सरकारी मिडियाले सरकारकै मात्र गुणगान गाउनु पर्छ भन्ने दिन गईसके : मन्त्री गुरुङ


सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी मिडियाले सरकारकै मात्र गुणगान गाउनु पर्छ भन्ने दिन गईसकेको बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा युग आव्हान दैनिकको २५ औं रजत जयन्तीको अवसरमा आयोजिता कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सरकारका राम्रा कामको मात्र होइन, मर्यादामा रहेर नराम्रा कामको पनि सरकारी मिडियाले खुलेर विरोध गर्न पाउने चलनको थालनी गरिएको बताएका हुन् ।
विभिन्न समाचारका माध्यमहरु आइरहेको अवस्थामा सरकारी मिडियाले सरकारको बचाउ गर्छ भन्ने भ्रम हटाउँदै तथ्यमा रहेर सरकारका कमीकमजोरी औल्याउन मन्त्री गुरुङले आग्रह गरे ।


उनले पुराना ऐन, नियमलाई परिमार्जन गर्दै समयसापेक्ष रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राससलाई सरकारले पूर्णरुपमा जनताप्रति जवाफदेही र जिम्मेवार बनाउन प्रयासरत रहेको जनाए ।
पछिल्लो समय नागरिक अभिव्यक्ति स्वतन्त्रतताका नाममा भईरहेका उदण्डततालाई जिम्मेवार बनाउन सरकारले छिट्टै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कानून नै ल्याउन लागेको बताउँदै उनले मित्थ्या तथा भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्ने र साइबर बुलिङ कार्यलाई स्वनियमन गर्न लागिएको जानकारी दिए ।


