२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

कर्णालीमा कृषि बाली उत्पादन ६.७९ प्रतिशतले बढ्यो



सुर्खेत । कर्णाली प्रदेशले प्रमुख कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले बढाएको छ। रैथाने बाली उत्पादनमा परिचित  कर्णालीले गत आवमा कुल १२ लाख ५२ हजार ६ सय ५४ टन उत्पादन गर्न सफल भएको हो ।

अझ अघिल्लो वर्ष यस्तो उत्पादन १२.९१ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१)ले यस्तो देखाएको  हो । कर्णाली प्रदेशभर करिब ३ लाख २७ हजार ९० हेक्टर जमिन कृषि उपजले ढाकेको छ ।

कर्णाली प्रदेशका पहिचानका पमा रहेको मार्सी चामल, चिनो, फापर, कोदो, कागुनो, जुनेलो, लट्टे, सिमी लगायतका कृषि उपजहरूको ब्रान्डिङ गरी बजारीकरणमा चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ । कर्णाली प्रदेशका स्थानीय, रैथाने तथा लोपोन्मुख बालीहरू संरक्षण र प्रवद्र्धन गरे कृषि उत्पादनमा सो प्रदेशमा सम्भावना रहेको पनि निचोड निकालेको छ ।

कृषि क्षेत्रमा सीमित मात्रामा उपलब्ध रहेका स्रोत साधनहरूको अधिकतम तथा उच्चतम प्रयोग गरी कृषि क्षेत्रलाई आधुनिकरण, यान्त्रीकरण तथा व्यवसायीकरण गर्दै आयआर्जनको प्रमुख स्रोतका रूपमा विकास गर्नमा पनि चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ। यस प्रदेशमा हिमाली, पहाडी तथा भित्री मधेस सबै भूगोल रहेकाले यहाँ धान गहुँ, मकै, कादो, जौ, आलु, व्यावसायिक तरकारी, पशुपालनलगायत फलफूल खेती गर्न सकिने प्रचुर सम्भावना रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘साथै, कृषि तथा जडिबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटीसम्बन्धी उद्योग सञ्चालन गरी युवाहरूलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रबद्र्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादन समेत वृद्धि हुने देखिन्छ ।

अन्य पहाडी जिल्लाहरूमा व्यावसायिक बाख्रा, गाई-भैंसीपालनको सम्भावना रहेको छ। जुम्लालगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ, ओखर खेती तथा अन्य पहाडी जिल्लाहरू दैलेख, सुर्खेत, कालीकोट, सल्यानमा व्यवसायिक सुन्तला, केरा, आँपखेतीको उच्च सम्भावना रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक कृषि क्षेत्रमा साढे ५ अर्ब कर्जा 

कर्णाली क्षेत्रमा कर्जा लिएर कृषि उत्पादन गर्ने प्रवृत्तिमा भने कमी आएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा अघिल्लो वर्षको तुलनामा १.७१ प्रतिशतले कमी आई ५ अर्ब ४० करोड ८ लाख रुपैयाँ कायम भएको छ ।

यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै २ अर्ब ३ करोड ६५ लाख रुपैयाँ सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १४ करोड ९४ लाख रुपैयाँ मुगु जिल्लामा प्रवाहित भएको देखिन्छ ।

कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको प्रतिवेदनको निचोड छ ।

प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार
Translate »