सकेसम्म लामो बाहुला भएको, शरीर पुरै छोप्ने खालका कपडा लगाउने, यसबाट शरीरलाई लामखुट्टेको टोकाईबाट टाढा राख्न सकिन्छ, डेंगुबाट जोगिने उपाय सुझाउँदै डा। थापाले भन्नुभयो–‘प्रायः दिउँसोमा यो लामखुट्टेको टोकाईबाट बच्नुपर्छ, पानी टङ्की छोपेर राख्ने, फुलदानीमा पानी फेरबदल गरिरहने, सुत्दा प्रायः झुल प्रयोग गर्ने, बालबालिकालाई झुलको प्रयोग अनिवार्य गर्नुपर्छ ।’

डेंगु लामखुट्टेको टोकाईबाट सर्ने रोग हो भने स्क्रब टाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाईबाट मानिसमा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन । धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ), धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले (माइट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफसका लक्षणहरू रहेको बालरोग विशेषज्ञ डा. आचार्यले बताए ।

खेतबारीमा काम गर्दा, वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईँमा नबस्ने ,खाटमा वा अग्लो स्थानमा सुत्ने, बस्ने, सकेसम्म घाँसवारी र चउरमा नबस्ने हो भने यसको जोखिम कम गर्न सकिने उनले बताए । स्क्रब टाइफस लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने पनि डा.आचार्यले सुझाव दिए ।

Translate »