कर्णालीको अदुवा यूरोपमा


कर्णालीले आयात मात्र गर्दैन, निर्यात पनि गर्छ भन्ने थुप्रै उदाहरणहरु छन् । तर, त्यसको मात्रा ‘थोरै र धेरै’ भन्ने मात्र सवाल हो । केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ । विदेशबाट अदुवाको माग आउन थालेपछि किसान अदुवा खेतीतर्फ आकर्षित भई व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । फलस्वरूप अदुवाको उत्पादन बढी हुन थालेपछि विदेश निर्यात हुन थालेको हो । अदुवा मात्र होइन, यहाँको बेसार पनि विशेष गरी युरोप पुग्न थालेको छ । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको कालीदमारमा ‘दी अर्गानिक भ्याली अदुवा प्रशोधन उद्योगले कर्णालीका किसानसँग अदुवा र बेसार खरिद युरोपतिर पठाउने गरेको छ ।

किसानबाट खरिद गरेर उद्योगमा प्रशोधन गरी अदुवा र बेसार युरोप निर्यात गर्ने गरेको छ । उद्योग स्थापनाअघि यहाँको अदुवा र बेसार मूल्यहीन अवस्थामा थियो । यहाँ उत्पादन भएका अदुवा र बेसार विषादीरहित हुने, पूर्ण रुपमा अर्गानिक र गुणस्तरीय भएका कारण विदेशबाट माग आइरहेको हो । विशेष गरी जर्मनीबाट बढी माग आएको छ । एक मौसममा यस उद्योगबाट औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुने गरेको छ । यो सकारात्मक पक्ष पनि हो । उत्पादन धेरै भएका बेला १२ लाख युरो बराबरको अदुवा निर्यात हुने गरेको छ । यद्यपि अझैपनि माग अनुसार उत्पादन हुन सकेको छैन् । किसानबाट माग अनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको छ । प्रशोधन उद्योगमा बर्सेनि एक हजार पाँच सय मेट्रिक टन अदुवा र बेसार प्रशोधन हुने गरेको छ । कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुने र यसकारण विदेशमा पनि माग बढेकोले यसको उत्पादनलाई स्थानीय सरकारलगायतले हौसला दिई व्यवसायीकरणमा ध्यान दिनुपर्छ ।
कर्णालीमा सबैभन्दा धेरै अदुवा, बेसार उत्पादन हुने जिल्लामा सल्यान, रुकुमपश्चिम र सुर्खेत पर्दछ । अदुवा र बेसारका लागि यी जिल्लाका हावापानी उपयुक्त छ । अदुवा पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यसबेला किसानले बजारको समस्या भोगेको भन्दै अहिले उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको अदुवा र बेसार लिएपछि किसानलाई कुनै समस्या छैन् । उद्योगमा अदुवा र बेसारका साथै सिस्नो र टिमुर पनि प्रशोधन हुने गरेको छ । उद्योगले किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । उत्पादन भएका अदुवा र बेसारलाई बजारीकरणको समस्या छैन । विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएकाले किसानले अब उत्पादन बढाउन तर्फ जुट्नु पर्छ । त्यसका लागि तीन तहका सरकार मध्ये बढी स्थानीय र सरकारले किसानको हौसला बढाउनुका साथै सहयोग गर्नुपर्छ । कर्णालीमा उत्पादन गरिएका अदुवा र बेसार विदेशसम्म पुगेकाले अब यसको उत्पादन बढाउन ध्यान दिनुपर्छ ।

