‘कोषले सुर्खेतमा हालसम्म करिब अढाई अर्ब लगानी गरिसकेको छ’

कर्मचारी सञ्चय कोषले सुर्खेतमा हालसम्म करिब अढाई अर्ब लगानी गरिसकेको छ । कर्णाली प्रदेशका दशै जिल्ला कार्यक्षेत्र रहेको कर्मचारी सञ्चय कोष सुर्खेतले सञ्चयकर्ताका लागि विशेष सापटी र धितोमा आधारित विभिन्न कर्जाहरु लगायत सामाजिक सुरक्षा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । अब कोषले सुर्खेत बाहेकका अन्य जिल्लाहरुमा समेत सञ्चयकर्ताका लागि धितोमा आधारित कर्जाहरु विस्तार गर्ने योजना बनाएको छ । कोष शाखा कार्यालय सुर्खेतबाट प्रवाह भएका सेवा सुविधाका सम्बन्धमा कर्मचारी सञ्चय कोष सुर्खेतका कार्यालय प्रमुख वरिष्ठ प्रबन्धक ध्रुव प्रसाद तिवारीसँग स्काई न्यूज दैनिकका सम्पादक आकाश तारा बयकले गरेको कुराकानीको सार :
कर्मचारी सञ्चय कोषका विभिन्न शाखाहरूमा काम गरेर अहिले सुर्खेत शाखामा सेवा प्रवाह गरि रहनु भएको छ । सुर्खेतमा कोषको अवस्था कस्तो छ ?
कोषको सेवामा ३० बर्षको दौरानमा हाल सुर्खेत कार्यालयमा सेवारत छु । भौगोलिक र हावापानीको दृष्टिकोणबाट सुर्खेत जिल्लाको अवस्थिति अत्यन्त राम्रो रहेको पाएँ । वि.सं. २०६२ पौष देखि कर्मचारी सञ्चय कोषको तत्कालीन नेपालगञ्जमा रहेको कार्यालय सुर्खेत जिल्लामा स्थानान्तरण भएपछि यस जिल्लामा कोषको उपस्थिति निरन्तर रहेको छ । यस अघि भाडाको घरबाट सेवा प्रवाह गर्दा सञ्चयकर्तालाई सरल, सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न केही कठिनाईहरू रहेकोमा २०८० आश्वीनदेखि वीरेन्द्रनगर न.पा. वडा नं. ७ इत्रामस्थित आफ्नै नवनिर्मित भवनबाट प्रभावकारी रूपमा सेवा प्रवाह गर्दै आईरहेको छ । यस कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटा जिल्लाहरू रहेता पनि देशको जुनसुकै क्षेत्रका सञ्चयकर्ताले यस कार्यालयमार्फत सेवा लिन सक्ने अवस्था रहेको छ ।
तपाईले आफ्नो नेतृत्वमा कोषको सुर्खेत शाखालाई कसरी अगाडि बढाइरहनु भएको छ ?
सञ्चयकर्ता मैत्री वातावरण बनाएर सेवा प्रवाहमा गुणात्मक सुधार गरिएको छ । सञ्चयकर्तालाई सहज रूपमा सेवा प्रदान गर्न सोधपुछ डेस्कको व्यवस्था, सञ्चयकर्ताको KYC विवरण भर्न बाहिर जान नपरोस् भन्ने हेतुले तथा फाँटवारी ईन्ट्री लगायतका कार्यको लागि सञ्चयकर्ता आफैँले चलाउन मिल्ने गरी सोधपुछ डेस्कसँगै सञ्चयकर्ता सहजीकरण कम्प्युटरको व्यवस्था गरिएको छ । गुनासो रहित सेवा प्रवाहमा जोड दिँदै कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरी उत्प्रेरित बनाई सेवा प्रवाहमा आवश्यक सुधार गरिएको छ ।
कोषले प्रदान गर्ने सेवा सुविधाहरूको बारेमा अहिले पनि धेरै सञ्चयकर्ता अनविज्ञ रहेको गुनासो गर्छन् । उनीहरूका लागि के कस्ता कार्यक्रमहरू छन् ?
