सुर्खेतका चार जना उत्कृष्ट उद्यमी पुरस्कृत
सुर्खेत । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जिल्लाका चार जना उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ ।
स्थानीय उत्पादनलाई बजारीकरण गरेर आन्तरिकसँगै बाहिर निर्यात गर्न सफल भएका चार जना उद्यमीलाई निर्देशनालयले आज १० औं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर पुरस्कृत गरेको हो ।
प्राकृतिक रेशा, कपडा तथा ढाँका वस्तु समूहतर्फ कर्णाली घरेलु कपडा उद्योगका प्रोप्राइटर पवित्राकुमारी शाही, जडिबुटीजन्य, साबुन, हर्बल उत्पादन वस्तु समूहतर्फ एचकेसप इन्डष्ट्रिज, लेकवेशी नगरपालिका–९, का प्रोप्राइटर हेमन्तकुमार दर्लामी, छालाजुत्ता, गार्मेन्ट, सिलाई वस्तु समूहतर्फ राजेश छाला जुत्ता उद्योग वीरेन्द्रनगर–४, का प्रोप्राइटर लक्ष्मी सार्की र दुग्धजन्य उद्योग, मिठाई, वेकरी, पाउरोटी वस्तु समूहतर्फ वीरेन्द्रनगर–६, मा रहेको न्यू गौरी डेरी उद्योगका प्रोप्राइटर मोहनप्रसाद जैशीलाई सम्मान गरिएको निर्देशनालयका सूचना अधिकारी थिरबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराको साथ आयोजित १० राष्ट्रिय उद्योग दिवसको अवसरमा स्थानीय मंगलगढी चोकबाट शुरु भएको प्रभातफेरी वीरेन्द्रचोक हुँदै लघु औद्योगिक ग्राममा पुगेर औपचारिक रुपले सभामा परिणत भएको बताए ।
सभामा उत्कृष्ट उद्यमीहरुलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । उनले सरकारी निकायहरुमा हुने कार्यक्रममहरुमा स्थानीय उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्ने र पूँजी लगानीका लागि बैंक तथा वित्तिय संस्थाहरुसंग छलफल गरी लगानी मैत्री वातावरण तयार गरिने बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पदमलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, उद्योग व्यवसायीक संघसंगठनका प्रमुख एवं प्रतिनिधिले पुरस्कृत उद्यमीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
दिवसकै अवसर पारेर निर्देशनालयले आयोजना गरेको रत्तदान कार्यक्रममा ८ जना उद्यमी तथा कर्मचारीले रक्तदान गरेका थिए ।