कृषि कर्म महिलाको काँधमा

कर्णालीमा युग जतिसुकै बदलिए पनि अधिकांश महिलाको अवस्था जहाँको त्यहीं छ । तर, पछिल्लो समय सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा केही परिवर्तनहरु देखा पर्न थालेका छन् । संघसंस्थाको सहयोगमा गाउँ टोलमा विभिन्न कृषि समूह गठन गरेर कालिकोट, जाजरकोट जस्ता जिल्लाका महिला आधुनिक तरकारी खेतीसँगै उच्च मूल्यका बालीको संरक्षणका लागि संगठित भएका छन् । रोजगारीको खोजीमा पुरुषहरु भारतसँगै तेस्रो मुलक जानेक्रम बढेपछि महिला व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन् । पुरुष विदेशिने क्रम बढेसँगै कृषि कार्यको नेतृत्व महिलाको काँधमा थपिएको छ । गाउँवस्तीबाट पुरुषहरु विदेशिने क्रम बढेपछि महिलालाई व्यवसायिक खेतीमा आबद्ध गराएर आर्थिकरुपमा सबल बनाउन लागिएको हो । जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकालाई महिला मैत्री, वातावरणीय दृष्टीले दिगो, जलवायु तथा विपद् उत्थानशील बनाई खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने कामहरु भईरहेका छन् ।

२ सय २८ घरपरिवारले तरकारी उत्पादनबाट पारिवारिक पोषणको पूर्ति गरी बाँकी बचेको तरकारी स्थानीय बजारमा विक्री गरेर मासिक बीस हजार रुपैयाँसम्म आम्दानी गर्नु सकरात्मक पक्ष हो । महिलाहरु व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आईरहेको छ । समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेपछि महिला सशक्तीकरणमा समेत टेवा पुगिरहेको छ । आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरु पनि अन्त्य भएका छन् । कर्णाली प्रदेश सरकारले समेत कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेश भरी २६ दशमलव ६९ प्रतिशत नागरिक गरिब छन् । सरकारले प्रदेशवासीलाई गरिबीको चक्रबाट मुक्त गर्न कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको छ । कर्णालीवासीको मुख्य आम्दानीको स्रोत कृषि भएकाले कृषिमा नयाँ प्रविधि र लगानीमार्फत नागरिकलाई आत्मनिर्भर कार्यक्रम अघि सारिएको हो । चालु आर्थिक वर्षका लागि मन्त्रालयसँग १ अर्ब ८६ करोड बराबरको बजेट छ । कृषिको आधुनिकीकरण र पशुपन्छीमा लगानी गरेर रोजगारी सिर्जना गर्ने कृषि मन्त्रालयको मुख्य लक्ष्य छ ।

चालु आवको पछिल्लो ६ महिनामा मन्त्रालयले १६ दशमलव ४७ प्रतिशत आर्थिक प्रगतिसँगै ३७ प्रतिशत भौतिक प्रगति गरेको छ । यद्यपि ! महिला जबसम्म शैक्षिक, सामाजिक र आर्थिक रूपमा सशक्त हुँदैनन्, तबसम्म विभिन्न प्रकारका विभेद तथा हिंसाबाट गुज्रिनुपर्छ । हिंसा प्रभावित महिलालाई समाजमा स्थापित गर्न र परिवर्तनका लागि संवाहक बनाउन दिगो जीविकोपार्जन आवश्यक हुने गर्छ । समाज परिवर्तनतर्फ हामी सबै अग्रसर हुनसक्छ । नत्र भने युग जतिसुकै बदलिए पनि अधिकांश महिलाहरुको अवस्था भने जहाँको त्यहीं हुन्छ । यसका लागि सरकार मात्र होइन, आम नागरिकले समेत आफ्नो सामाजिक दायित्वलाई प्रभावकारी निर्वाह गर्नु पर्छ । कालिकोट र जाजरकोटरबाट शुभारम्भ भएको दिगो जीविकोपार्जनका लागि महिला सशक्तिकरणका लागि कृषि उद्यमी अभियानलाई प्रदेशभरी फैलाउन अब ढिला गर्नु हुँदैन् । उद्यमशीलताले नै आम नागरिकलाई परिवर्तनको मुलधारमा ल्याउन सक्छ भने सरकारले त्यसका लागि आवश्यक वातावरण तयार गरिदिनु पर्छ । महिला सशक्त भएपछि पुरुषपनि सशक्त हुन्छन् भन्ने मान्यताको विकास गर्न सबैको हातेमालो चाहिन्छ । कृषि कर्मलाई प्रकृति सुहाउँदो आधुनिकतासँगै अगाडि बढाउने सके देश अघि बढ्छ ।

Translate »