कार्यस्थल सुरक्षा तथा स्वास्थ्यमा बेवास्ता

सुर्खेत । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका बारेमा आवश्यक सचेतनासँगै दक्षता बढाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र हेल्भिटासको सहयोगमा आयोजित तीन दिने अभिमुखिकरण कार्यक्रममा सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित एवम् स्वस्थ्य कार्यस्थल निर्माण गर्न विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिन आवश्यक रहेको औल्याईएको हो ।
कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले काम गर्ने स्थल सुरक्षित भए मात्र उत्पादन वृद्धि गर्न सकिने र समृद्ध नेपालको सपना पुरा हुने बताए । उनले सुरक्षित र स्वस्थ्य भएर काम गर्ने वातावरण निर्माण गर्न सकिए मात्र मानवीय तथा भौतिक क्षति कम हुने जनाए ।
नेपाल उद्योण वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उद्यम/व्यवसायमा काम गर्ने कर्मचारीहरुको सुरक्षा गर्नु, आइपर्न सक्ने व्यावसायिक जोखिम एवम् स्वास्थ्य खतराबाट बचाउने वातावरण सिर्जना गर्नु रोजगारदाताको जिम्मेवारी भएको बताए ।
उनले कार्यस्थलमा घट्न सक्ने सम्भावित जोखिमलाई कम गर्न स्वस्थ र सुरक्षित वातावरण दिन आवश्यक रहेको औल्याए । कार्यक्रममा ईन्स्योर परियोजनाका टेक्निसियन अधिकृत नरेशसिंह थारुले प्रतिष्ठानको कार्य प्रकृति अनुसार रोजगारदाताले कार्यस्थलमा कार्यरत श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउन सल्लाह दिए ।
उनले ईन्स्योर परियोजना मार्फत अहिले सुर्खेतका तीन वटा विद्यालयका करिब डेढ सय विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक प्रतिष्ठान तथा उद्योगमा खटाईएकाले कार्यस्थलमा सुरक्षा तथा स्वास्थ्यमा सतर्कता अपनाउन तीने दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विज्ञ दिनेशप्रसाद साहले कारखाना तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई व्यवसायजन्य असुरक्षाका कारण विभिन्न प्रकारका रोगको जोखिम हुने गरेको बताए । उनले कार्यस्थल सुरक्षा र स्वास्थ्यका बारेमा रोजगारदातासँगै स्वयं कामदार सचेत नहुँदा थुप्रै प्रकारका समस्याहरुको साम्ना गर्नु परिरहेको जनाए ।
उनका अनुसार देशमा कुन–कुन क्षेत्रमा के कति व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रतिकुल असर पुगेको छ भन्ने यकिन तथ्यांक नहुँदा थप जटिलता रहेको छ । उनले वैदेशिक रोजगारीमा जाने अधिकांस कामदारले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा अनविज्ञ हुँदा प्रतिवर्ष १३४६ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाउनु परेको समेत जानकारी दिए ।

पछिल्लो समय नेपाल सरकारले स्वदेशमा र वैदेशिक रोजगारीमा जाने कामदारका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका बारेमा विभिन्न कार्यक्रम सञ्चालन गरेपनि अझै पर्याप्त हुन नसकेको उनको भनाइ थियो ।
कामदारको कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि रोजगारदाताले लागू गरेका छैनन् । सरकारको अनुगमन लगभग शून्यजस्तै छ । यसले कार्यस्थलमा सुरक्षा मापदण्ड नअपनाउँदा हरेक दिनजसो कामदारको ज्यान गइरहेको छ ।
कार्यस्थलमा सुरक्षित उपकारण प्रयोग नगर्दा कामदारको ज्यान गइरहेको छ । विशेष गरी निर्माणक्षेत्रमा बढी श्रमिकको ज्यान गइरहेको देखिन्छ । श्रम विभागसँग औद्योगिक प्रतिष्ठानको मात्रै तथ्यांक छ तर निर्माण क्षेत्रमा कार्यरत श्रमिकको छैन ।
कानुन छ, अनुगमन छैन
श्रम ऐन २०७४ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । अर्थात् सबैभन्दा पहिलो प्राथमिकता कामदारको रक्षा गर्नु हो । रोजगारदाताले यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेका छैनन् । कार्यस्थलमा टाउकोमा हेल्मेट प्रयोग गरिएको भेटिँदैन । सेफटी जुत्ता लगाइँदैन । चप्पल लगाएरै काम लगाइएको हुन्छ । उच्चस्थानमा जानुपरेमा सुरक्षित बेल्ट प्रयोग गरेको देखिँदैन ।
श्रम ऐनअनुसार आफूलाई जोखिम लागेको खण्डमा काम गर्न इन्कार गर्न सकिनेछ । त्यसबापत उसको पारिश्रमिक कटौती गर्न मिल्दैन । श्रम ऐनले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिकप्रतिको कर्तव्य, गैरश्रमिक जनताप्रतिको कर्तव्य, प्रतिष्ठानको सम्बन्धित जिम्मेवार व्यक्तिको कर्तव्य, कुनै उपकरण, वस्तु वा पदार्थको उत्पादनकर्ता, आयातकर्ता वा आपूर्तिकर्ताको कर्तव्य, श्रमिकको कर्तव्य निर्धारण गरेको छ ।
कानुनमा भएपनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन भएको छैन । यसलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी श्रम कार्यालयमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई तोकिएको छ । देशभर यस्ता निरीक्षकको संख्या नगण्य छ ।