खोप लगाउन छुटेकालाई आज पुन: सेवा दिइँदै

 

सुर्खेत । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदै छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय सुर्खेतले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको हो । बालबालिकालाई विद्यालय भर्ना हुन खोप कार्ड अनिवार्य गरिएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख करुणा भट्टराईले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेकी छिन् ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा खोप फोकल पर्सन घनबहादुर बुढाका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज साँझ ५ बजेसम्म जिल्लाका सबै पालिका स्थित सबै स्वास्थ्य केन्द्रबाट खोप लगाइने छ ।

जिल्लाका नौ वटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाउने काम जारी रहेको उनको भनाइ छ । उनले हालसम्म जिल्लामा १ सय ३६ जना बालबालिका खोप लगाउन छुटेको पाईएको जनाए ।

‘सबै भन्दा बढी चौकुने गाउँपालिकामा छुटेका छन्,’ उनले भने, ‘आज म यति बेला सिम्ता गाउँपालिकाको घोरेटा स्वास्थ्य चौकीमा छु । यहाँ खोप लगाउन छुटेका १२ जना बालबालिकालाई खोप दिने काम भईरहेको छ ।’

उनले सुर्खेत जिल्ला भरी (जिरो डोज) कुनैपनि खोप नलगाएका पाँच जना बालबालिका रहेको जानकारी दिए । उनका अनुुसार आज (जिरो डोज) बालबालिकालाई समेत खोप दिने कार्यक्रम छ ।

Translate »