‘संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्छौं’

बाँके । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्ने बताएका छन् ।
पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले शनिबार नेपालगञ्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताएका हुन् ।

उनले निर्वाचन प्रणाली, सङ्घीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै उनले त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताए ।
महामन्त्री थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औल्याए । थापाले विक्रम सम्वत २०८०–९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताए । उनले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डा. गोविन्द राज पोखरेल, मैकुलाल वाल्मीकि र रंगमति शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलगायतले सम्बोधन गरेका थिए ।