कर्मचारी सञ्चय कोषको वेभसाईटमा कोषका सेवा सुविधाहरूको विस्तृत विवरणसहित सेवा प्राप्तिको लागि चाहिने फारम र आवश्यक कागजातको विवरण राखिएको छ । शाखा कार्यालय, सुर्खेतमा कोषबाट उपलब्ध हुने सेवा सुविधा र आवश्यक पर्ने कागजातको विवरणसहितको सञ्चयकर्ता वडापत्रको व्यवस्था गरिएको छ । कर्मचारी सञ्चय कोषले कोषबाट प्रवाह हुने सेवा सुविधाका सम्बन्धमा जानकारी दिन जिल्ला जिल्लामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने गरिएको हुँदा यसबाट कोषको सेवा सुविधाका सम्बन्धमा सञ्चयकर्ताहरु जानकार रहेका छन् । यद्यपी यस प्रकारको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम पर्याप्त मात्रामा गर्न सकिएको छैन । आगामी दिनमा यसतर्फ विशेष ध्यान दिई कार्यक्रमहरुको संख्या बढाउने शाखा कार्यालयको योजना रहेको छ ।
कोषले कर्णालीका सञ्चयकर्तालाई आफ्नो के, कस्तो सेवाहरू प्रवाह गरिरहेको छ ?
कोषको शाखा कार्यालय, सुर्खेतबाट सञ्चयकर्ताको लागि देहायका सेवाहरू प्रदान भईरहेको छ :
(क) विशेष सापटी : सञ्चित रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने ।
(ख) घर सापटी : नयाँ घर निर्माण, तला थप तथा घर खरिदको लागि कर्जा लिन पाउने ।
(ग) घर मर्मत सापटी : घर मर्मतको लागि कर्जा लिन पाउने ।
(घ) शैक्षिक सापटी : उच्च शिक्षा अध्ययनको लागि कर्जा लिन पाउने ।
(ङ) जग्गा खरिद सापटी : जग्गा खरिदको लागि कर्जा लिन पाउने ।
(च) सरल सापटी : जग्गा तथा घरजग्गाको धितोमा कर्जा लिन पाउने ।
(छ) कोष रकम भुक्तानी : सेवाबाट अलग भएपछि कोषमा सञ्चित रकमको भुक्तानी ।
(ज) विभिन्न सामाजिक सुरक्षा सुविधा (स्वास्थ्य उपचार शोधभर्ना, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति तथा कल्याणकारी योजनाको रकम भुक्तानी)
(झ) सञ्चयकर्ताको व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्य,
(ञ) सञ्चयकर्तालाई कोषको परिचयपत्र प्रदान गर्ने,
(ट) नयाँ सञ्चयकर्ता सूचीकरण गर्ने,
(ठ) कुनै सञ्चयकर्ताको रकम छुट भएको अवस्थामा एकिन गरी रकम एकीकरण गर्ने,
(ड) सञ्चयकर्तालाई आवश्यकता अनुसार कोष रकमको मौज्दात प्रमाण पत्र (Balance Certificate) प्रदान गर्ने लगायतका सेवाहरू प्रदान भईरहेको छ ।
शाखा कार्यालय सुर्खेतबाट २०८१ चैत्र मसान्तसम्को तथ्यांक अनुसार १३४० सञ्चयकर्तालाई करिब २ अर्ब ३८ करोड कर्जा प्रवाह भएको छ । आगामी दिनमा कर्णाली प्रदेशका अन्य जिल्लामा समेत यस प्रकारको कर्जाको दायरा एवं क्षेत्र विस्तार गर्ने नीति रहेको हुँदा यस प्रकारको सेवा लिने सञ्चयकर्ताको संख्या बृद्धि हुने अपेक्षा गरिएको छ ।
लगानी विस्तारमा के, कस्ता समस्याहरूको साम्ना गर्नु परिरहेको छ ?

