कर्णालीका पाँच जिल्लाका ६ जना उत्कृष्ट करदातालाई सम्मान
सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतले कर दिवसका अवसरमा कर्णालीका पाँच जिल्लाका उत्कृष्ट ६ जना करदातालाई सम्मान गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई कर दिवस तथा कर सप्ताहको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
हुम्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता उत्थान कन्स्ट्रक्सन एण्ड मल्टी सप्लायर्स प्रालि, जाजरकोटबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता जयकृष्ण पोल्ट्री सप्लायर्सका प्रोपराईटर जयबहादुर खत्री, दैलेखबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता फुलवारी विद्या मन्दिर प्रालि, डोल्पाबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता शेलरी डुग्ड्रा कन्स्ट्रक्सनका प्रोपराईटर डोइटुप डोल्मा गुरुङ सुर्खेतबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता ज्वाला कलर वैक एण्ड अर्डर सप्लायर्सका प्रोपराईटर कमलप्रसाद जैसी तथा आन्तरिक राजस्व कार्यालय सुर्खेतको कार्यक्षेत्रभरी मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने वातावरण सुधार बहुउद्देश्यीय शहकारी संस्था लिमिटेड वीरेन्द्रनगरलाई सम्मान गरिएको कर अधिकृत कल्पना सुवेदीले जानकारी दिईन् ।
उनले आन्तरिक राजस्व कार्यालय सुर्खेतको कार्यक्षेत्र हुम्ला, डोल्पा, जाजरकोट, दैलेख र सुर्खेत रहेको बताईन् । उनका अनुसार त्यस्तै कर प्रशासनमा उल्लेखनीय कार्य सम्पादन गरेकामा उक्त कार्यालयमा कार्यरत नायब सुब्बा चोमावली पौडेललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा सम्मानित हुने करदातालाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, आन्तरिक राजस्व कार्यालय सुर्खेतका निमित्त प्रमुख यज्ञराज ढकाललगायतले हार्दिक बधाईसँगै उत्तरोत्तर प्रगतिको कामनासहित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रताप लम्साल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, चेम्वर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा र नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका सुमननाथ योगीलगायतले सम्मानित करदातालाई बधाई तथा शुभकामना दिएका थिए ।