कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३.७८ प्रतिशत बिन्दुले घट्यो
सुर्खेत । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा कर्णाली प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ३ दशमलव ७८ प्रतिशत बिन्दुले घटेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग घटेको देखिएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत राष्ट्र बैंकका अनुसार औसत क्षमता उपयोग अघिल्ला आर्थिक वर्ष ५२ दशमलव २९ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ मा ४८ दशमलव ५१ प्रतिशतमा ओर्लेको छ
क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रह्यो । अघिल्लो आव २०७९/८० मा यो ५२ दशमलव २९ प्रतिशत थियो । समग्र अर्थतन्त्र सुस्ताएका बेला कर्णालीमा म्यानुफ्याक्चरिङ उद्योगको क्षमता उपयोग घटेको हो । खासमा राष्ट्रिय तथ्यांक कार्यालयले देशभरिको म्यानुफ्याक्चरिङ क्षेत्र गत आव १ दशमलव ६ प्रतिशतले खुम्चने अनुमान गरेको थियो ।
यो क्षेत्रले कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ९ दशमलव ७ प्रतिशत योगदान गर्छ । प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा वर्षमा प्लास्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शतप्रतिशत रहेको छ । सबैभन्दा कम अन्न तथा शुदानाअन्तर्गत पिठो उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता १५ प्रतिशत रहेको छ ।
त्यसैगरी, कागज उत्पादन, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), अन्य (अन्य लत्ता कपडा) र पशुदाना उत्पादन गर्ने उद्योगअन्तर्गत चामल उत्पादनसम्बन्धी उद्योग, प्रशोधित दूध उत्पादनसम्बन्धी उद्योग र पशुदानासम्बन्धी उद्योगको उपयोग क्षमता क्रमशः ९० प्रतिशत, ५२ प्रतिशत, ५१ दशमलव ११ प्रतिशत, ४८ दशमलव ९४ प्रतिशत, ४१ दशमलव ६७ प्रतिशत, २१ दशमलव २३ प्रतिशत र १६ दशमलव ६७ प्रतिशत रहेको छ ।
अध्ययनका अनुसार कर्णालीमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थ अभाव तथा विकट भौगोलिक बनावटजस्ता प्रमुख कारणले गर्दा ठूला उद्योगहरू सञ्चालन हुन सकेको देखिँदैन । समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगमध्ये अधिकांशको उत्पादनमा वृद्धि आएको देखिन्छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रशोधित चिया र प्लास्टिकका सामान उत्पादनमा कुनै पनि परिवर्तन भएको छैन ।