कोषमा सञ्चित हुन आउने रकम दुर्गमका अत्यन्त सामान्यस्तरका कर्मचारी देखि प्रधानन्यायाधीशसम्मको रहेको हुँदा कोषको रकमको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी विभिन्न क्षेत्रमा लगानी गर्ने नीति रहेको छ । यस क्रममा दुर्गम र विकट क्षेत्रमा सञ्चयकर्ता कर्जाको लागि क्षेत्र विस्तार गर्न निकै चुनौती रहेको छ भने सञ्चयकर्तामा भएको केही लगानीको असुली समयमै नहुँदा असुलीतर्फ पनि केही चुनौती थपिँदै गएको छ । यसका वावजुद पनि शुरूमा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्रको क्षेत्रबाट शुरू गरिएको सञ्चयकर्ता कर्जाको क्षेत्र विस्तार भई हाल करिब ४० जिल्लामा पुगिसकेको अवस्था छ । यसलाई समयसापेक्ष रूपमा विस्तार गर्दै जाने कोषको नीति रहेको छ ।
कोषको लगानी कुन-कुन क्षेत्रमा छ ?
कोषको रकम सञ्चयकर्तालाई विभिन्न शिर्षकका कर्जा, सरकारी ऋणपत्र, वाणिज्य बैंकको मुद्धती निक्षेप, पूर्वाधार विकासका ठूला आयोजनाहरूमा कर्जा, बैंक वित्तीय संस्थाको शेयर तथा डिवेञ्चर, भवन निर्माण जस्ता क्षेत्रमा लगानी भएको अवस्था छ । कोषका शाखा कार्यालयहरुबाट लगानीको रुपमा विशेष सापटी र धितोमा आधारित सञ्चयकर्ता कर्जा मात्र प्रवाह गर्न सकिने व्यवस्था रहेको छ । अन्य लगानीहरु कोषको केन्द्रीयस्तरबाट मात्र हुने व्यवस्था विद्यमान छ ।
पहिलेको तुलनामा अहिले सञ्चयकर्ताले कसरी र के कस्तो सुविधा पाइरहेका छन् ?
सञ्चयकर्ताले कोषबाट सापटी तथा अवकाशपछिको भुक्तानीको लिनको लागि काठमाडौं नै जानुपर्ने विगतको वाध्यताको अन्त्य गर्दै सञ्चयकर्तालाई स्थानियस्तरमा सेवा प्रदान गर्न वि.सं. २०४८ सालदेखि शाखा कार्यालयको स्थापना गर्न शुरू गरेको हो । यस क्रममा हाल पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म १० वटा कार्यालयहरू र केन्द्रमा ४ वटा कार्यालयमार्फत सञ्चयकर्तालाई छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रदान गरिरहेको छ । सञ्चयकर्तालाई शाखा कार्यालयबाट उपलब्ध हुने सुविधाहरूका सम्बन्धमा माथि नै प्रष्ट पारिसकिएको छ ।
सुर्खेतमा लगानीलाई थप विविधीकरण गर्नेतर्फ केही सोच्नुभएको छ कि ?
सञ्चयकर्ताको विभिन्न आवश्यकता पूरा गर्न विभिन्न सापटी सुविधा तथा सामाजिक सुरक्षा सुविधाहरू प्रदान भइरहेको व्यहोरा माथि नै उल्लेख भईसकेको छ । लगानी विविधीकरणको लागि लगानीको दायरा तथा क्षेत्र विस्तार गरी भविष्यमा सबै जिल्ला सदरमुकामसम्म सापटीको दायरा विस्तार गर्नेतर्फ कोषको नेतृत्वले सोच राखेको छ ।
कोषले दिने सेवाहरू कर्णाली प्रदेशमा सुर्खेत बाहेकका अरू जिल्लाका सञ्चयकर्ताले सेवा लिन नपाएको गुनासो गरिरहेका छन्, । उनीहरूको मागलाई पनि सम्बोधन गर्ने कुनै कार्यक्रमहरू छन् ?
