पहिरोमा पुरिएर बेपत्ता दुवै जनाको शव भेटियो
सुर्खेत । जरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका श्रीमान्–श्रीमतीको शव फेला परेको छ । ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।
दुवै जनाको शव पोस्टमार्टमका लागि आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । उनका अनुसार बारेकोट गाउँपालिका– ६ धुमा गाउँमा आइतबार बिहान २ बजे गएको पहिरोले घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
उनीहरुकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्दार गरिएको थियो । उनलाई थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याईएको छ । प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुन भने मानबहादुर नेकपा (माओवादी) केन्द्र बारेकोट गाउँ कमिटीका सदस्य हुन् ।