कोषबाट उपलब्ध हुने सेवा सुविधाका सम्बन्धमा सबै सञ्चयकर्ताको कोषको लागि समान छन् । कर्णाली प्रदेश मात्र होईन कि सो बाहेक अन्य जिल्लामा कार्यरत सञ्चयकर्ताले पनि सुर्खेत शाखाबाट सुविधाहरू प्राप्त गरिरहेको अवस्था छ । धितोमा आधारित कर्जाको सन्दर्भमा कर्णाली प्रदेशको सुर्खेत जिल्ला बाहिरका जिल्लामा क्रमशः लागु गरिँदै जाने नीति रहेको हुँदा आगामी दिनमा सो क्षेत्रमा समेत सुविधा विस्तार हुने र सो क्षेत्रका सञ्चयकर्ताको माग पूरा हुने विश्वास गरौं ।
कोषकै समान प्रकृतिका थप संस्था स्थापना भएका छन् । प्रतिस्पर्धी बजारमा पृथकढङ्गले अगाडि बढ्ने कोषसँग के छ योजना ?
कर्मचारी सञ्चय कोष वि.सं. २०१९ साल भाद्र ३१ गते कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्वशासित संस्थाको रूपमा स्थापना भएको सँस्था हो । यसको मुख्य उद्धेश्य कर्मचारीहरूको तलबबाट निश्चित प्रतिशत रकम कट्टा गरी सोहि बराबरको रकम रोजगारदाताबाट थप गरी कर्मचारीको अवकाश पछि एकमुष्ट रूपमा भुक्तानी गरी कामदार कर्मचारीको आर्थिक भविष्य सुनिश्चित गर्नु रहेको छ । वि.सं. २०४७ मा स्वेच्छिक रूपमा रकम जम्मा गर्न सक्ने गरी स्थापना भएको नागरिक लगानी कोष र केहि बर्ष अघिदेखि निजी क्षेत्रका कामदार कर्मचारीको लागि सामाजिक सुरक्षा कोषको स्थापना भएको देखिएता पनि यी सँस्थाहरू कर्मचारी सञ्चय कोषको प्रतिष्पर्धी सँस्था होईनन् । यी सँस्थाहरूको स्थापना, गठन पक्रिया, कार्य प्रक्रिया तथा लक्षित वर्ग फरक फरक रहेको छ । वि.सं. २०७६ सालपछि नियुक्त भएका संघीय निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा विशेष सेवाका कर्मचारीहरूको लागि नेपाल सरकारले लागु गरेको योगदानमा आधारित निवृत्तभरण कोषको सञ्चालन गर्ने समेतको जिम्मेवारी कर्मचारी सञ्चय कोषले प्राप्त गरेको हालको सन्दर्भमा कोषको दायरा अझ विस्तार हुँदै गएको छ । निवृत्तभरण भुक्तानीमा सरकारलाई परिरहेको ठूलो वित्तिय भारलाई कम गर्न यस प्रकारको योगदानमा आधारित निवृत्तभरण योजनालाई शिक्षक सेवा, प्रदेश र स्थानिय तहका कर्मचारीहरुमा समेत लागु गरी भविष्ण्मा प्रदेश र स्थानिय तहका सरकारमा पर्ने ठुलो आर्थिक भार कम गर्नुपर्ने अपरिहार्यता भैसकेको छ । साथै, कोषका सञ्चयकर्तालाई छिटो, छरितो, सहज र प्रभावकारी ढंगबाट सेवा प्रदान गर्दै कोषलाई सुदृढ, सक्षम र नेपालकै उदाहरणीय सँस्थाको रूपमा स्थापित गर्न कोषको उच्च नेतृत्वसँगै शाखा कार्यालय, सुर्खेत प्रयत्नशिल रहेको छ ।